Market Closed

राष्ट्र बैंक भन्छ– बजार भाउ निकै सस्तो भयो

16 Dec,2016
  • Nepal-Rastra-Bank_12_16_2016_4_20_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा सामानको भाउ निकै सस्तो भएको तथ्यांक बाहिर ल्याएको छ । 
 
राष्ट्र बैंकले समग्र महँगीदर जम्मा ४.८ प्रतिशतमात्र रहेको बताएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै मूल्य वृद्धि ह्वात्तै तल झरेको प्रक्षेपण गरिएको हो । 
 
असोज महिनामा ६.७ प्रतिशत रहेको महँगी कात्तिकमा आइपुग्दा अझै तल झरेर ४.८ मा सीमित भएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
 
 गत वर्ष कात्तिकमा मूल्य वृद्धि १०.४ प्रतिशत थियो । यसआधारमा गत वर्षको सँग तुलना गर्दा महँगी स्वात्तै घटेको देखिन्छ । 
 
राष्ट्र बैंकले महँगी घटेको बताइरहे पनि व्यवहारमा भने आमउपभोक्ता अहिले पनि  चरम महँगीको मारमा छन् । 
 
दैनिक उपभोग्य वस्तुको भाउ चुलिएर किनिनसक्नुको अवस्था छ । राष्ट्र बैंकको अध्ययन विधिले खुद्रा बजारबाट सामान किन्नेलाई पूर्णरुपमा समेट्न नसकेको हो । 
 
राष्ट्र बैंकले खाद्य पदार्थको मूल्य वृद्धि जम्मा २.६ प्रतिशतमात्र रहेको बताएको छ । जबकी गत वर्ष यही बेला खाद्य पदार्थको मूल्य वृद्धि १२.१ प्रतिशतसम्म थियो । 
 
वार्षिक विन्दुगत आधारमा हेर्दा दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य वृद्धि दर ३.१ प्रतिशत छ । गत वर्ष दुग्धजन्य पदार्थको महँगी ११.९ प्रतिशत थियो । यसैगरी, पलफूलमा ३.२ प्रतिशत र माछामासुमा ३.९ प्रतिशतले मात्र महँगी बढेको छ । 
 

Post Your Comment