Market Closed

लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, सेयर बजार ‘करेक्सन मुड’ मा, दीर्घकालीन लगानी गरौं

08 Nov,2016
  • chhote_new_11_8_2016_1_09_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : दसैंअघि लगातारजसो बढेको सेयर बजार तिहारपछि कता जाला भन्ने धेरैमा चासो थियो । 
 
बजारमा लगानीकर्ता जहिले पनि दुई भागमा विभाजित भएका हुन्छन् । केहीले बजार बढ्छ भन्छन् भने कतिपयले अब घट्छ भन्ने मान्यता राखेका हुन्छन् । यही कारण तिहारपछि बजार कता जाला भन्ने धेरैमा जिज्ञासा हुनु स्वभाविक पनि थियो । 
 
यही आमजिज्ञासा जारी रहँदा तिहारपछि खुलेको बजार त्यति सकारात्मक देखिएन । एकदुई दिनयताको कारोबार हेर्दा सेयर बजार ‘करेक्सन मुड’मा रहेको देन्छि । बजार केही करेक्सन हुन खोज्दैछ भन्ने मलाई लागेको छ ।

अहिलेको अवस्थामा अत्यन्तै ठूलो गिरावट आउँछ भन्ने त मलाई लाग्दैन । त्यही पनि बजारको वास्तविक गति कसैले पनि ठोकुवा गर्न भने सक्दैन । 
 
यतिबेला नयाँ अनि साना लगानीकर्ता अन्योलमा पर्नु स्वभाविकै हो । बजार करेक्सन मुडमा देखिएकाले यस्तो बेला ट्रेडिङ गर्ने हिसाबले सेयर किन्नु हुँदैन । बजार घट्दोक्रममा भएका बेला दीर्घकालीन र मध्यमकालीन हिसाबले मात्र सेयर किन्नुपर्छ । 
 
यसर्थ, अहिले पाँच, सात सय मूल्य हाराहारीमा भएका कम्पनीहरूको सेयर किनबेच गर्नु सबैभन्दा उत्तम हुन सक्छ । यस्तो बेला कम्पनी छान्दा हकप्रद र बोनस दिन बाँकी भएका अनि राम्रो वित्तीय अवस्था रहेका कम्पनी छनोट गर्नुपर्छ । 
 
अहिले ट्रेडिङ गर्ने हिसाबले सेयर किन्नेलाई भने घाटा हुन सक्छ । बैंकमा तरलता कम भएका खबर आइरहेका छन् । तरलता कम हुँदा बैंकले निक्षेपमा आठ प्रतिशतसम्मको ब्याजदर घोषणा गर्न थालेका छन् । यसले गर्दा बजारलाई केही अप्ठेरो बनाएको हो । 
 
यसबाहेक बजारमा बोनस वितरणसँगै हकप्रद र एफपीओ जारी गर्नेक्रम चुलिंदा आपूर्ति धेरै हुन गयो । यसले पनि बजारलाई केही अप्ठेरो पारेको हो । 
 
राम्रा कम्पनी छानेर दीर्घकालका लागि लगानी गर्नेहरू भने बजार घट्दा पनि आत्तिनुपर्दैन । कम्पनीहरूले आकर्षक नाफा गरेका रिपोर्टहरू सार्वजनिक गरिरहेका छन् । 

                                                                      नेपाली पैसासँगको कुराकानीमा आधारित । 
 

Post Your Comment