Market Closed

बुटवल पावरले धेरै कमाउँदा चिलिमे, सानिमा माईको यस्तो छ अवस्था (तथ्यांकसहित)

16 Feb,2018
  • Chilime_Hydropower_2_16_2018_6_22_00.jpg
सोभित थपलिया 
 
काठमाडौं : नेपाल स्टक एक्सचन्जमा सूचीकृत जलविद्युत समूहका अधिकांश कम्पानीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अहिले नेपालमा हाइड्रोपावरमा लगानी बढ्दै गइरहेको छ । धितोपत्र बोर्डमा सेयर जारी गर्न अनुमति माग्नेमा अधिकांश हाइड्रोपावर समूहकै कम्पनी दखिनुले पनि यसको थप पुष्टि हुन्छ । हाइड्रोपावर कम्पनीहरुले धमाधम सर्वसाधारणमा सेयर पनि जारी गरिरहेका छन् । आइपीओ जारी गरेसँगै यी कम्पनीहरु धमाधम सेयर बजारमा सूचीकृत हुने क्रम पनि बढिरहेको छ ।

अहिले १७ वटा हाइड्रोपावर कम्पनी सूचीकृत रहेकामा आगामी दिनमा यो संख्या बढ्ने निश्चित छ । यसैक्रममा सूचीकृत भइसकेका हाइड्रोपावर कम्पनीहरुको दोस्रो त्रैमासिक वित्तीय विवरण कस्तो आयो भनेर हामीले देखाउन खोजेका छौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा बढी चुक्ता पुँजी हुनेमा चिलिमे हाइड्रोपावर कम्पनी देखिएको छ । चिलिमेको चुक्ता पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ चुक्ता पुँजी पुगेको छ । चिलिमेपछि दोस्रोमा सानिमा माई हाइड्रोपावर कम्पनीको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यस्तै, बुटवल पावर कम्पनीको १ अर्ब ८१ करोड ५ लाख ७२ हजार छ ।



बुटवल पावरले अहिले ४१ लाख ८० हजार कित्ता एफपीओ बिक्री गरिरहेको छ । एफपीओपछि कम्पनीको चुक्ता पुँजी थप वृद्धि हुनेछ । बुटवल पावर खुद नाफा कमाउनमा भने सबैभन्दा अघि देखिएको छ । बुटवल पावर कम्पनीले दोस्रो त्रैमाससम्म ५९ करोड ९२ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, चिलिमे हाइड्रोपावरले ५२ करोड ४६ लाख ९६ हजार रुपैयाँ र सानिमा माई हाइड्रोपावरले २१ करोड ८६ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आवको दोस्रो त्रैसमासम्म आइपुग्दा बिजुली बेचेर धेरै आम्दानी गर्नेमा पनि चिलिमे नै अघि देखिएको छ ।

चिलिमेले बिजुली बेचेर ६३ करोड २१ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै, सानिमा माईले ४५ करोड ७३ लाख ७२ हजार रुपैयाँ कमाएको छ भने बुटवल पावर कम्पनीको ४० करोड ९८ लाख ११ हजार रुपैयाँ कमाएको छ । यो अवधिमा प्रतिसेयर आम्दानीतर्फ भने बुटवल पावर कम्पनीको सबै भन्दा बढी रहेको छ । यसको प्रतिसेयर आम्दानी ३३.०९ रुपैयाँ रहेको छ भने चिलिमेको २६.४७ रुपैयाँ र सानिमा माईको २४.१० रुपैयाँ छ ।

प्रतिसेयर आम्दानीका साथै प्रतिसेयर नेटवर्थमा पनि बुटवल पावर कम्पनी अघि देखिएको छ । यस कम्पनीको प्रतिसेयर नेटवर्थ २५८.२१ रुपैयाँ छ । यस्तै, चिलिमेको २१५.२३ रुपैयाँ, सानिमा माईको १२७ र अपि पावरको १११.५७ रुपैयाँ छ । हाइड्रोपावरमा प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ भन्दा कम हुने कम्पनीहरु पनि रहेका छन् । १०० रुपैयाँ भन्दा कम हुनेमा अरुण काबेली, दिव्यश्वरी, नेसनल हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट पावर लिमिटेड रहेको छन् । 
 
 

Post Your Comment