Market Closed

‘बैंकको सेयर भाउ त अन्डरप्राइस भयो’

24 Mar,2016
  • FullSizeRender_3_25_2016_6_08_30.jpg
छोटेलाल रौनियार
 
पुँजी बजार यतिबेला हरेक हिसाबले सकारात्मक देखिएको छ । 
 
नकारात्मक छ भने त्यो मान्छेको मानसिकता मात्र हो । ११७५ अंकको रेकर्ड तोडेपछि सर्वसाधारणमा अब बजार करेक्सन हुन्छ कि भन्ने मनोवैज्ञानिक त्रासमात्र देखिएको छ । हामीले आधारभूतरूपमा हेर्न सक्नुपर्छ । 
 
बजारमा लगानीयोग्य रकम तरलता पर्याप्त छ । लगानीकर्ताले औसतमा सात प्रतिशतमा सेयर कर्जा पाएका छन् । राष्ट्र बैंकको मौद्रिक नीतिका कारण सेयर बजारमा उछाल आएको हो ।
 
 बैंकलाई बलियो बनाउने, सर्वसाधारण लगानीकर्ताको निक्षेप सुरक्षित राख्ने तथा ठूला परियोजनामा लगानी गर्न सक्ने हैसियतमा जाँदैछन् । यतिबेला सेयर बजारमा मुख्यतयः तीनवटा क्षेत्रले लिड गरिरहेका छन् । लघुबित्त, बिमा र बैंक । 
 
यसमध्ये अहिलेसम्म लघुबित्त र बिमाको मात्र सेयर भाउ बढेको छ । बैंकको भाउ त बढेकै छैन । अन्य समूहका सेयरको तुलना गर्दा बैंक त अन्डरप्राइस हो । 
म ग्यारेन्टी गर्छु, अहिलेको भाउमा बैंकको सेयर किन्ने कसैले पनि घाटा खाँदैन । बैंकको निकै सस्तो छ । 
 
कहिलेकाँही बजारमा ठूला सेयर भाउ बढाए भन्ने हल्ला पनि सुनिन्छ । के दैनिक औसतमा ५० करोडभन्दा बढीको सेयर कारोबार भइरहेको छ । 
 
पछिल्लो समयमा त दैनिक ८०–९० करोडसम्मको कारोबार भएको हो । के दैनिक ८० करोड कारोबारलाई ठूलाले हल्ला गरेर बजार उचाले भन्न मिल्छ ? 
 
नेप्से १३५० कटिसक्दा पनि नबिल बैंक, एभरेस्ट, स्टान्डर्ड चार्टर्ड बैंकको भाउ हेर्नुहोस् त कति न्यून विन्दुमा छ । ११७५ विन्दुमा चार हजारदेखि नौ हजारसम्म भाउ पुगेका कम्पनी अहिले कुन अवस्थामा छ ? 
 
तल्लो भाउमा तपार्ईं एनएमबी बैंक हेर्न सक्नुहुन्छ । विदेशी लगानीकर्ताले सेयर पुँजी बढाएपछि प्रिमियम मूल्यमा बिक्री गरिएको सेयर भाउबाट आकर्षक पैसा आउँदैछ । यस्तै अन्य धेरै बैंक छन् । 
 
हामीले ८–१० वर्ष अघिको नेपाली पुँजी बजारभन्दा अहिले निकै फरक, विकसित तथा परिपक्क छ भन्ने जान्न जरुरी छ । अहिले म्युचुअल फन्ड छन् । सेयरमा लगानी गर्ने दर्जनौं कम्पनी खुलेका छन् । 
 
बजारमा अध्यनशील युवा पुस्ता आएको छ । यो पुस्ताले हल्लाको भरमा होइन, राम्रोसँग कम्पनी विश्लेषण गरेर सेयर किनिरहेका छन् । 
 
नियामक नेपाल धितोपत्र बोर्डले निकै सहरानीय काम गरेको छ । डिम्याट सेयरको कारोबारबाट लगानीकर्तालाई निकै सजिलो भएको छ । नेपाल स्टक एक्सचेन्जले विदेशी लगानीकर्ताले समेत सेयर कारोबार गर्न सक्ने नयाँ प्रविधि भित्र्याउँदै छ । 
 
लगानीकर्ताले खातामै बोनस सेयर र नगद लाभांश पाउने भएका छन् । आइपीओ निष्कासनदेखि सूचीकरणसम्मको समय छोट्याएर दुई महिनामा भाmर्ने कुरा धितोपत्र बोर्डले गरेको छ ।
 
 आइपीओ खाता ब्लक गर्दा लगानीकर्तालाई धेरै सजिलो हुन्छ । यतिमात्र होइन, नागरिक लगानीकोषले बजार निर्माता वा डिलरको अनुमति पाएपछि बजारमा आउने सेयरको आपूर्ति यसले खपत गर्न सक्छ ।
 
 पूर्ण अटोमसनमा बजार गएपछि ७५ वटै जिल्लामा सेयर कारोबार गर्न पाइने भएकाले सेयर लगानीकर्ताको संख्या ठूलोमात्रामा एकैपटक बढ्न जान्छ । 
 
बजारमा यति धेरै प्राविधिक, सैद्धान्तिक एवं व्यावहारिक विकास भइसकेको छ । हो, बजार माथि जाने कारण यिनै हुन् । 
 
युवा पुस्ताको ठूलो समूहको काम अहिले सेयर किनबेच गर्ने भएको छ । थोरै नाफा आए बिक्री गर्ने अनि, अलिकति सस्तो हुनासाथ किन्ने गर्दा दैनिक कारोबार बढ्यो भने बजार अनावश्यक घटबढ हुन पाएन । यो अति राम्रो पक्ष हो । 
 
नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड यतिबेला पुँजी बजारको विकासमा निकै सकारात्मक देखिएका छन् । राष्ट्र बैंकको मौद्रिक नीतिकै कारण बजारले यसरी फड्को मार्न सकेको हो । 
 
चुक्ता पुँजी बढाउनुपर्ने भएपछि बोनस हकप्रद र मर्जका कारण लगानीकर्ता आकर्षित भएका हुन् । अब बैंक निकै सबल बन्दैछन् । 
 
ग्रामीण जनताले बैंकिङ सेवा पाउने भएका छन् । यी अर्थमा वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपाल निकै क्रान्तिकारी देखिनुभएको छ । 
 
यसैगरी, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले छोटो समयमा बजार विकासका लागि जसरी द्रुत गतिले काम गरिरहनु भएको छ, यो नेपाली पुँजी बजारमा कोशेढुंगा साबित हुँदैछ । 
 
डा. नेपाल र डा. कार्की लगानीकर्ताका बीच धन्यवादका पात्र हुनुभएको छ ।

लगानीकर्ता एवं विश्लेषक रौनियारसँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित। 
 
 
 
 
 
 

Post Your Comment