निर्जीवन बिमा कम्पनीहरु पनि यसरी बढ्दैछन् अघि, सबैभन्दा सबल कुन ? (तथ्यांक सहित)

15 May,2018
  • insurance_foto_5_15_2018_6_54_44.jpg
समिर गौतम
सोभित थपलिया
 
काठमाडौं : नेप्सेमा सूचीकृत निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अधिकांश निर्जीवन बिमा कम्पनीहरुको खुद नाफा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ पनि लोभ लाग्दो नै देखिन्छ । लगानीकर्ताको मुख्य चासोको वित्तीय सूचक मध्ये एक प्रतिसेयर आम्दानी पनि हो । यो सूचक राम्रो भएमा लगानीकर्ता पनि झन आशावादी हुने गर्छन् ।

तेस्रो त्रैमासको वित्तीय विवरणले निर्जीवन बिमा कम्पनीहरु प्रति थप आशावादी हुन सकिने पुष्टि भएको छ । १५ मध्ये १४ कम्पनीको प्रतिसेयर आम्दानी दोहोरो अंकमा रहनुले पनि निर्जीवन बिमा कम्पनीहरु सबल रहेको संकेत गर्छ । अर्कोतर्फ तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा कम्पनीहरुको प्रतिसेयर नेटवर्थ पनि आर्कषक देखिएको छ । यता, बिमा कोषको रकम पनि औसतमा राम्रै देखिन्छ । यसबाट कम्पनीहरु थप मजबुत बन्दै जाने अनुमान गर्न सकिन्छ ।



 
तर नियामक बिमा समितिले न्यूनतम पुँजी पुर्याउन तोकेको समय सकिन २ महिना मात्र बाँकी छ । यस्तो अवस्थामा पनि अझै धेरै कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्न सकेको छैन । यद्यपि, अधिकांश कम्पनीहरुले पुँजी वृद्धिका लागि आवश्यक तयारी भने गरिरहेका छन् । चुक्ता पुँजी १ अर्ब पुगेपछि पनि चुनौतीहरु पनि थपिने नै छन् ।

पुँजी वृद्धि गरिसकेपछि लगानी पनि विस्तार गर्नुपर्ने हुन्छ । सोही अनुसार नाफा कमाउन नसकेमा त्यसको नकारात्मक असर फेरि प्रतिसेयर आम्दानी, नेटवर्थ लगायतका सूचकमा पर्न सक्ने हुन्छ । आखिर लगानीकर्ताले प्रतिफलको आश गर्ने पनि यिनै महत्वपूर्ण सूचकहरुलाई हेरेर हो । अहिलेको अवस्थामा भने समग्रमा निर्जीवन बिमा कम्पनीहरु राम्रै देखिएका छन् । 
 
तेस्रो त्रैमासमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा राष्ट्रिय बिमा कम्पनी परेको छ । यो कम्पनीले ४६ करोड १३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी र नेटवर्थ पनि अरुको भन्दा धेरै छ । तेस्रो त्रैमासमा यसको प्रतिसेयर आम्दानी १७३.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८५९.७७ रुपैयाँ छ ।

राष्ट्रिय बिमा कम्पनीको बिमा कोषमा पनि सबैभन्दा धेरै १ अर्ब ३० करोड ७४ लाख ९९ हजार रुपैयाँ जम्मा भएको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन जनरल र शिखर इन्सुरेन्सले मात्र चुक्ता पुँजी १ अर्ब भन्दा माथि पुर्याएका छन् । बाँकी कम्पनीहरुले पनि हकप्रद लगायतका हतियार प्रयोग गरेर पुँजी पुर्याउने तयारीमा छन् । 
 
 

Post Your Comment