Market Closed

सान्जेन र रसुवागढीको आइपीओ १० कित्ता भर्न पाइने, १ हजार भए पुग्ने

12 Apr,2019
  • ipo_4_12_2019_1_52_40.jpg
नेपाली पैसा 
 
 काठमाडौं : लगानीकर्ताले सान्जेन जलविद्युत कम्पनीरसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) मा पनि १० कित्ता (१ हजार रुपैयाँ) मात्रै पनि आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले यी दुवै कम्पनीको आइपीओमा १० कित्ता पनि भर्न पाउने व्यवस्था लागू गर्न निर्देशन दिइएको नेपाली पैसालाई जानकारी गराए ।  
 
प्रवक्ता गिरीले भने, ‘सान्जेन र रसुवागढीको आइपीओमा पनि लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित कम्पनी तथा बिक्री प्रबन्धकहरुलाई निर्देशन दिएका छौं । उनीहरुले केही दिनमै न्यूनतम १० कित्तामा आवेदन दिन पाउने गरी अर्को सूचना जारी गर्नेछन् ।’

यद्यपि, सान्जेन र रसुवागढी दुवै कम्पनीले शुक्रबारसम्म पनि न्यूनतम ५० कित्ता आवेदन दिन सकिने भनेर सूचना जारी गरिरहेका छन् । यी दुवै कम्पनीले यसअघि नै आव्हानपत्र सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरुको आव्हानपत्रमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने उल्लेख छ । अब धितोपत्र बोर्डको निर्देशन कार्यान्वयन गर्न यी दुवै कम्पनीले न्यूनतम १० कित्ता बिक्री गर्नुपर्ने भनेर सूचना जारी गर्नुपर्ने हुन्छ । 
 
नेपाल धितोपत्र बोर्डले यी दुवै कम्पनीको आव्हानपत्र सार्वजनिक भएपछि न्यूनतम १० कित्ताका लागि आवेदन दिने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरेको छ । यद्दपि, प्रवक्ता गिरीका अनुसार बोर्डले तत्काल यो नियम लागू गर्न भनेर निर्देशन दिएकाले यी कम्पनीमा पनि न्यूनतम १० कित्ताको प्रावधान कार्यान्वयन हुने बताए ।

दुवै कम्पनीको आव्हानपत्र आइसकेको भए पनि आइपीओ आवेदन खुला हुन बाँकी नै छ । यसर्थ, नियम कार्यान्वयन गर्न कुनै समस्या पर्दैन । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर दुवै कम्पनीले वैशाख ६ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्दैछन् । 
 
सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४% (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५% (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यता, रसुवागढी हाइड्रोपावरले भने कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसमध्ये ४% (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५% (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री हुनेछ ।
 
सरकारले हालै मात्र यी दुवै कम्पनीलाई ‘जनताको जलविदुत कार्यक्रम’ मा समेटेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो किस्तामा १० रुपैयाँको दरले आवेदन दिन मिल्ने व्यवस्था रहेको छ । तर सान्जेन र रसुवागढीमा भने प्रतिकित्ता १०० रुपैयाँकै दरले आवेदन माग गरिएको छ । यी दुवै आयोजनाको निर्माणकार्य ५०% भन्दा बढी सकिएकाले १०० रुपैयाँकै दरमा आवेदन माग गरिएको छ ।
 

Post Your Comment