Market Closed

साधारण सभाको लहर : मंसिरमै १५ कम्पनीको हुँदै, बुक क्लोज कहिले, के–के छन् एजेन्डा ?

24 Nov,2017
  • agm_image_11_24_2017_6_18_11.png
समिर गौतम 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थासहित अन्य सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको साधारण बोलाउने क्रम जारी छ । कतिपय कम्पनीहरुले साधारण सभा गरिसकेका छन् भने केहीले बोलाउनै बाँकी छ । केहीको मिति तय भइसकेको छ भने अझै कतिपयको तिथिमितिसमेत सार्वजनिक हुन बाँकी छ । अधिकांश कम्पनीहरुले लाभांशलाई साधारण सभाको मुख्य एजेन्डा बनाएको देखिन्छ । विशेषगरी बैंक तथा वित्तीय संस्थालाई तोकिएको चुक्ता पुँजी पुर्याउने अन्तिम मौका भएकाले पनि धेरैजसोले लाभांशका रुपमा बोनस सेयर दिने  भएका छन् । आर्थिक वर्ष सकिएपछि लगानीकर्तालाई पनि आफूले लगानी गरेको कम्पनीले राम्रो प्रतिफल पाउने आशा गरेका हुन्छन् । हाम्रा लगानीकर्ताहरु धेरैजसो बोनस सेयर रुचाउने गर्छन् । अहिलेसम्म कम्पनीहरुले सार्वजनिक गरेको आधिकारिक सूचना अनुसार १४ वटा कम्पनीको साधारण सभाको मिति र स्थान तय भएको पाइन्छ । यीमध्ये २ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक छन् । यसैगरी, होटल, हाइड्रोपावर र उत्पादनमूलक समूहका १–१ वटा छन् भने साधारण सभा बोलाउने बाँकी सबै लघुवित्त कम्पनी रहेका छन् । उसो त सनराइज बैंकले पनि साधारण सभा बोलाई सकेको थियो । तर सञ्चालकहरुको विवादपछि पाटन उच्च अदालतले साधारण सभामा सञ्चालकको निर्वाचन नगराउनू भन्ने आदेश दिएपछि बैंकले सभा नै स्थगित गरेको छ । अब अदालतमा विचाराधीन रहेको मुद्दा टुंगो लागेपछि मात्र बैंकले साधारण सभाको नयाँ मिति घोषणा गर्नेछ । 



 
साधारण सभा बोलाएका लक्ष्मी बैंकमाछापुच्छ्रे बैंकले लाभांशलाई नै मुख्य एजेन्डा बनाएका छन् । माछापुच्छ्रेले ९% बोनस र ६% नगद लाभांश दिने प्रस्ताव गरेको छ । लक्ष्मीले भने १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांशका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव राखेको छ । साधारण सभा गर्न लक्ष्मीले मंसिर ११ गते र माछाले मंसिर १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने भएका छन् । यी दुवै बैंकहरुले बोनस मार्फत राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लागेका हुन् । एक्सेल डेभलपमेन्ट बैंकले ३०.१२% बोनस र १.५९% नगद लभांश प्रस्ताव गरेर मंसिर १७ गते साधारण सभा बोलाएको छ । कैलाश विकास बैंकले पनि मंसिर १५ को साधारण सभामा १०% बोनस र ९.४५% नगद प्रस्ताव गर्नेछ । यसका लागि बैंकले मंसिर १ गतेदेखि बुक क्लोज गरिसकेको छ । यता, महुली सामुदायिक लघुवित्तको साधारण सभा भने शनिबार नै (मंसिर ९ गते) बस्दैछ । सभामा कम्पनीले ५०% बोनसका साथमा १०% नगद दिने प्रस्ताव गरेको छ । महुलीले बोनसपछि कायम हुने चुक्ता पुँजीमा ५०% हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ ।

अन्य लघुवित्त कम्पनीले पनि बोनस र नगदलाई नै मुख्य एजेन्डा बनाएका छन् । तर केहीले भने हकप्रद पनि पस्ताव गरेर साधारण सभा बोलाएका छन् । नागबेलीले १००% हकप्रद प्रस्ताव गरेको छ भने समताले पनि ५०% हकप्रद जारी गर्ने भएको छ । मंसिर १६ गते साधारण सभा बोलाएको सिनर्जी पावर डेभलपमेन्टले भने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश दिने एजेन्डा राखेको छैन । यता, उत्पादनमूलक समूहको हिमालयन डिष्टिलरीले भने २१.०५% नगद लाभांश दिने प्रस्ताव गरी मंसिर २९ गते साधारण सभा बोलाएको छ । यसका लागि कम्पनीले मंसिर १५ देखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । धेरैजसो सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यता, कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम पनि बढिरहेको छ । सेञ्चुरी, सिभिलसहितका केही वाणिज्य बैंकहरुले अझै लाभांश घोषणा नै गरेका छैनन् । अगामी दिनहरुमा लभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाउने कम्पनीहरु झनै थपिने देखिन्छ ।
 
 
 
 
 

Post Your Comment