Market Closed

सानिमा बैंकले निराश लगानीकर्तालाई बनाउने भयो खुशी, खुद नाफा चुलियो यसरी

21 Jan,2018
  • Sanima-bank-Lt_1_1_1_21_2018_10_44_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि लगानीकतालाई खुशी बाँड्ने रिपोर्ट प्रकाशित गरेको छ । छोटो समयमै चुक्ता पुँजी भारी बढोत्तरी गरेर ८ अर्ब पुर्याउँदा केही समय नाफा बेस्सरी संकुचित हुने आशंकाका बीचमा पनि सानिमाले भने आशा लाग्दो रिपोर्ट बाहिर ल्याउन सफल भएको हो । सानिमा जस्तै अरु बैंकले पनि दोस्रो त्रैमास राम्रो बनाउन सके भने यसले सेयर बजारलाई पनि सकारात्मक गतितर्फ अघि बढाउने अपेक्षा गर्न सकिन्छ । प्रतिसेयर आम्दानीमा केही ह्रास आए पनि सानिमाले समग्रमा खुद नाफा बढाउन सफल भएको छ । बैंकले खुद ब्याज आम्दानी बढाउन सक्दा समग्र नाफा राम्रो देखिएको हो । सानिमाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको दोस्रो त्रैमासको भन्दा ३२.५१% ले धेरै हो । यस्तै बैंकको खुद ब्याज आम्दानी पनि २२.१७% ले बढेर १ अर्ब ३३ करोड २० लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही बेला सानिमाले १ अर्ब ९ करोड २ लाख ८६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि अधिकांश बैंकहरुले सन्तोषजनक रिपोर्ट प्रकाशित गर्न नसक्दा सानिमाले भने, खुद नाफा बढाएको रिपोर्ट सार्वजनिक गरेर आम लगानीकर्ताहरुलाई केही खुशीको सञ्चार फैलाइदिएको थियो । 
 
निक्षेप ५१ अर्बबाट बढोत्तरी गरेर ६८ अर्ब ३९ करोड ९१ लख ८३ हजार रुपैयाँ पुर्याएको यो बैंकले ६० अर्ब ५२ करोड १ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा  भने थोरैले बढेर ०.०३% हुन पुगेको छ । गत वर्ष बैंकको खराब कर्जा ०.०१% रहेको थियो । चुक्ता पुँजी ५ अर्बबाट ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुर्याएको सानिमाको रिजर्भ कोषमा भने १ अर्ब ८८ करोड ४३ लाख ६२ हजार मात्र छ । चुक्ता पुँजीको आकार बढ्दै जाँदा सोही अनुपातमा रिजर्भ कोषलाई पनि सबल बनाउनुपर्ने चुनौती भने सानिमालाई पनि छ । सम्भावित जोखिमका लागि बैंकले ११ करोड २७ लाख ४७ हजार रुपैयाँ छुट्याएको छ । यता, बैंकले ७४ लाख २४ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको कस्ट अफ फन्ड ४.०९% बाट बढेर ७.२४% पुगेको छ । यता, सानिमाको प्रतिसेयर आम्दानीमा भने ३ रुपैयाँ ०९ पैसाको गिरावट आएको छ । गत वर्ष यही त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६५ पैसा (वार्षिक) रहेकोमा यसपालि २० रुपैयाँ ५६ पैसा (वार्षिक) देखिएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि थोरैले घटेर १२३ रुपैयाँ ५५ पैसा रहेको छ । गत वर्ष बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६९ पैसा थियो । 
 
 
 

Post Your Comment