Market Closed

सांग्रिलाको ९ लाख २ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका, कति छ बजार भाउ ?

03 Apr,2018
  • shangrila-development-bank-Ltd_4_3_2018_10_25_44.jpg
नेपाली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकको ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामी भर्ने मंगलबार (चैत २० गते) अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले चैत १३ गतेदेखि संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारण समूहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । नेप्सेमा सांग्रिलाको सोमबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५६ रुपैयाँ छ । यसअघि बैंकले पुस १७ गतेदेखि माघ २९ गतेसम्म १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । जसमा ११ हजार ७३२ जना आवेदकबाट ९९ लाख ६५ हजार ८०१ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयमा बाँकी रहेका सेयर अहिले लिलामीमा ल्याएको हो ।
 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंसहित यसका पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरही शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
 
त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ । राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको यस बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर गरी असार ३० गतेदेखि एकीकृत कारोबारसमेत सुरु गरिसकेको छ ।
 
हाल सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७५० रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सांग्रिलाले १६ करोड १ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Post Your Comment