Market Closed

कता हराए म्युचुअल फन्ड ? नेप्से निरन्तर झर्दा सेयर किनेर बजार सन्तुलित पार्नु पर्ने होइन ?

28 Nov,2016
  • mutual-fund-tree_11_28_2016_1_11_36.png
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार अत्याश लाग्ने गरी तल झरिरहँदा बजार निर्माताको भूमिका निर्वाह गर्नुपर्ने म्युचुअल फन्ड कम्पनीहरू भने गुमनाम भएका छन् । 
 
सेयर बजार घट्दा बजारबाट उठाएर स्थायित्व दिंदैनन् भने यिनीहरूको अरु बेला त्यति धेरै महत्व नरहने यतिबेला आमलगानीकर्ताले गुनासो गरिरहेका छन् । 
 
हामीकहाँ अहिलेसम्म बजार निर्माता छैन । बजार निर्माता नभएकाले एक हिसाबले म्युचुअल फन्ड कम्पनीले नै बजार निर्माताको भूमिका निर्वाह गर्नुपर्ने अवस्था हो । तर अहिले म्युचुअल फन्ड कम्पनीले सेयर किनेका छैनन् । 
 
त्यतिमात्र होइन, म्युचुअल फन्ड कम्पनीहरूले क्रेटिभ बिजनेससमेत गर्न नसकेको देखिन्छ । अधिकांश म्युचुअल फन्ड कम्पनीको कात्तिक महिनाको वित्तीय विवरण अध्ययन गर्दा प्रायः सबैको कमाई असोजको तुलनमा घटेको छ । 
 
म्युचुअल फन्ड कम्पनीको कमाई घट्नुको मुख्य कारण सेयर बजारमा आएको गिरावटलाई मानिएको छ । 
 
सेयर बजार सामान्य हिसाबले तल झर्दा कमाई पनि घटिहाल्ने अनि बजार बढेका बेला फेरि ह्वात्तै कमाई बढाएको वित्तीय विवरण पस्किने परिपाटीले यिनीहरूले कस्ता प्रडक्ट सेल गर्छन् भन्ने पनि देखाउँछ । 
 
२०६५ सालपछि बजार झन्डै क्र्यासको अवस्थामा पुग्दा म्युचुअल फन्ड कम्पनी नभएकाले यस्तो अवस्था आएको भनेर धेरै विश्लेषकले भन्ने गरेका थिए । 
 
त्यसपछि बजार सुधारसँगै म्युचुअल फन्ड कम्पनी पनि स्थापना हुनेक्रम सुरु भयो । अहिले आधा दर्जनजति म्युचुअल फन्ड कम्पनीले विभिन्न स्किम बिक्री गरिरहेका छन् ।
 
 तर सेयर बजार निरन्तर ओरालो लाग्दा सेयर किनेर बजारलाई सन्तुलित पार्न यिनीहरूले कुनै पनि भूमिका निर्वाह गर्न सकेको देखिएको छैन । 
 
जनताको पैसा सुरक्षा गर्नुपर्ने दायित्व म्युचुअल फन्ड कम्पनीको भएकाले यस्तो बेला जोखिम लिएर सेयर बजारमा लगानी गर्न नसक्ने म्युचुअल फन्ड सञ्चालकहरूको भनाई छ । 
 
तर, म्युचुअल फन्ड कम्पनीको सामान्य कर्तव्य भनेको बजार अस्वभाविक हिसाबले घट्दा बजारबाट सेयर उठाउने अनि त्यसरी नै बजार माथि जाँदा सेयर बजेर आपूर्ति बढाउने हो । यसो गर्दा बजार सन्तुलित गर्न सहयोग पुग्छ । 
 
उता, सरकारले नागरिक लगानी कोषलाई बजार निर्माता बनाउने गृहकार्य गरेपनि अहिलेसम्म उपलब्धि सतहमा देखिएको छैन । 
 
नागरिक लगानी कोषलाई बजार निर्माताको अधिकार दिइएमा यसले सेयर भाउ घटेका बेला सेयर खरिद गरेर बजारलाई सन्तुलित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 
बजार अप्ठेरो अवस्थामा पुगेका बेला म्युचुअल फन्ड कम्पनीले लगानीकर्तामा आशा जगाउन सस्तो भाउमा सेयर किनेनन् भने पछि उनीहरूको विश्वास र भरोसामा आँच आउन सक्नेछ । 
 

Post Your Comment