Market Closed

१५०० अंकसम्मको नेप्से करेक्सन नै हो, होल्ड गर्नेले जित्छ

24 Nov,2016
  • atma_ram_11_24_2016_5_25_32.jpg
                                                 आत्मराम घिमिरे
 
                                            अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम
 
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार केही समययता लगातारजसो घटिरहेको छ ।
 
 बजार घट्दा निश्यच नै लगानीकर्तामा त्रास उत्पन्न भएको छ । बजार कहाँसम्म पुग्ने हो भन्ने डर हुनु स्वभाविक पनि हो । तर मेरो विचारको अहिलेसम्मको बजार घटाई स्वभाविक हो । बजार घट्यो भनेर त्यति धेरै अत्यास मान्नुपर्ने अवस्था छैन ।

१८८१ अंकसम्म पुगेको बजार १५०० विन्दु आउँदासम्मलाई स्वभाविक नै मान्नुपर्छ । २० प्रतिशतसम्मको घटाईलाई करेक्सनका रुपमा लिने चलन छ ।  तर बजार १५०० अंकबाट पनि ओरालो लाग्न थाल्यो भने चाहिँ डराउनुपर्ने अवस्था आउँछ । त्यतिबेला चाहिँ सबैले आफ्नो अवस्था अनि पोर्टफोलियो अनुसार तयारी रहनुपर्ने हुन्छ ।

अहिलेसम्मको अवस्थालाई भने करेक्सन नै मान्नुपर्छ । यो अस्वभाविक पनि होइन । 
अहिलेको अवस्थामा १५०० भन्दा तल गइहाल्छ जस्तो पनि लाग्दैन । बजारमा सुधारका जति रटान लगाइए पनि व्यवहारमा खासै कार्यान्वयन भएको छैन । लगानीकर्ताको संघ भएकाले हामीले पलिसीमा लबिङ गर्ने हो ।

बजार सामान्य घटबढ भयो भनेर भन्दा पनि बजारको दीगो विकासका लागि हामीले लबिङ गर्नुपर्छ । अहिलेसम्म अनलाइन ट्रेडिङले फङसनिङ (अनलाइन कारोबार) गर्न पाएको छैन । बजारमा हकप्रद र बोनसका कारण सेयर आपूर्ति ह्वात्तै बढ्दा खोई दायरा बढेको ? 
बैंकलाई अनुमति दिएर हुन्छ वा ब्रोकरलाई नै भएपनि काठमाडौं बाहिर काम गर्न खुला गरिनुपर्छ ।

राजधानीमात्र केन्द्रित बजारले बैंक तथा वित्तीयको यति भारीमात्रमा थपिएको सेयर आपूर्तिलाई थेग्न सक्दैन । यही भएर राजधानीबाहिरका लगानीकर्ताले सजिलै कारोबार गर्न सक्ने अवस्था सिर्जना गरिनुपर्छ । 
 
आपूर्तिपक्ष बढेपछि सोही अनुसार त्यसलाई कन्जम बढाउन दायरा फराकिलो बनाउन अत्यावश्यक भएको छ । केही समययताको प्रवृत्तिलाई गहन तरिकाले अध्ययन गर्दा बजार विस्तारै बियरिस ट्रेन्डमा गएको देखिन्छ ।

तर यसको अर्थ बजार अब सकियो, ध्वस्त भयो भन्ने होइन । अहिले पनि राम्रा कम्पनीको सेयर कारोबार भइरहेको छ । बजार ध्वस्त भयो भनेर रोइकराई गर्नुपर्ने अवस्था आइसकेको जस्तो मलाई लाग्दैन । 
 
यही बेला सुधारका प्रक्रिया अघि बढे बजारले यु टर्न लिन सक्छ । बजारको वियरिस ट्रेन्डको मात्रालाई कम गर्न सकिन्छ । अहिलेको बजार पहिलाको जस्तो दुई सय ९२ मा पुग्ने होइन । यसमा लगानीकर्ताले विचार गर्न आवश्यक हुन्छ । 
 
विगतमा हामीकहाँ सेयर बजारको बुल र बियरिस साइकल चारपाँच वर्षको हुने गरेको छ । यदि अहिले बजार वियरिस साइकलमा गएको भए अब लगातार घट्छ त भन्ने आम जिज्ञासा छ । हो, यस्तो बेला बजारलाई दीर्घकालीन सकारात्मक प्रभाव पार्ने काम हुन सकेमा साइकललाई कम गर्न सकिन्छ । 
 
यतिबेला लगानीकर्ताले राम्रा कम्पनीको सेयर सकेसम्म होल्ड गर्नुपर्छ । सेयर बिक्री गर्ने वा होल्ड भन्ने प्रमुख विषय लगानीकर्ताको अवस्थामा भर पर्छ । कसैले बैंकको ऋण लिएर किनेको छ भने त्यसलाई व्यवस्थापन गर्ने प्रक्रिया मिलाउन सक्नुपर्छ । 
 
ऋणले समस्या पार्ने भएमा थोरैथोरै बिक्री गरेर उत्रिन सकिन्छ । भोली मार्जिन कल भइहालेमा कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नको उत्तर तयार हुनुपर्यो । तर, ऋणको समस्या नभएकाहरूले आत्तिएर सेयर बिक्री गर्नुपर्ने अवस्था होइन । सेयर बजारमा होल्ड गर्नेले नै जित्छ । 
 
समग्रमा बजारमा अहिले नै आत्तिहाल्नुपर्ने केही भएको छैन । १५०० अंकसम्म नेप्से आउँदा ध्वस्त भएको भन्न मिल्दैन । त्यो विन्दुसम्म चाहिँ करेक्सन नै हो । लगानीकर्ता आत्तिनुभएन । राम्रा कम्पनीको सेयर होल्ड गर्नुपर्यो । 
 
(नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष आत्मराम घिमिरेसँग गरिएको कुराकानीमा आधारित ।) 

Post Your Comment