Market Closed

जनताको पैसाले नै बैंकले पुँजी आठ अर्ब पुर्याउन लागेका हुन्, बैंकहरू विस्तारै बलिया हुँदै

30 Nov,2016
  • governor_11_30_2016_5_17_27.jpg
                                                           गभर्नर डा. चिरञ्जीवी नेपाल 
 
नेपाली पैसा 
 
काठमाडौं : नेपालको विकास गर्न पूर्वाधारको अभाव छैन । यो कुराको पुष्टि विभिन्न कम्पनीहरूले जारी गर्ने आइपीओमा लाग्ने सर्वसाधारणको लाइनले पनि देखाइसकेको छ । 
 
राष्ट्र बैंकले बैंकहरूको चुक्ता पुँजी दुई अर्बबाट बढाएर आठ अर्ब पुर्याउँदा यो सम्भवै छैन् भन्ने पनि पर्याप्त थिए । तर अहिले प्रायः सबै बैंक आठ अर्ब पुर्याउने तरखरमा पुगिसकेका छन् । धेरैको क्यापिटल प्लान आइसकेको छ । जनतासँग भएको पुँजीकै कारण बैंकले आठ अर्ब पुर्याउन सक्ने भएका हुन् । 
 
विगतमा बैंकहरू पुँजीको आधारमा निकै कमजोर थिए । वाणिज्य बैंकको चुक्ता पुँजी जम्मा दुई अर्ब थियो । जसका कारण ससाना आयोजनामा ऋण दिन तथा ठूला खालका उपकरण खरिद गर्न लागि चारपाँचवटा बैंकहरू मिल्नुपर्ने बाध्यता थियो ।

बैंकहरूको व्यवसाय विस्तार गर्न अनि ठूला आयोजनामा लगानी गर्नका लागि सक्ष्म बनाउन नै राष्ट्र बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउनुपर्ने नीति लिएको हो । पुँजी बढ्दै गएपछि अब बैंक तथा वित्तीय क्षेत्रले पूर्वाधार क्षेत्रमा पनि कर्जा प्रवाह गर्न थालेका छन् ।

हामीले उत्पादनमूलक तथा कृषि र जलविद्युत् क्षेत्रमा अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने नीति लिएका छौं । जसका कारण बैंकहरू आफैं बजारको सम्भावना खोज्दै जलविद्युत् क्षेत्रमा प्रवेश गरेका छन् । 
 
पुँजी आधारले बैंकहरू सक्ष्म हुँदा अरु विकासनिर्माणका आयोजनामा पनि ऋण दिन बैंकहरूलाई कुनै पनि समस्या नहुने देखिन्छ । वित्तीय क्षेत्रलाई पनि राजनीतिक स्थायित्वले असर गर्छ । सरकारको वित्त नीतिले केन्द्रीय बैंकको मौद्रिक नीतिलाई असर गरेको हुन्छ । 
 
भूकम्प गयो र नाकाबन्दी पनि भएर सकियो । त्यो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरू असहज स्थितिमा रहेका थिए । पछिल्लो समय हामीले कृषि र उत्पादनको क्षेत्रमा लगानीको अनुपात बढाउनेदेखि अघिल्ला वर्ष भूकम्प र नाकाबन्दीको कारण समस्या परेकालाई उकास्नका लागि विभिन्न नीतिहरू लिएका थियौं । 
 
केन्द्रीय बैंकले बैंकहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउने घोषणा पनि भोलीका दिनमा बैंक तथा वित्तीय संस्थामा कुनै पनि खालका समस्या नआउने वातावरण सिर्जना होस भन्नका लागि गरिएको हो । 
 
अघिल्लो वर्षसम्म १३ वटा वित्तीय संस्था समस्यामा रहेकामा अहिले त्यो संख्या घट्दोक्रमा रहेको छ भने यसमा पनि नयाँ लगानीकर्ता आएर खरिद गर्न खोजेको अवस्था छ । पछिल्लो समय वित्तीय प्रणालीमा सूचना प्रविधिमा देखिएको जोखिमले भने थप समस्या आएको छ । 
 
सूचना र प्रविधि क्षेत्रको पूर्वाधारमा थप विकास गर्न आवश्यक छ । अहिले पनि ६० प्रतिशत जनता वित्तीय पहुँचबाट टाढै रहेका छन् । उनीहरूलाई वित्तीय प्रणालीमा ल्याउन सकियो भने थप पुँजी संकलन हुन्छ अनि त्यसले लगानी गर्नका लागि स्रोत जुटाउने काम पनि गर्छ ।

केन्द्रीय बैंकले अहिले समावेशी वित्तीय पहुँचमा जोड दिएको छ । जसले तल्लो तहसम्म वित्तीय पहुँच पुग्छ र विकास पनि हुन्छ । 
 
(सेजन स्मारिका २०७३ मा प्रकाशित राष्ट्र बैंकका गभर्नर डा. नेपालको लेखबाट लिइएको सारांश) 

Post Your Comment