Market Closed

कहिलेसम्म रहला व्यापार घाटाको यस्तो कहाली लाग्दो अवस्था ?

04 Nov,2016
  • trade_11_4_2016_12_54_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामै मुलुकको व्यापार घाटा एक खर्ब ३५ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ । 
 
यही अनुपातमा व्यापार घाटा बढ्दै जाने हो भने आगामी दिन आयातनिर्यात व्यापारको अवस्था निकै कहाली लाग्दो हुने देखिन्छ । विशेष गरी दुई छिमेकी चीन र भारतसँग हुने व्यापार असन्ुतलन हुँदा त्यसले समग्र आयातनिर्यात व्यापारमा चुनौती थपिदिएको हो । 
 
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिना निर्यात व्यापार औसतमा जम्मा ७.७ प्रतिशतले बढ्दा आयात व्यापार ४३.४ प्रतिशतले माथि गएको छ । यसले हाम्रो आयात निर्यात व्यापारको वास्तविक अवस्था देखाउँछ । 
 
यो वर्षको दुई महिनामा जम्मा १३ अर्ब १८ करोड रूपैयाँको सामान निर्यात हुँदा आयात सोही अवधिमा एक खर्ब ४९ अर्ब दुई करोड रूपैयाँ पुगेको छ । 
 
भारतबाट हुने वस्तु तथा सामानको आयात ४९.८ प्रतिशत र चीनबाट २६.२ प्रतिशतले आयात बढेको छ । बाँकी समग्र देशबाट हुने आयात भने ३६.५ प्रतिशतले बढेको छ । 
 
आयात व्यापारको अंश बढ्दै जाने तर त्यस अनुपातमा निर्यात भने बढ्नै नसकेपछि व्यापार घाटाको अवस्था झन् भयावह बन्दै गएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
 
दुई महिनामा भारततर्फ हुने निर्यात जम्मा नौ प्रतिशतले मात्र बढेको छ । तर यो अवधिमा चीनमा हुने निर्यात व्यापारमा सुधार आएको छ । 
 
चीनतर्फको निर्यात व्यापार साउन र भदौमा २४.५ प्रतिशतले बढेको छ । विगतमा चीनसँगको व्यापार घाटा पनि उच्च रहँदै आएको छ । 
 
यसपटक चीनमा निर्यात बढे पनि यसले निरन्तरता पाउँछ वा पाउँदैन भनेर हेर्न बाँकी नै रहेको व्यापार विज्ञहरू बताउँछन् । 
 
नेपालबाट जुस, जुटका सामान, रोजिन, पिना, चाउचाउ, दाल, जिंक, तयारी पोसाक, धागो, अलैंची, जीआई पाइप, ऊनी गलैंचालगायतका वस्तु बढीमात्रामा निर्यात हुने गरेका छन् । 
 
आयाततर्फ भने सवारी साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, दूरसञ्चारका उपकरण, विद्युतीय सामान, चाँदी, तयारी पोशाकको अधिक स्थान रहेको छ । 
 

Post Your Comment