Market Closed

बैंकले निक्षेपमा आठ प्रतिशतसम्म दिन थाले ब्याज, साँच्चिकै तरलता अभाव भएको हो त ?

19 Oct,2016
  • interst_10_19_2016_5_00_28.jpg
नेपाली पैसा विशेष रिपोर्ट 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले तरलता अभाव विस्तारै चुलिंदै गएको स्पष्ट संकेतहरू दिन थालेका छन् । 
 
एकपछि अर्को गरी बैंकले निक्षेपमा ब्याजदर बढाउने विज्ञापन सार्वजनिक गर्न थालेका छन् । दसैंअघिसम्म निक्षेपमा सात प्रतिशतसम्म ब्याजदर घोषणा गरेका बैंकहरू दसैंपछि यो विन्दुलाई पनि क्रस गरेर सूचना सार्वजनिक गर्न थालेका छन् । 
 
त्यसो त बुधबारमात्रै यति डेभलपमेन्ट बैंकले मुद्दतिमा ८ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।  २५ महिने मुद्दतिमा दिइने आठ प्रतिशत ब्याजमा लाग्ने कर पनि बैंक आफैंले तिरिदिने बताएको छ । यस आधारमा निक्षेपकर्ताले खुद आठ प्रतिशत नै ब्याज पाउने छन् । 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउन एक प्रकारले होडबाजी नै चल्न थालेकाले आगामी दिनमा अन्य वित्तीय संस्थाले निक्षेपको ब्याजदर अझै माथि पुर्याउने स्पष्ट संकेतहरू देखिन थालिसकेको छ । 
 
बैंकर अनि सेयर बजारका कतिपय विश्लेषकहरू तिहारपछि त निक्षेपमा ब्याजदर १० प्रतिशतसम्म दिने बैंकहरूको घोषणा आउने बताउन थालिसकेका छन् ।  
 
त्यसो त कतिपयले अहिले देखिएको तरलता अभाव अल्पकालीन भएको बताइरहेका छन् । तर बैंकरहरूका अनुसार अब विस्तारै तरलता अभाव बढ्ने अवस्था आएको छ । 
 
एनआइबीएल क्यापिटल लिमिटेडका महाप्रबन्धक मेखबहादुर थापा तरलता अभावका कारण यतिबेला सेयर बजारलाई प्रेसर पर्न थालेको बताउँछन् । 
 
‘बजारमा निश्चिय नै तरलता अभाव अनि बैंक ब्याजदरका कारण प्रेसर परेको छ,’ उनले भने, ‘साँच्चिकै अभाव लम्बिने हो वा यो समस्या अल्पकालीनमात्र भनेर थाहा पाउन चाहिँ तिहारसम्म पर्खिनुपर्छ ।’
 
राष्ट्र बैंकले संस्थागत निक्षेप अनुपात ६० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा सीमित गर्न निर्देशन दिएकाले पनि तरलता अभावको प्रत्यक्ष असर देखिन थालेको हो । 
 
यसअघि ६० प्रतिशतसम्म संस्थागत निक्षेप स्वीकार गरेका बैंक तथा वित्तीय संस्थालाई त्यो घटाएर ५० प्रतिशतमा सीमित गर्नुपर्ने भएपछि साना अनि व्यक्तिगत निक्षेपकर्ता आकर्षित गर्नुैपर्ने बाध्यता परेको छ । 
 
तरलता अभावको संकेत देखिनुमा रेमिटेन्स आय क्रमशः घट्दोक्रममा जानु पनि हो । राष्ट्र बैंकका अनुसार रेमिटेन्स आयको वृद्धिदर पछिल्लो समय खुम्चिन थालेको छ । 
 
रेमिटेन्स खुम्ंिदा त्यसको असर समग्र मुलुकको अर्थतन्त्रमै पर्न जान्छ । मुलुकको गरिबी घटाउन, आार्थिक वृद्धिदर माथि लैजान अनि बैंक तथा वित्तीय संस्थामा तरलता सहज बनाउनसमेत रेमिटेन्सको सबैभन्दा ठूलो भूमिका रहँदै आएको छ । 
 
