बोनस ७३ कम्पनीको दर्ता हुँदा बजारमा २३ करोड ६५ लाख कित्ता सेयर थपियो

05 Apr,2018
  • bonus_4_5_2018_7_40_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्य हुनै लाग्दा धितोपत्र बोर्डमा बोनस सेयर दर्ता गराउने कम्पनीको संख्या ७३ पुगेको छ । चालु आर्थिक वर्षको यस अवधिसम्म ७३ कम्पनीको २२ अर्ब ८७ करोड ५८ लाख ६८ हजार ६२१ रुपैयाँ बराबरको २३ करोड ६५ लाख ७८ हजार १०५.८१ कित्ता बोनस सेयर दर्ता भएको छ । साधारण सभाबाट बोनस प्रस्ताव पारित गरिसकेपछि धितोपत्र बोर्डमा दर्ता गराउनु पर्छ । त्यसपछि नेप्सेमा सूचीकृत गरेर कारोबार गर्न सकिन्छ ।
 
यसरी दर्ता गरिएका मध्ये कतिपयको बोनस लगानीकर्ताको खातामा गइसकेको छ । नेप्से तथा सीडीएससीमा पनि दर्ता भइसकेका छन् । अझै धेरै कम्पनीहरुको बोनस सेयर दर्ता हुन बाँकी रहेको देखिन्छ । कम्पनीले दिएको प्रतिशतका आधारमा सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको ११४.२७% बोनस सेयर दर्ता गरिएको छ ।

यद्दपि, यस कम्पनीले एकै आर्थिक वर्षको यति धेरै प्रतिशत बोनस दिएको भने होइन । राष्ट्रिय बिमा कम्पनीले विभिन्न ३ आर्थिक वर्षको साधारण सभा एकैपटक गरी बोनस प्रस्ताव पास गरेको थियो । यही बोनस धितोपत्र बोर्डमा दर्ता भएको हो । कम्पनीले फेरि पनि १२०% बोनस सेयर दिने घोषणा गरिसकेको छ ।
 
यस्तै, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन स्टान्डर्ड चार्टर्ड बैंकले पनि १००% बोनस सेयर दिएको छ । यो बोनस पनि बोर्डमा दर्ता भएको छ । यता, नेप्सेमा चार्टर्डको बोनस सेयर सूचीकृत भइसकेकाले लगानीकर्ताले यसको कारोबार पनि गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरु मात्र नभई जलविद्युत कम्पनीहरुले पनि बोनस सेयर दर्ता गराएका छन् । चिलिमे, अरुण भ्याली, बरुण, रिडीलगायत जलविद्युत कम्पनीको बोनस दर्ता भइसकेको छ ।
 
बैंक तथा वित्तीय संस्था तथा जलविद्युत कम्पनीहरुका लागि बोनस सेयर भनेको लगानीकर्ताहरुलाई रिझाउने हतियार पनि हो । निरन्तर घटिरहेको बजारमा निराश बनेका लगानीकर्तालाई बोनसले केही हदसम्म भए पनि खुशी बनाउने गर्छ । तर यसपटक धेरै बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई खुशी बनाउन सकेका छैनन् । धेरै जसो कम्पनीले न्यून अनुपातमा मात्र बोनस सेयर दिएका छन् । 
 
धितोपत्र बोर्डको बोनस सेयर निष्काशन निर्देशिका, २०६७ को परिच्छेद–२ अनुसार कुनै पनि संगठित संस्थाले आफूले श्रृजना गरेको बचत वा जगेडामध्ये सेयरवालाहरुको दाबी रहन सक्ने गरी श्रृजना गरिएका स्वतन्त्र जगेडा तथा नगदमा प्राप्त सेयर प्रिमियम रकमलाई पुँजीकरण गरी बोनस सेयर निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ ।



 
यस्तै, बोनस जारी गर्न कम्पनीहरुले पहिले जारी गरिसकेको सेयरको अंकित मूल्य बराबरको रकम चुक्ता भइसकेको हुनुपर्ने उल्लेख छ । यस्तै, अद्यावधिक लेखापरीक्षण भइसकेको वित्तीय विवरण अनुसार मुनाफा आर्जन गरेको हुनुपर्ने र पुँजी फिर्ता जगेडा कोषबाट कम्पनीले आफ्ना सेयरधनीलाई पूर्ण मूल्य चुक्ता भएको बोनस सेयरको रुपमा नयाँ सेयर जारी गर्न सक्ने व्यवस्था छ । 

 

Post Your Comment