Market Closed

अझै सकिएको छैन हकप्रदको रौनक, चार अर्ब ५१ करोडको हकप्रद सेयर पाइपलाइनमा

06 Nov,2016
  • Share_Market_News_11_6_2016_1_28_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : दर्जनौं कम्पनीले हकप्रद जारी गरिसक्दा पनि अझै यसको रौनक सकिएको छैन ।
यतिबेला पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन गर्न विभिन्न १४ वटा आवेदन दिएका छन् । 
 
पाइपलाइनमा रहेका यी कम्पनीले अनुमति पाएपछि चार अर्ब ५१ करोड ९२ लाख ३३ हजार पाँच सय २१ रूपैयाँ बराबरको चार करोड ५१ लाख ९२ हजार तीन सय ३५ कित्ता हकप्रद सेयर बजारमा आउनेछ । 
 
सेयर संख्या थपिंदा बजारको आकार ठूलो हुन जान्छ । संख्या थपिए अनुपातमा लगानीकर्ता बढेमा मात्र बजारमा माग र आपूर्तिको सन्तुलन मिल्न सजिलो हुन्छ । 
 
चुक्ता पुँजी बढाउन हकप्रदको बाटो रोजी धितोपत्र बोर्डमा निवेदन दिनेमा यतिबेला अधिकांश बैंक तथा फाइनान्स कम्पनी देखिएका छन् । यसबाहेक जलविद्युत, बिमा र लघुवित्त कम्पनी पनि पाइपलाइनमा छन् । 
 
हकप्रद निष्कासन अनुमतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा नेरुडे लघुवित्त विकास बैंक, देवः विकास बैंक, नमस्ते वित्तीय संस्था, मन्जुश्री फाइनान्स, सगरमाथा फाइनान्स, सिद्धार्थ इन्सुरेन्स छन् । 
 
यसैगरी, कैलाश विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, नेको इन्सुरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स, अपि पावर कम्पनी, कामना विकास बैंक र सेन्ट्रल फाइनान्स रहेका छन् । 
 
नेरुडे लघुवित्त र देवः विकास बैंकले ५० प्रतिशत हकप्रद ल्याउने तयारी गरेका हुन् भने नमस्ते वित्तीय संस्था र नेको इन्सुरेन्सले एक सय प्रतिशत, सिद्धार्थ इन्सुरेन्सले २५ प्रतिशतले ल्याउन लागेको हो । यसैगरी, अपि पावरले दुई सय प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ । 
 
विशेष गरी राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि धेरैले पुँजी बढाउने एउटा गतिलो आधार हकप्रद बनाउँदा बजारमा यसको चाप बढेको हो । 
 
कम्पनीले हकप्रद सेयर जारी गरेर पुँजी बढाउने चटारो देखाइरहँदा लगानीकर्ता चाहिँ कहिले आउला हकप्रद भन्दै कुरेर बस्ने प्रवृत्ति देखिएको छ । हाम्रा अधिकांश लगानीकर्ता हकप्रदको पक्षमा रहँदै आएका छन् । 
 
बढी अनुपातमा हकप्रद जारी गर्ने संस्थाको सेयर भाउ उचालिने गरेको छ । अनि, लगानीकर्ता पनि हकप्रद पाइने आशमा चर्को मूल्य तिर्न तयार भइरहेको बजारमा कायम हकप्रद दिने कम्पनीको भाउले देखाएको छ । 
 
तर हकप्रद जारी पुँजी बढ्ने भएकाले कम्पनीले सोही अनुपातमा नाफा वृद्धि गर्न सकेन भने त्यसपछिका वर्षहरूमा वितरण गर्ने लाभांश चाहिँ प्रभावित हुन सक्छ भन्नेतर्फ लगानीकर्ता सचेत हुन आवश्यक छ । 
 

Post Your Comment