सनराइजको एजीएम अब पुस ३ मा, अर्को निर्वाचन नहुँदासम्म अहिलेकै सञ्चालकलाई निरन्तरता

27 Nov,2017
  • Sunrise-bank-Ltd_11_11_27_2017_10_54_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : सनराइज बैंकको साधारण सभा अन्ततः पुस ३ गते बस्ने भएको छ । यसअघि कात्तिक ३० गते गर्ने भनिएको साधारण सभा उच्च अदालत पाटनको आदेशपछि स्थगित भएको थियो । सञ्चालकको विवादपछि बैंक विरुद्ध रिट परेकाले अदालतको एकल इजालसले सभामा संस्थापक सञ्चालकको निर्वाचन नगर्नू भन्ने आदेश दिएको हो । अदालतको आदेश अनुसार सञ्चालकको निर्वाचनमात्र स्थगित गरी साधारण सभा गराउँदा बैंक र सेयरधनीको हित प्रतिकूल हुने भन्दै सनराइजले यसअघि साधारण सभा नै स्थगित गरेको थियो । तर बैंकले कात्तिक १९ गते भएको अदालतको एकल इजालस आदेश खारेज गरी पाउँ भनि कात्तिक २७ गते दायर गरेको निवेदन उपर सुनुवाई गर्दै उच्च अदालतको संयुक्त इजालसले साधारण सभा गर्ने बाटो खोलिदिएको छ । अब साधारण सभा पुस ३ गते अमृतभोग क्याटरर्स कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । तर यो साधारण सभामा पनि संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन भने हुने छैन । निर्वाचनबाहेकका बाँकी विषयका एजेन्डामात्र पारित गर्ने गरी साधारण सभा बस्न लागिएको बैंकले जनाएको छ । संस्थापक सञ्चालकको अर्को निर्वाचन नहुँदासम्म हाल कायम सञ्चालकहरुलाई नै निरन्तरता दिने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ । राष्ट्र बैंकको पछिल्लो निर्देशनले सञ्चालक समितिमा ७ जना मात्र सदस्य राख्न निर्देशन दिएपछि बैंकहरुमा विवाद बढ्न थालेको हो । सञ्चालक समितिमा कसले प्रतिनिधित्व गर्ने भनेर होडबाजी समेत भएको छ । सनराइजको पनि संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु को–को चुनिने भन्नेमा विवाद बढेको हो । 
 
सभा गर्न बैंकले कात्तिक १३ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने गरेको छ । यसआधारमा, कात्तिक १२ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । सभामा बैंकले चुक्ता पुँजीको १५% बोनस सेयर दिने प्रस्ताव साधारण सभामा पेस गर्ने भएको छ । सनराइजले हालैमात्र लिलामीमा बिक्री गरेको सेयरपछि कायम हुने चुक्ता पुँजीको १५% बोनस दिन लागेको हो । यसआधारमा लिलामीमा सेयर पाउने लगानीकर्ताले पनि बोनस पाउने छन् । बैंकले कर तिर्न नगद लाभांश भने दिएको छैन । बोनसमा लाग्ने कर सेयरधनी आफैंले तिर्नुपर्नेछ । बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभामा लगिंने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न गत वर्षको नाफाबाट १% रकम खर्च गर्ने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइजले २० करोड ३७ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ६ पैसा छ । 
 
 
 
 

Post Your Comment