Market Closed

तरलता संकटमा तयारी, आधा दर्जन बैंकको स्किम, निक्षेपमा ७.५ प्रतिशतसम्म ब्याज

23 Oct,2016
  • fds_10_23_2016_2_13_30.png
नेपाली पैसा 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले दीर्घकालमा तरलता संकट हुने अनुमान गरी अहिल्यैदेखि निक्षेपकर्ता तान्न प्रतिस्पर्धा सुरू गरेका छन् । 
 
दसैंपछि मुद्दति निक्षेपमा आकर्षक ब्याजदरको प्रस्ताव आउन थालेको छ । बैंकहरूले दुई महिनदेखि पाँच वर्ष अवधिको सम्मको मुद्दति निक्षेपमा ६ देखि ८ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेका हुन् । 
 
आइतबारमात्रै करिब आधा दर्जन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा कुमारी बैंक, एनआइसी एसिया, सिद्धार्थ बैंक, हिमालयन, सनराइज, रिलायबललगायतका छन् । 
 
सिद्धार्थ बैंकले आइतबार एक सय ८० दिने मुद्दति निक्षेपमा ७.५ प्रतिशत ब्याज दिने आकर्षक योजना अघि सारेको छ । बैंकले मुद्दति निक्षेपमार्फत दीर्घकालमा पैसा संकलन गर्न खोजेको देखिन्छ । 
 
यसैगरी, एनआइसी एसिया बैंकले संस्थागत निक्षेपकर्तालाई ७.५ प्रतिशतसम्म नै ब्याजदर दिने घोषणा गरेको छ । 
 
बैंकले एक वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा व्यक्तिगत खातामा पनि ७ प्रतिशत ब्याजदर दिने योजना सार्वजनिक गरेको छ । 
 
एनआइसीले ऋण लगानीमा पनि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर लिने नयाँ सूचना सार्वजनिक गरेको हो । 
 
यस्तै, कुमारी बैंकले पनि मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । कर्जा प्रवाहमा १४ प्रतिशतसम्मको सीमा कुमारीले देखाएको छ । 
 
कुमारी, एनआइसी एसिया र सिद्धार्थलाई पछ्याउँदै हिमालयन बैंक र सनराइजले पनि ६ प्रतिशत ब्याजदर दिने योजना अघि सारेका छन् । सनराइजले एक वर्षे मुद्दतिमै ६ प्रतिशत ब्याजदर दिने भएको छ । 
 
कर्जा प्रवाहमा अधिकतम १४ प्रतिशतसम्म ब्याजदर लिने पनि सनराइजको योजना बाहिर आएको हो । 
 
उता, रिलायबल डेभलपमेन्ट बैंकले एक सय दिने मुद्दतिमा ७ प्रतिशत ब्याज दिने आइतबार नै घोषणा गरेको छ । केही दिनअघि यति विकास बैंकले करसमेत तिरिदिने ८ प्रतिशत ब्याजदरको स्किम ल्याएको थियो । 
 
विगतमा पनि तरलता अभावको चर्को समस्या सामना गरिसकेका बैंक तथा वित्तीय संस्थाले यसपटक भविष्यको अनुमान गरी सुरुमै आकर्षक योजनासहित निक्षेपकर्ता तान्ने रणनीति अवलम्बन गरेको देखिन्छ । 
 
बैंकरहरूले विस्तारै तरलता अभाव हुन थालेको बताएका छन् । यसको पूर्वतयारी अहिलेदेखि नै सुरु गरिएको उनीहरूको भनाई छ । 
 

Post Your Comment