Market Closed

समताको १६ हजार ५६८ कित्ता सेयर लिलामी खुल्दै, हकप्रदमा बढी आवेदन दिएको पैसा फिर्ता

13 Sep,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता माइक्रोफाइनान्सले असोेज ४ गतेदेखि १६ हजार ५६८ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । समताले संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूह तर्फ १२ हजार ६६८ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद असोज १४ गतेसम्म छ । 
 
यसअघि कम्पनीले असार २७ गतेदेखि साउन २९ गतेसम्म १ लाख ८९ हजार ६०० कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ५ हजार ९६७ जनाबाट १ लाख ७३ हजार ३२ कित्ताका लागि मात्र आवेदन परेको देखिएको छ । १६ हजार ५६८ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको सेयर समताले लिलामीमा ल्याउन लागेको हो । 
 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी सेयर भर्न पाइनेछ ।
 
यता, कम्पनीले आफ्नो कायम हकभन्दा भन्दा धेरै सेयर माग गर्ने लगानीकर्तालाई भदौ २८ गतेदेखि रकम फिर्ता दिने जनाएको छ । त्यसका लागि सेयरधनीले आफूले आवेदन बुझाएको संकलन केन्द्रमा भौचर पेश गर्नुपर्नेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्री भएपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
 
गत आइतबार मात्रै समता माइक्रोफाइनान्सले गत वर्षको कमाईबाट १०% बोनस र ११.०५% नगद लाभांश दिने घोषणा गरेको छ । बोनसपछि चुक्ता पुँजी अझै बढ्नेछ । समताले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७३ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५९ पैसा छ । 
 
 
 
 
 

Post Your Comment