Market Closed

विदेशी लगानीका ३६ सय ७५ वटा कम्पनीलाई सञ्चालन अनुमति, तीन खर्ब ५८ अर्बको परियोजना

02 Nov,2016
  • foreign_investment_11_2_2016_1_28_59.jpg
नेपाली पैसा 
 
काठमाडौं :  सरकारले अहिलेसम्म ३६ सय ७५ वटा विदेशी लगानीका कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । 
 
सञ्चालन अनुमति लिनेमा अधिकांश स्थानीय साझेदारसँग संयुक्त लगानी गर्न चाहने विदेशी कम्पनी रहेका छन् । 
 
स्वीकृति लिए पनि यी सबै कम्पनी सञ्चालनमा भने आएका छैनन् । धेरैजसो कम्पनीले अनुमति लिएर लामो समयसम्म सञ्चालनमै नआउने गरेको पाइएको छ ।  
 
सरकारले विदेशी लगानीका लागि अनुमति दिएका परियोजनामध्ये सबैभन्दा बढी सेवा क्षेत्रका रहेका छन् । सेवा क्षेत्रमा उद्योग सञ्चालन गर्न अहिलेसम्म १२ सय २३ वटा कम्पनीले अनुमति पाइसकेका छन् । 
 
सेवा क्षेत्रमा मात्र विदेशी लगानीका कम्पनीमा कुल परियोजना लागत ६१ अर्ब ८० करोड ५० लाख रूपैयाँ देखिन्छ । यसमध्ये विदेशीको मात्र लगानी ४० अर्ब रूपैयाँ छ । बाँकी नेपाली साझेदारले लगानी गर्ने प्रतिबद्धता गरेका हुन् । 
 
सेवापछि पर्यटन क्षेत्रका विदेशी लगानीका उद्योगलाई नेपाल सरकारले सञ्चालन अनुमति दिएको छ । पर्यटनतर्फ अहिलेसम्म एक हजार ५९ वटा उद्योगले सञ्चालन गर्न स्वीकृति पाएका छन् । 
 
विदेशी लगानी स्वीकृत गरिएका सबै उद्योगधन्दा सञ्चालनमा आएमा यसबाट मात्र दुई लाख १७ हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने विवरण उद्योग विभागले दिएको छ । 
 
पर्यटन क्षेत्रमा विदेशी लगानीको ३५ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी लागतको परियोजना देखिएको छ । यसमा विदेशी लगानीमात्र २० अर्ब ७१ करोड रूपैयाँको छ । बाँकी नेपाली साझेदारले लगानी गर्ने प्रतिबद्धता गरेका हुन् । 
 
संख्याका हिसाबमा तेस्रो स्थानमा उत्पादमूलक क्षेत्र परेका छन् । यो क्षेत्रमा अहिलेसम्म नौ सय ८१ वटा विदेशी लगानीका कम्पनीले यहाँ सञ्चालन हुने अनुमति लिएका छन् । 
 
उत्पादनमूलक उद्योगमा विदेशी लगानीको परियोजना लागत ९१ अर्ब ७१ करोड रूपैयाँ रहेकामा विदेशी लगानीकर्ताले मात्र ३७ अर्ब ६६ करोडभन्दा बढी लगानी गर्ने प्रस्ताव उद्योग विभागमा गरेका छन् । 
 
सरकारले कृषि, वनपैदावर, निर्माण, ऊर्जा, उत्पादनमूलक, खानी, सेवा तथा पर्यटन गरी सातवटा क्षेत्रमा वर्गीकृत गरेको छ । 
 
हामीकहाँ उद्योग दर्ता प्रक्रिया निकै झन्झटिलो छ । विदेशी लगानीकर्ताले एकद्धार नीति खोजे पनि अहिलेसम्म सम्भव हुन सकेको छैन । विदेशी लगानीकर्तालाई मुनाफा लैजाने स्पष्ट कानुनी प्रावधान नहुँदा बारम्बार किचलो हुने गरेको छ । 
 
यसबाहेक विद्युत संकट, सडकलगायत पूर्वाधारको अभाव, मजदुर हड्ताललाई विदेशी लगानीकर्ताले समस्याका रूपमा हेर्दै आएका छन् । राजनीतिक अस्थिरताले लगानीकर्ता ढुक्क हुन सकेका छैनन् । 
 
वैदेशिक लगानी भित्र्याउने प्रक्रिया अनि नीतिमा प्रमुख राजनीतिक दलबीच न्यूनतम साझा समझदारी बन्न सकेको छैन । राजनीतिक दलपिच्छेका वैदेशिक लगानीसम्बन्धी नीतिका कारण लगानीकर्ता यहाँ लगानी गर्न ढुक्क भइहाल्ने अवस्था छैन । 

Post Your Comment