Market Closed

टेलिकमको प्रगति सुस्त, नाफा १५ अर्ब ६६ करोड पुग्दा प्रतिसेयर आम्दानी १०४.४५ रुपैयाँ

13 Aug,2018
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासमा १५ अर्ब ६६ करोड ७५ लाख ५२७ रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १.९२% धेरै हो । अघिल्लो वर्ष टेलिकमले १५ अर्ब ३७ करोड २७ लाख ६४ हजार १२४ रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा राम्रो भए पनि वृद्धिदर भने सुस्त देखिन्छ । ठूलो पुँजीको कम्पनी भएकाले वार्षिकरुपमा नाफा बढाउँदै लैजान सक्नुलाई पनि सफलताकै रुपमा हेरिएको छ । 
 
सरकारी स्वामित्वमा रहेको टेलिकमको समग्रमा वित्तीय अवस्था मजुबत देखिन्छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको रिजर्भ कोष झन् बलियो बन्दै गएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको रिजर्भ कोष ९.३६% ले बढेर ८३ अर्ब ४७ करोड ४७ लाख २३ हजार ६५७ रुपैयाँ पुगेको छ ।
 
कम्पनीले कुल आम्दानी ४४ अर्ब ५८ करोड ८९ लाख ८९ हजारबाट बढाएर ४५ अर्ब ५६ करोड ५८ लाख ७० हजार पुर्याउन सफल भएको छ । जसमा सर्भिस (दूरसञ्चार सम्बन्धी विभिन्न सेवा) बाट मात्रै ३९ अर्ब ३२ करोड ४ लाख ६ हजार ४०८ रुपैयाँ आम्दानी गरेको छ ।
 
यता, टेलिकमले प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुवै बढाउन सफल भएको छ । अघिल्लो वर्ष १०२ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १०४ रुपैयाँ ४५ पैसा भएको छ । प्रतिसेयर नेटवर्थ पनि ६०८ रुपैयाँ ८७ पैसाबाट बढेर ६५६ रुपैयाँ ५० पैसा कायम भएको छ । यसको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६.९० मात्र रहेको छ ।

नेपाल टेलिकमको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment