Market Closed

पूँजी वृद्धिका लागि मर्जर उपयुक्त

20 Mar,2016
  • ceo_sindhu_3_21_2016_10_17_01.jpg
सञ्जीव प्रधान
प्रमुख कार्यकारी अधिकृत, सिन्धु विकास बैङ्क

विजयराज खनाल

विजयराज खनाल

सिन्धु विकास बैङ्क र नेपाल बङ्गलादेश बैङ्कबीच मर्जर हुन लागेको समाचार पनि आएको थियो । त्यस्तो सम्भावना बाँकी छ ?
हो, हामीले नेपाल बङ्गलादेश बैङ्कसँग मर्जरका लागि कार्य अघि बढाएका छौं । यसका लागि दुई बैङ्कबीच समयसमयमा वार्ता पनि भइरहेको छ । त्यसअघि यस विकास बैङ्कले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ अनि मर्जर प्रक्रियाले गति लिनेछ ।

ठूला संस्थासँग  मर्जरमा जाँदा अस्तित्व विलय हुन्छ भनेर समानस्तरका बैङ्क खोज्नेहरू पनि छन्, तपाईंहरूको त्यस्तो सोच छैन ?  
मर्जर वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स कम्पनी सबैको आवश्यकता हो । पूँजी वृद्धि गरेर मात्र शेयरधनीलाई प्रतिफल दिन सकिँदैन । मर्जर गर्दा पूँजी र कारोबार दुवै प्राप्त हुने भएकाले शेयरधनीले पाउने प्रतिफल झन् बढ्ने सम्भावना रहन्छ । त्यसैले, हामीले मर्जरलाई नै प्राथमिकता दिएका हौं । अस्तित्व विलय हुन नदिन समानस्तरका वित्तीय संस्थाहरूसँग पनि मर्जरको सम्भावना त छ, तर कार्यक्षेत्र मिलान गर्न कठिनाइ छ ।

नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको पूँजी पुर्‍याउन करीब तीन/चारओटा संस्था मर्जर गर्नुपर्ने भएकाले कार्यक्षेत्र मिल्ने त्यति धेरै संस्था उपलब्ध छैनन् । पर्याप्त पूँजी नपुग्नेगरी मर्जर गर्दा समस्या यथावत् नै रहन्छ । त्यस्तै, पूँजी पुर्‍याएर मात्र हुँदैन, कारोबार विस्तार पनि गर्न सक्नुपर्दछ । सीमित जिल्लामा मात्र कारोबार बढाउन सकिँदैन । कार्यक्षेत्र थप गर्न फेरि पूँजी बढाउनुपर्ने हुन्छ । त्यसैले, हामीले ‘क’ वर्गको बैङ्कसँग मर्जरका लागि पहल गरेका हौं । यद्यपि, साना बैकहरूसँग पनि मर्जरको सम्भावना बाँकी नै छ ।

बैङ्कमा अप्रत्यक्ष रूपमा एक निश्चित समूहको लगानी रहेको आशङ्का गरिएको छ, मर्जरको टुङ्गो नलाग्नुमा यो कारण त होइन ?
पटक्कै होइन । यस बैङ्कको स्थापना गर्न मुख्यतः सिन्धुपाल्चोकका स्थानीय व्यापारी, उद्योगी, कर्मचारीहरूले लगानी गरेका हुन् । तपाईंले भन्नुभएको जस्तो कुनै समूह बैङ्कमा छैन । यस बैङ्कले लिने निर्णयमा कुनै त्यस्तो निश्चित समूहले प्रभाव पार्ने गरेको छैन । बैङ्कको सञ्चालक समिति तथा व्यवस्थापन बैङ्कको हितलाई ध्यानमा राखी कार्य गर्न सक्षम छ । हामी मर्जरका लागि अत्यन्त सकारात्मक छौं । कुशल नेतृत्व भएको बैङ्क तथा वित्तीय संस्थासग मर्जर गरी हाम्रा शेयरधनीको लगानी सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं ।  

