Market Closed

समिट माइक्रोफाइनान्सको खुद नाफा २०.१६% ले घटेपछि के भयो होला प्रतिसेयर आम्दानी ?

21 Nov,2017
  • Summit-microfinance-dev__11_21_2017_10_51_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८२ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । नाफा गत वर्षको यही त्रैमासको भन्दा २०.१६% थारै हो । गत वर्ष समिटले १ करोड २ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, यस माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी भने गत वर्षको भन्दा ०.२८% ले वृद्धि भएर २ करोड ६० लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष समिटले २ करोड ५९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप ३५ करोड २१ लाखबाट बढेर ४८ करोड ९९ लाख ५६ हजार रुपैयाँ पुर्याएको यस कम्पनीले १ अर्ब २६ करोड २८ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ रहेको यो माइक्रोफाइनान्सको रिजर्भ कोषमा भने ८ करोड ९६ लाख ८८ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा कम्पनीको रिजर्भ कोष राम्रो मान्न सकिन्छ । रिजर्भ कोष दरिलो हुँदा सेयर लगानीकर्ताहरु त्यस कम्पनीप्रति आकर्षित हुने गर्दछन् । चुक्ता पुँजी वृद्धि गर्ने अभियानमा रहेको समिटले गत वर्षको कमाईबाट ३४.४८% बोनस सेयर र १०.५२% नगद लाभांश दिने घोषणा पनि गरेको छ । त्यस्तै, कम्पनीले भदौ २९ देखि कात्तिक १ गतेसम्म ७ लाख २५ हजार कित्ता (१००%) सेयर बिक्री खुला गरेको थियो । हकप्रद र बोनसपछि भने यसको चुक्ता पुँजी १६ करोड ९९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ थियो । प्रोभिजनका लागि ५ लाख ८७ हजार रुपैयाँ छुट्याएको समिटको खराब कर्जा भने गत वर्षको भन्दा घटेर ०.३३% मा झरेको छ । गत वर्ष खराब कर्जा ०.३९% थियो । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३२ पैसा रहेको समिटको प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ १८ पैसा छ । 
 
 

Post Your Comment