Market Closed

बजार भाउ भन्दा सस्तोमा सेयर किन्ने मौका, ३ कम्पनीको सेयर भइरहेछ लिलामी

08 Mar,2019
  • auction_img_2_27_2019_5_28_35.png
नेपाली पैसा
 
काठमाडौं : लगानीकर्तालाई ३ वटा कम्पनीको सेयर बजार भाउ भन्दा सस्तोमा किन्ने अवसर मिलेको छ । अहिले ३ वटा कम्पनीले हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी खुला गरिरहेका छन् । रिलायन्स फाइनान्स, नाडेप लघुवित्त र आइएमई जनरल इन्सुरेन्सले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएका हुन् ।
 
रिलायन्स फाइनान्सको संस्थापक समूहको १ लाख ८८ हजार ८७४.५२ कित्ता सेयर फागुन १७ गतेदेखि लिलामी खुला भएको छ । कम्पनीले यसअघि गत साउन ४ देखि १६ गतेसम्म ३ लाख १ हजार २७४.५२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउँदा १ लाख १२ हजार ४०० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी सेयर फेरि लिलामीमा ल्याइएको हो ।
 
यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । चैत १ गतेसम्म लिलामी बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था छ । 
 
यता,  नाडेप लघुवित्त वित्तीय संस्थाको फागुन १९ गतेदेखि सर्वसाधारण समूहको ६१ हजार २३६ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले यसअघि गत मंसिर २३ देखि पुष २९ गतेसम्म १६ लाख कित्ता हकप्रद खुला गर्दा १५ लाख ३८ हजार ७६४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।
 
यस लिलामीमा फागुन २८ गते अपराह्न ३ बजेभित्र बोलपत्र पेश गनुपर्नेछ । नाडेपको बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ६९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल, काठमाडौं लगायत नबिल बैंकको वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । नाडेप लघुवित्त वित्तीय संस्थाको विराटनगर, पोखरा र बुटबल शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था छ ।
 
यसैगरी, आइएमई जनरल इन्सुरेन्सको बुधबार (फागुन २२ गते) देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला भएको छ । संस्थापक समूहको १ हजार ५९८ कित्ता  र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयरमा फागुन ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।
 
आइएमई जनरलको बिहीबार प्रतिकित्ता ४१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।

Post Your Comment