Market Closed

सेयर बजार अब कता जाला ? दोबाटोमा नेप्से, सम्भावना बराबरी

22 Oct,2016
  • bull_or_bear_10_22_2016_6_25_17.jpg
नेपाली पैसा

काठमाडौं : सेयर बजार अब कता जाला ? धेरैमा अब यही चासो अनि एक प्रकारको अन्योल पनि उत्पन्न भएको छ ।

केहीले बजार अल्पकालका लागि मात्र बजार ओरालो लागेको बताएका छन् भने कतिपयले अब बजार विस्तारै ओरालो लाग्ने विश्लेषण गर्न थालेका छन् । बजार घट्छ अनि बढ्छ भन्ने दुवै थरी विश्लेषकका आआफ्नै लजिक पनि छ ।

बजार अल्पकालका लागि मात्र ओरालो लागेको हो भन्नेहरूको मतमा सामूहिक लगानी कोष कम्पनीहरू सक्रिय भएकाले थोरै भाउ घट्ने बित्तिकै उनीहरू फेरि किन्न सक्रिय हुने बताउँछन् । यसबाहेक बजारमा अझै बोनस र हकप्रदका हंगामा बाँकी छ ।

लगानीकर्ता आकर्षक बोनस र हकप्रदमा झुमिने प्रवृत्ति भएकाले बजारलाई यसले अड्याउन सक्ने अनुमान धेरैको छ ।

यसको विपरीत बजार अब मन्द गतिले ओरालो लाग्छ भन्नेमा विश्वास गर्नेहरूको तर्कलाई आधार मान्दा बजारको बढ्ने चक्र सकिएको छ । २०६८ पछि सुस्त गतिमा माथि जान थालेको बजारले लगभग अब बढोत्तरीको पाँच वर्षे साइकल पार गरेको छ ।

विगतका ट्रेन्डलाई अध्ययन गर्ने हो भने प्रत्येक चारपाँच वर्षमा बजार बुल र बियरिस हुने गरेको छ । अब बढ्ने साइकल पूरा भएकाले विस्तारै तल जान थाल्छ भन्ने उनीहरूको ठम्याईं छ ।

सकिन लागेको चक्रलाई बढ्दो बैंक ब्याजदरले साथ दिन थालेको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर आठ प्रतिशतसम्म पुर्याउन थालेका छन् ।

तरलता साँच्चिकै अभाव भएमा ब्याजदर १० प्रतिशतभन्दा माथि जाने र त्यसले बजारलाई असर गर्ने बजार तल झर्छ भन्नेहरूको बुझाई छ । सेयर बजार र बैंक ब्याजदरमा जहिले पनि उल्टो सम्बन्ध हुन्छ ।

दसैंअघि लगातार उक्लिएको बजार दसैंपछि बजार खुल्दा त्यसरी नै ओरालो लाग्यो । यस साता बिहीबार मात्र बजार हरियो भयो । पछिल्लो एक महिनाको बजार ट्रेन्ड अध्ययन गर्दा केही अस्थिर भएको विश्लेषण गर्न सकिन्छ ।

१८८१ को उच्चतम विन्दु बनाएर फर्किएको नेप्सेले फेरि त्यहाँ पुग्न पटकपटक प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । अब नेप्सेले पुनः त्यो विन्दुलाई पार गर्न सक्छ वा सक्दैन भन्ने आमचासो पनि उत्तिकै छ ।

दुई सय ९२ विन्दुबाट उक्लिन थालेको बजार १८८१ सम्म आइपुग्नुमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने नीति प्रमुख आधार हो ।

यसबाहेक सूचीकृत कम्पनीको वित्तीय अवस्थामा पनि सुधार हुँदा बजार माथि जाने आधारलाई सपोर्ट पुगेको हो ।

दुई दशकभन्दा लामो अवधिदेखिको चल्दै आएको कागजी कारोबार अन्त्य भएर डिम्याटमा प्रवेश गर्नु अनि नियामकले बजार सुधारका अन्य थुप्रै काम थालेकाले पनि लगानीकर्ता उत्साहित भएका हुन् ।

पछिल्लो समय बजारमा नयाँ लगानीकर्ता थपिएका छन् । राम्रो हिसाबकिताब गरेर सेयर कारोबार गर्ने प्रवृत्ति थोरै भए पनि बढेको छ ।

यस आधारमा बजार तल गइहाले पनि यसअघिको जस्तो पिँधमा भने पुगिहाल्ने अवस्था नरहेको बजारका अध्ययताको भनाई छ ।

यस साताको कारोबारबाट बजारको ट्रेन्ड पत्ता लगाउन सहयोग पुग्ने देखिन्छ । बजार घटे पनि बढे पनि लगानीकर्ताले कम्पनीको आधारभूत सूचक अध्ययन गरेर लगानी गरेमा ठूलो नोक्सानीबाट जोगिन सक्नेछन् ।

Post Your Comment