प्राइम लाइफको १२.५% बोनस पारित गर्न आज एजीएम, अब चुक्ता पुँजी कति ?

28 Mar,2018
  • prime_3__3_1_3_28_2018_11_23_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सको साधारण सभा बुधबार (चैत १४ गते) अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुँदैछ । प्राइमले १२.५% बोनस सेयर दिने विशेष प्रस्ताव साधारण सभामा लैजानेछ । यसअघि कम्पनीले ३२.५५ दिने भने पनि १६०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा वास्तविक बोनस दर १२.५% भएको हो ।
 
बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश दिने पस्ताव पनि छ । यसआधारमा प्राइमले बोनसमा १९ करोड ८३ लाख १५ हजार रुपैयाँ र नगद लाभांश प्रयोजनका लागि ९८ लाख ९४ हजार १०३ रुपैयाँ खर्च गर्नेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश हुनेछन् । 
 
बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले त्यसका लागि कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसका लागि सम्पूर्ण अधिकार सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पनि लगिदैछ । 
 
साधारण सभा गर्न कम्पनीले फागुन ३० गते (१ दिन) बुक क्लोज गरिसकेको छ । यसकारण फागुन २९ गतेसम्म मात्र कायम सेयरधनीले बोनस र नगद लाभांश पाउने छन् । हाल प्राइमको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ ।

हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ । प्राइमले यही पुँजीको १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । बोनसपछि भने चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा छ । 
 

Post Your Comment