Market Closed

लघुवित्त कम्पनीहरु पनि नाफामा आक्रामक, हेर्नुहोस् प्रमुख तथ्यांक

06 Aug,2019
  • micro_img_8_6_2019_7_04_10.jpg
इशारा कोइराला
 
काठमाडौं : लघुवित्त कम्पनीहरुको पनि धमाधम चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन थालेको छ । सूचीकृत ४७ मध्ये ३५ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । विवरण अनुसार अधिकांश कम्पनीको प्रमुख सूचक मजबुत बन्दै गएका छन् । यसैबीच, लघुवित्त कम्पनीहरु एकआपसमा मर्जर तथा एक्विजिसनमा जाने क्रम पनि बढेको छ । 
 
२७ कम्पनीको चुक्ता पुँजी बढ्यो, ८ को यथावत
 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वित्तीय विवरण सार्वजनिक भएका मध्ये २७ लघुवित्त कम्पनीको चुक्ता पुँजी बढेको छ भने ८ कम्पनीको चुक्ता पुँजी अघिल्लो वर्षकै यथावत रहेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा नयाँ नेपाल लघुवित्त परेको छ । यसको पुँजी २५०% ले बढेर ८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।





यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी हुने कम्पनीमा भने आरएमडीसी लघुवित्त परेको छ । यसको चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ छ । यता, चुक्ता पुँजी यथावत हुने ५ कम्पनीमा फस्र्ट, लक्ष्मी, नेसनल, आरएमडीसी, आरम्भ, विजय, सपोर्ट र  स्वावलम्बन लघुवित्त रहेका छन् ।
 
३४ लघुवित्तको रिजर्भ कोष बढ्यो, १ को घट्यो
 
वित्तीय विवरण सार्वजनिक गर्ने ३५ लघुवित्त कम्पनीहरु मध्ये ३४ वटाको रिजर्भ कोष बढेको छ । १ कम्पनीको रिजर्भ कोष घटेको छ । रिजर्भ कोष घट्नेमा सूर्योदय लघुवित्त रहेको छ । सबैभन्दा धेरै रिजर्भ कोष बढाउनेमा आशा लघुवित्त छ । आशाको जगेडा कोष ७६ हजार रुपैयाँबाट बढेर ३ करोड ८९ लाख ५० हजार रुपैयाँ पुगेको छ ।





यसअवधिमा सबैभन्दा धेरै रिजर्भ भने आरएमडीसी लघुवित्तको रहेको छ । आरएमडीसीको रिजर्भ कोष २५.७०% ले बढेर १ अर्ब ६१ करोड ५४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यस्तै, फरवार्ड लघुवित्तको रिजर्भ कोष ३९.४५% ले बढेर ८८ करोड ९२ हजार रुपैयाँ पुगेको छ ।
 
३४ लघुवित्तको खुद नाफा बढ्यो
 
चौथो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्ने ३५ लघुवित्त मध्ये ३४ वटाको खुद मुनाफा बढेको छ । नाफा घटाउनेमा भने कालिका लघुवित्त रहेको छ । यसको खुद नाफा २०.१६% ले घटेर २ करोड ७ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । खुद नाफा धेरै बढाउनेमा अधिकांश यसै वर्ष साधारण सेयर (आइपीओ) जारी गरेका कम्पनीहरु रहेका छन् । 





सबैभन्दा धेरै नाफा बढाउने कम्पनीमा स्पर्श लघुवित्त रहेको छ । स्पर्शको खुद नाफा १ लाख १ हजार रुपैयाँबाट बढेर १ करोड ५६ लाख १३ हजार रुपैयाँ पुगेको छ । यता, रकममा सबैभन्दा धेरै नाफा स्वावलम्बनको छ । यसको नाफा २३.१७% ले बढेर  ४२ करोड २५ लाख ४६ हजार रुपैयाँ पुगेको हो । 
 
१९ लघुवित्तको प्रतिसेयर आम्दानी बढ्यो, कसको कति ?
 
चौथो त्रैमाससम्ममा १९ लघुवित्त कम्पनीले प्रतिसेयर आम्दानी बढाएका छन् । ७ लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । केहीले गत वर्ष मात्रै आइपीओ जारी गरेकाले अघिल्लो वर्षको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी समावेश गरेका छैनन् । 




सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा समता लघुवित्त रहेको छ । समताको प्रतिसेयर आम्दानी यस अवधिमा २२ रुपैयाँ ४८ पैसाले बढेर ४२ रुपैयाँ ३२ पैसा पुगेको छ । यता, सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा भने नेसनल लघुवित्तको ८७ रुपैयाँ १२ पैसा रहेको छ ।
 
१६ लघुवित्तको प्रतिसेयर नेटवर्थ बढ्यो
 
चौथो त्रैमाससम्ममा विवरण सार्वजनिक गर्ने मध्ये १६ लघुवित्त कम्पनीहरुको प्रतिसेयर नेटवर्थ बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ बढाउनेमा समता लघुवित्त रहेको छ । समताको प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ २८ पैसाले बढेर २३८ रुपैयाँ ८७ पैसा पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ फरवार्ड लघुवित्तको ३३३ रुपैयाँ ०३ पैसा छ ।





यता १० कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । जनसेवी लघुवित्तले प्रतिसेयर नेटवर्थ वित्तीय विवरणमा खुलाएको छैन । अन्य केही कम्पनीले अघिल्लो वर्षको प्रतिसेयर नेटवर्थ खुलाएका छैनन् । यद्दपि, यीमध्ये केही कम्पनीहरुले यसै वर्षमै आइपीओ जारी गरेका छन् ।

Post Your Comment