Market Closed

तामाकोशीको पहिलो कारोबार ७४.८९ देखि २२४.६७ रुपैयाँको रेन्जमा, ५ रेटिङ पाएको जोशी भन्दा थोरै

13 Jan,2019
  • upper_tamakoshi_8_12_2016_3_58_37.png
नेपाली पैसा
 
काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार खुला भएको छ । नेपाल स्टक एक्सचेन्ज (नप्से) ले तामाकोशीको पहिलो कारोबारका लागि ७४ रुपैयाँ ८९ पैसादेखि २२४ रुपैयाँ ६७ पैसा ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
 
तामाकोशीले पहिलो कारोबारका लागि पाएको मूल्य हालै सेयर सूचीकरण गराएको ५ रेटिङ पाएको जोशी हाइड्रोपावरको भन्दा थोरै हो । ५ रेटिङ पाएको जोशीले पहिलो कारोबारका लागि ९३ रुपैयाँ ६७ पैसादेखि २८१ रुपैयाँ १ पैसा रेन्ज पाएको थियो ।
 
अपर तामाकोशीले सेयर कारोबारका लागि ‘युपीपीइआर’ संकेत पाएको छ । कम्पनीले १० करोड ५९ लाख कित्ता सेयर बिहीबार सूचीकरण गराएको थियो । सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री गर्न सक्नेछन् । तर स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार हुनेछैन । तामाकोशीको सेयर लगानीकर्ताको डिम्याट खातामा समेत आइसकेको छ । 
 
अपर तामाकोशीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये १ करोड ५० लाख ९० हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त सेयरको बाँडफाँट मंसिर ११ गते भएको हो । 
 
आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदकमध्ये १ लाख ६१ हजार ३०० जनाले ४० कित्ताका दरले सेयर पाएका थिए । यस्तै, बाँकी १ लाख ७२ हजार ७७५ जना आवेदकलाई १० कित्ता थप गरी ५० कित्ता सेयर दिइएको थियो ।

Post Your Comment