Market Closed

माथिल्लो तामाकोशीको आइपीओ खुल्यो, ५० देखि १ हजार कित्तासम्म भर्न पाइने, कस्तो छ कम्पनी ?

01 Nov,2018
  • ipo_11_1_2018_3_26_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : माथिल्लो तामाकोशी हाइड्रोपावरको आइपीओ खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ । 
 
बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन मिल्नेछ ।
 
यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १०% (१ करोड ५ लाख ९० हजार कित्ता) आइपीओ निष्काशन गरिसकेको छ । यो सेयर बुधबार बाँडफाँट समेत भइसकेको छ । स्थानीय बासिन्दाको आइपीओ पनि खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो । 
 
आयोजनाको लागत दोब्बर बढ्यो 
 
दोलखाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजनाको अनुमानित लागत भने दोब्बर पुग्ने भएको छ । यस आयोजनाको व्यावसायिक उत्पादन पनि एक वर्ष पछि सरेको छ । अब माथिल्लो तामोकाशी जलविद्युत आयोजनाले आगामी वर्षको कात्तिक महिनाबाट मात्र व्यावसायिक रुपमा विद्युत उत्पादन गर्नेछ ।

असारबाट परीक्षणका रुपमा र कात्तिकबाट व्यवासायिक रुपमै उत्पादन हुने आयोजना प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । आयोजनाले यसअघि आगामी पुसबाट उत्पादन गर्ने सुरु गर्ने भने पनि भूकम्प र नाकाबन्दीको असरका कारण निर्धारित समयमा गर्न नसकिएको उनले बताए । आयोजना सुरु गर्दा ३५ अर्ब हाराहारीमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको अब ७० अर्ब जति लाग्ने प्रक्षेपण गरिएको छ । निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्नुले नै लागत उच्च रुपमा वृद्धि भएको हो । 
 
लगानीकर्ता तत्काल भने नोक्सानमै 
 
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लगानीकर्तालाई तत्काल २ रुपैयाँ ४६ पैसा घाटा हुने देखिन्छ । आइपीओ निष्कासन गर्न सार्वजनिक गरिएको वित्तीय विवरणका अनुसार प्रतिकित्ता १ सय रुपैयाँका दरले आइपीओ लगानी गर्नेको सेयर मूल्य ९७ रुपैयाँ ५४ पैसामा झरेको छ ।

चालु आवको अन्त्यसम्ममा प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा कायम हुने कम्पनीको प्रक्षेपण छ । आर्थिक वर्ष २०७६ र ७७ मा प्रतिसेयर ३८ रुपैयाँ आम्दानी हुने पनि कम्पनीको भनाई छ । तर दोस्रो बजारमा सूचीकरण हुँदा कायम हुने भाउबाट भने लगानीकर्ताले फाइदा लिन सक्ने सम्भावना पनि रहन्छ । 
 
आयोजनाले २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि यसअघि नै निष्काशन गरिसकेको छ ।
 
यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको कम्पनीको भनाई छ । 
 

Post Your Comment