हकप्रद ल्याउने तपाईंहरूको योजनाको तयारी कहाँ पुग्यो ?
बैङ्कको छैटौं साधारणसभाबाट स्वीकृत भएपश्चात् १ बराबर १ अनुपातमा हकप्रद शेयर जारीका लागि धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेका छौं । स्वीकृति प्रक्रिया करीब अन्तिम चरणमा पुगेको छ । इक्राबाट रेटिङको कार्य पनि भइरहेको छ । यसै आर्थिक वर्षभित्र हकप्रद शेयर जारी गर्ने लक्ष्य लिएका छौं ।

एकदेखि तीनजिल्ले बैङ्कहरूसँग मर्जरमा जाँंदा ठूला बैङ्कहरूलाई धार्नी पुर्‍याउन पनि समस्या पर्‍यो भन्ने छ, मर्जरमा यस्तो धारणाले कत्तिको समस्या पारेको छ ?
तपाईंले भन्नुभएको कुरा सही हो । वाणिज्य बैङ्कहरूले ८ अर्ब चुक्ता पूँजी पुर्‍याउनुपर्ने हुन्छ । हामीजस्ता साना बैङ्कहरूसँग मर्जर गरेर तोकिएको चुक्ता पूँजी पुर्‍याउन कठिन हुन्छ । यसका लागि ठूला बैङ्कहरूले पनि केही साना बैङ्कहरूसँग मर्जर गर्ने, हकप्रद शेयर जारी गर्नेलगायत वित्तीय उपकरण प्रयोग गर्नुपर्ने हुन्छ । हामीलाई मर्जरमा जान सजिलो होस् भन्ने उद्देश्यले नै हकप्रद शेयर जारी गर्ने समेत भएका हौं ।  

मर्जरमा जान नसके यस्ता बैङ्कलाई लघुवित्त संस्थाको रूपमा काम गर्न दिन सक्ने समेत राष्ट्र बैङ्कबाट धारणा आएको छ, त्यतातिर तपाईंहरूको ध्यान गएको छ ?  
यो कुरा सुनिएको हो । तर, यसो गर्दा प्राविधिक कठिनाइ हुन्छ । ‘घ’ वर्गको उद्देश्य र ‘ख’ वर्गको उद्देश्य फरक भएकाले यसको कार्य प्रणाली नै फरक छ । ‘ख’ वर्गबाट ‘घ’ वर्गमा रूपान्तरण गर्दा कानूनी अड्चन पनि हुने देखिन्छ । साथै, ‘ख’ वर्ग हुँदा प्रवाह भएका कर्जाहरू मिलान गर्न पनि ठूलै समस्या झेल्नुपर्ने हुन सक्छ । अतः यसो गर्नुभन्दा मर्जर गरेर अघि बढ्नु नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

यो बैङ्क सञ्चालनमा आएको ६ वर्ष भए पनि हालसम्म तीन जिल्लामा सीमित छ । यस्तोमा आएको चुक्ता पूँजीको नयाँ मापदण्डले क्षेत्र विस्तारमा चुनौती थपेको छ । क्षेत्र विस्तार कसरी गर्ने रणनीति छ ?

६ वर्षको अवधिमा बैङ्कले करीब १ अर्ब २० करोड निक्षेप सङ्कलन गरी हालसम्म ८५ करोड कर्जा प्रवाह गरेको छ । बैङ्कले हालसम्म सातओटा शाखा तथा दुईओटा सीमित बैङ्किङ एकाइ सञ्चालनमा ल्याइसकेको छ । यसै आर्थिक वर्षभित्र थप दुई शाखा सञ्चालनमा आउनेछन् । हाम्रो कार्य क्षेत्रभित्र बैङ्क तथा वित्तीय संस्थाको पहुँच नभएका स्थान धेरै छन् । त्यस्ता स्थानहरूमा प्रत्येक वर्ष शाखा खोली सेवा पुर्‍याउँदै आएका छौं । आफ्नो कार्यक्षेत्रभित्र नै कारोबारको प्रचुर सम्भावना रहेको छ । साथै, क्षेत्र विस्तार गर्नका लागि कुनै अर्को वित्तीय संस्थासँग मर्जर गरेपछि मात्र स्वीकृति दिने भएको हुँदा हामीले क्षेत्र विस्तारतर्फ पहल गरेनौं । अब हाम्रो उद्देश्य हकप्रद शेयर जारी गर्ने र त्यसपछि मर्जर गर्ने भएकाले क्षेत्र विस्तार अहिले हाम्रो प्राथमिकतामा छैन ।   

बैङ्कले किन पूँजी परिचालन पर्याप्त मात्रामा गर्न सकेको छैन ?
यस बैङ्कका ९ ओटा शाखा सञ्चालनमा छन् । हाम्रो शाखा रहेको स्थानमा अन्य बैङ्कको शाखाभन्दा हाम्रो कारोबार उच्च छ । हामी आफ्ना ग्राहकलाई सुविधाजनक र शीघ्र सेवा प्रदान गर्दै आएका छौं । सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरो तथा यस वर्ष गएको महाभूकम्पले यस क्षेत्रलाई ठूलै नोक्सानी पुर्‍यायो । दुवै प्राकृतिक प्रकोपका कारण ठूलो धनजनको क्षति भयो । २०७१ साउनमा गएको पहिरोका कारण बाह्रबीसे, खाडीचौर, लामासाँघुलगायत स्थानको जनजीवन नै अस्तव्यस्त भयो । केही महीना अरनिको राजमार्ग नै बन्द भएर यहाँको आर्थिक कारोबार सुस्त भयो । त्यस्तै, अहिले पनि यस क्षेत्र केन्द्रबिन्दु भएर गइरहेको परकम्पनले स्थिति सहज हुन दिएको छैन । यस अवस्थामा लगानीको वातावरण बन्न नसक्नु स्वाभाविक नै हो । यसका कारण कर्जा लगानी अनुपात कम देखिन्छ । यस वर्ष उक्त अनुपात वृद्धिका लागि व्यवस्थापनबाट प्रयास भइरहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा उपयुक्त कर्जा लगानी अनुपात हुनेमा हामी विश्वस्त छौं ।

जारी कर्जामा भूकम्प र जुरे पहिरोको प्रभाव कत्तिको परेको छ ?
महाभूकम्पबाट यस बैङ्कका धेरै ऋणीहरू प्रभावित भएका छन् । उनीहरूको धितोमा भूकम्पले क्षति पुर्‍याएको हुँदा बीमा दाबी गरेर कर्जा असुल गरिरहेका छौं । साथै, ऋणीहरूको अन्य आय स्रोतलाई पनि ध्यानमा राखी कर्जा प्रवाह गर्ने गरिएको हुँदा कर्जा असुलीमा खासै समस्या देखिँदैन । यस आर्थिक वर्षमा बैङ्कको नाफा उच्च रहने कुरामा शङ्का छैन । शेयरधनीहरूले पाउने प्रतिफल विगतको भन्दा बढी नै हुनेछ ।

केही समयअघि सिन्धु विकास बैङ्कको केही सञ्चालकले ऋण भुक्तानी नगरेको, कालोसूचीमा परेको समाचार पनि आएका थिए । यसले संस्थागत सुशासनमा प्रश्न उब्जदैन् ?   
यस बैङ्कका सञ्चालकहरू कालोसूचीमा परेका छैनन् । समाचार दिनेले पनि गलत समाचार प्रकाशित गरेर जनतालाई भ्रममा पार्नु हुँदैन । बैङ्क व्यवस्थापन नियमनकारी निकायहरूको नीति निर्देशन पालना गर्न प्रतिबद्ध छ । संस्थागत सुशासन सम्बन्धमा प्रश्न उठ्ने गरी त्यस्तो कार्य भएका छैनन् । बैङ्कले करीब ३० हजार ग्राहक बनाइसकेको छ । यो अत्यन्तै सकारात्मक पक्ष हो । शेयरधनीहरूलाई दिँदै आएको प्रतिफल वर्षेनि वृद्धि हुँदै गएको छ । बैङ्कको शेयर बजार मूल्य बढ्दै गएको छ । यसकारण शेयरधनीहरूले प्रतिफल प्राप्त गरिरहनुभएको छ । 

Post Your Comment