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमै रेमिटेन्स आप्रवाह २.५ प्रतिशतले ह्रास भइसकेको छ । 
 
साउनमा जम्मा ५१ अर्ब ९४ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । जबकी गत वर्ष साउन महिनामै रेमिटेन्स आप्रवाह २६.३ प्रतिशतले बढेको थियो । 
 
यसले चालु आर्थिक वर्षमा रेमिटेन्स आय ओरालो लाग्ने स्पष्ट संकेत देखाएको छ । त्यसो त मलेसिया र खाडी मुलुकको रोजगारीमा कटौती आएको छ । 
 
खाडी र मलेसियाबाट भित्रिने रेमिटेन्सको हिस्सा सबैभन्दा बढी छ । विगतको तथ्यांक अनुसार मलेसियाबाट मात्र कुल भित्रिने रेमिटेन्समा ३० देखि ४० प्रतिशतसम्म हिस्सा ओगट्ने गरेको छ । 
 
गत वर्षदेखि निःशुल्क टिकट र भिसाका कारण मलेसिया जाने कामदारको संख्यामा झन्डै ७० प्रतिशतले ह्रास आइसकेको छ । 
 
रेमिटेन्स घट्दा पनि आन्तरिक बजारमा नगद प्रवाह कम हुने भएकाले बैंक तथा वित्तीय संस्थाले निक्षेप तान्न चर्को ब्याजदर घोषणा गर्ने प्रवृत्ति हुन सक्छ । 
 
यसबाहेक सरकारको विकास खर्च कछुवा गतिमा अघि बढेको छ । विकास खर्च नभएपछि पैसा सरकारी खातामा बस्ने भएकाले पनि बजारमा नगद प्रवाह बढ्न पाउँदैन । 
 
अनि, यी सबैको असर पुँजी बजारमा देखिन थाल्छ । सेयर बजार र बैंक ब्याजदरको जहिले पनि उल्टो सम्बन्ध हुने गर्छ । 
 
बैंकमा आकर्षक ब्याजदर प्रस्ताव हुन थालेपछि लगानीकर्ता सेयर बजार छाडेर बैंकमा पैसा राख्न जाने गर्छन् । फेरि, बैंकमा पैसा छेलोखेलो भएपछि निक्षेपमा ब्याजदर घट्न थाल्छ ।
 
बैंकले यस्तो बेला सात प्रतिशत हाराहारीको ब्याजदरमा ऋण दिन  थाल्छन् अनि फेरि लगानीकर्ता सस्तो ब्याजदरको पैसा लिएर सेयर बजारमा लगानी बढाउन थाल्छन् । 
 
विगतमा पनि यो प्रवृत्ति स्पष्टरूपमा देखिएको थियो । दसैंपछि खुलेको सेयर बजार निरन्तर ओरालो लागेकाले सेयर बजार र बैंक ब्याजदरको यही चक्र सुरु भएको अनुमान गर्न थालिएको छ ।
 
यद्दपि, अहिल्यै बजार घटिहाल्छ भनेर ठोकुवा भने गरिहाल्ने बेला भने भइसकेको छैन । 
तरलता अल्पकालीन संकटमा हो वा दीर्घकालीन भन्ने थाहा पाउन अझै केही साता कुर्नुपर्ने बैंकरहरू बताउँछन् । 
 
तरलताको यही साइकल अध्ययन गरिरहेका सेयर बजारका लगानीकर्ता पनि यतिबेला पर्ख र हेर कै अवस्थामा लागेका छन् । 
 
पछिल्ला दिनको दैनिक औसत सेयर कारोबार रकमले पनि यसैलाई पुष्टि गरेको छ । किनकी तिहारपछि दैनिक ५० करोडदेखि ६० करोड रूपैयाँको हाराहारीमा मात्र सेयर कारोबार भइरहेको छ । 
 
नेप्से परिसूचक घट्नुभन्दा पनि कारोबार रकम अझ तल झर्दा लगानीकर्ता सचेत हुनुपर्ने अवस्था आएको हो । 
 

Post Your Comment