Market Closed

लगानीकर्ताले लुकेर बसेका तर राम्रा कम्पनी कसरी खोज्ने

31 Dec,2016
  • keshav_12_31_2016_2_27_09.jpg
                                                                                                                                         केशव श्रेष्ठ
 
काठमाडौं : सेयर बजार चुलिंदै जाँदा अत्यासलाग्दो गरी बढेको मूल्यमा पनि कम्पनीका सेयरहरु किन्न आँटिला लगानीकर्ताको ओइरो लाग्छ । जे जसो गरेर पनि पैसाको जोहो गरिरहेका देखिन्छन् लगानीकर्ताहरु बढेको बजारमा । तर जब बजार घट्नथाल्छ, एकाएक खरीदकर्ता बजारबाट हराउँछन् र बेच्नेहरुको भीडमात्र देखिन थाल्छ । किन यस्तो हुन्छ त ? हुन् त सबैले बुझेकै कुरो हो कि यो बजार भनेकै ग्राहकको भीड र मनोविज्ञानले चल्ने हो । तर गम्भीर लगानीकर्ताले मनन गर्नुपर्ने पाटो के हो भने के बजार यसरी चलायमान हुँदा कम्पनीहरु सबै राम्रा भएका वा सबै नराम्रा भएका हुन्छन् त ? यो पनि हामी सबैलाई थाहा भएकै कुरा हो कि बजारको चलायमानता सँग कम्पनीको राम्रा र नराम्रा पक्षहरु जोडिएर आएका हुन्छन् नै ।

तर जुन अनुपातमा कम्पनीको बजार मूल्य घटेको वा बढेको हुन्छ, कम्पनीको कार्य सम्पादन त्यो दरमा बढेको वा खस्केको चाहिं हुँदैन । आफूले लिन चाहेका कम्पनीको त्यतिबेलाको वित्तीय विवरण हेर्दा त्यो पुष्टि हुन्छ । अब कुरोको चुरो के हो भने जुनसुकै बेलामा बजार प्रवेश गरेपनि वा बजारबाट निस्कन चाहेपनि लगानीकर्ताले त्यस्ता लुकेर रहेका राम्रा कम्पनीको पहिचान कसरी गर्ने त ? अथवा बजारमा राम्रा छन् भन्ने हल्ला पिटाइएका तर वास्तवमा खत्तम कम्पनी कसरी चिन्ने त ? कुनै पनि कम्पनी राम्रो हो वा नराम्रो हो भन्नका लागि बजारमा रहेका अरु त्यस्तै खालका तुलनायोग्य कम्पनीको बारेमा तथ्य, तथ्यांकको जानकारी हुनु र तुलना गर्नुपर्ने हुन्छ । त्यो किनभने राम्रो र नराम्रो भन्ने सापेक्ष कुरा हो । कुनै बेला राम्रा मानिएका कम्पनीहरु अर्को समयमा तुलनात्मकरुपमा कम राम्रा भइरहेका हुनसक्छन् ।

राम्रा कम्पनी छान्न सबैभन्दा सरल र विश्वसनीय तरिका भनेको तिनका प्रकाशित वित्तीय विवरण संकलन गर्ने र त्यसलाई उपयुक्त समयमा उपयुक्त तरिकाले प्रयोग गर्ने नै हो । हरेक लगानीकर्ताको लगानीको फन्डा केही न केही रुपमा उसको क्षमता, रुचि, योजना, अपेक्षा र चाहनाअनुसार फरक फरक हुन्छन् नै । तैपनि संसारभरि रुचाइएका र प्रयोग गरिने मूलभूत तथ्यांकहरु जस्तै मुनाफाको वृद्धि, प्रतिसेयर नेटवर्थ, आम्दानी, सम्पत्ति, मूल्य अनुपात, किताबी मूल्य, वृद्धि अनुपातलगायतको संकलन, विष्लेषण र प्रयोग गर्न सकिन्छ । बैंक तथा बित्तीय संस्थाको हकमा खराब कर्जाको अनुपात, राइट ब्याक, सीडी रेसियोलगायतको संकलन पनि गर्न सकिन्छ । हरेक त्रैमासिक वित्तीय विवरण संकलनले कम्पनीहरुको तुलामत्मक अध्ययनको बाटो खोलिदिन्छ । यसबाट आफूलाई राम्रा लागेका, विश्वासयोग्य कम्पनीका सेयर उचित समय र उचित मूल्यमा किन्न सकिन्छ । तुलनात्मकरुपले कम राम्रा कम्पनीका सेयर बेच्न पनि सकिन्छ ।
 
कहिलेकाँही एउटा मापदण्ड बनाएर अध्ययन गरिएका आँकडा पनि समयअनुसार मेल नखाने हुनसक्छन् । उदाहरणका लागि मूल्य–आम्दानी अनुपात १५ वा सोभन्दा कम रहेका कम्पनीका सेयर किन्नु अन्तर्राष्ट्रिय रुपमा मानिएको कुरो हो । तर नेप्से बढेर १८०० अंकको हाराहारीमा पुगेको बेला मूल्य–आम्दानी अनुपात १५ आसपासमा भएका सायद कमै कम्पनीमात्र थिए होलान् ।  अब के त्यस्तो बेलामा सेयर किनबेच नै नगरी बसिराख्ने हो त ? अवश्य पनि होइन । तर त्यस्तो बेला सबैभन्दा कम मूल्य अनुपात रहेका बजारमा उपलव्ध कम्पनीहरु कुन–कुन हुन् त भनेर चिन्न सकेमा सबैभन्दा कम जोखिममा सबैभन्दा राम्रा कम्पनी किन्न वा नराम्रालाई बेच्न सकिन्छ । तर यसका लागि तपाईसँग कम्पनीहरुको सूचनाको संकलन अर्थात् डाटाबेस चाहिने नै भयो, हैन त ?
 
झट्ट हेर्दा यो काम सजिलै लागेपनि यसमा धैर्यता, अध्ययन र निरन्तरताको खाँचो पर्छ । तर हरेक लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा र बढोत्तरी चाहने हो भने यसका विकल्पहरु ज्यादै कम छन् । सूचनाको सही प्रयोग नै ज्ञान हो । ज्ञानले तपार्इंलाई सक्षम र भाग्यमा कम भर पर्ने बनाउँछ । उन्नति र सफलतातिर डो¥याउँछ । भनेपछि, अब थाल्ने होइन त ज्ञान र सम्पन्नतातिरको यात्रा ?
 
(लेखक सेयर लगानीकर्ता एवं विश्लेषक हुन् ।)
 

Post Your Comment