Market Closed

पुँजी बजारले किन बनायो २०१६ मा ऐतिहासिक रेकर्ड ? यस्तो छ २०१७ को सुनौलो अपेक्षा

02 Jan,2017
  • Happy-New-Year-2017_1_2_2017_10_40_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजारका लागि सन् २०१६ सुनौलो वर्ष साबित भयो । यो वर्ष साउन १२ मा नेप्से सूचकले १८८१.४५ विन्दुको अहिलेसम्मकै उच्च रेकर्ड कायम गर्यो । नेप्से सूचकमात्र होइन कारोबार रकमले पनि उच्चतम अंक कायम गरेर गएको वर्षले नेपाली पुँजी बजारमा नयाँ सम्भावनाको ढोका देखाइदिएको छ । बजारमा दैनिक दुई अर्ब रूपैयाँभन्दा बढीको सेयर किनबेच सम्भव भयो । गएको वर्ष सेयर बजारमा उछाल आउनुमा बजार सुधारका कार्यक्रम कार्यान्वयन हुनु पनि हो । डिम्याट प्रणाली कार्यान्वयनमा आउँदा लगानीकर्तालाई निकै सजिलो भयो । वर्षौैदेखि चल्दै आएको परम्परागत ढर्राको कागजी कारोबारको ठाउँमा अभौतिक प्रणालीको कारोबार पूर्णरुपमा कार्यान्वयन भयो । यसबाट लगानीकर्तामा अझै नयाँ ऊर्जा थपियो । 
 
बजारले नयाँ रेकर्ड कायम गर्न सक्नुमा राष्ट्र बैंकको मौद्रिक नीतिको सबै भन्दा ठूलो हात देखियो । अघिल्लो वर्ष नै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रूपैयाँ पुर्याउनुपर्ने प्रावधान घोषणा गरेको थियो । विकास बैंक र फाइनान्स कम्पनीको पनि सँगै चुक्ता पुँजी बढाउने निर्देशन आयो । चुक्ता पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले हकप्रद र बोनस सेयर जारी गर्ने अनि मर्ज वा एक्वायरका विकल्प देखिए । अधिकांश संस्थाले हकप्रद र बोनसको बाटो रोज्दा लगानीकर्ता थप जुर्मुराए । नेपाली लगानीकर्ता बोनस सेयर र हकप्रदको पछाडि दौडिन गर्छन् । बोनस र हकप्रद पाइने आशमा २०१६ मा बजारले नयाँ उचाई बनाउन सकेको हो ।
 
 बजार बढ्दोक्रममा रहेका बेला नियामक निकाय नेपाल धितोपत्र बोर्ड पनि निकै सक्रिय देखियो । धितोपत्र बोर्डले बजारमा देखिएका समस्या समाधान गर्न ठूलै  पहल गर्यो । लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढ्ने वातावरण बनाउन सहयोग पुग्यो । यही बेला नेप्सेले बजारको गहिराई (मार्केट डेप्थ) हेर्न सक्ने व्यवस्था पनि कार्यान्वयनमा ल्यायो । कारोबार भइरहेका बेला कति क्रेता छन् अनि बिक्रेता कति ? भनेर लगानीकर्ता आफैंले लाइभ थाहा पाउन सक्ने भए । कतिपयमा यही मार्केट डेप्थका आधारमा सेयर किनबेच गर्ने प्रवृत्तिसमेत देखियो । यो पनि सेयर बजारका लागि २०१६ मा ठूलै उपलब्धि साबित हुन गयो । 
 
सन् २०१६ मै सेयर बजारको कारोबार समय पनि थप्ने काम भयो । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार अवधि बढाएर चार घन्टा पुर्यायो । त्यसअघि दैनिक तीन घन्टामात्र किनबेच गर्न पाइन्थ्यो । यसले पनि बजारमा नयाँ तरंग मच्चायो । वर्ष २०१६ मा भएको अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्रोकर कमिसन घटाइनु हो ।  धितोपत्र बोर्डले ब्रोकर कमिसन ४० प्रतिशतले कटौती गर्यो । वर्षौदेखि चर्को कमिसन तिर्दै आएका लगानीकर्तामा यसले निकै ठूलो राहत दिलायो । कमिसन ४० प्रतिशतसम्म घटाईंदा सानाठूला सबैथरीका कारोबारी बजारप्रति थप आश्वस्त बन्ने वातावरण तय भयो । 
दक्षिण एसियामै महँगो ब्रोकर कमिसन घटेपछि सेयर कारोबारमा नयाँ उत्साह देखियो ।

त्यतिमात्र होइन, धितोपत्र बोर्डले कारोबार गरेको तीन दिनभित्र राफसाफ सम्पन्न गर्न कडाई गर्यो । टी प्लस थ्रीभित्र राफसाफ भएर चौथो दिनमा सेयर बिक्रेताले पैसा पाउने प्रावधान कार्यान्वयनमा आयो । बजारको उचाई बढ्दै जाँदा नयाँनयाँ लगानीकर्ता थपिन थाले । लगानीकर्ताको सम्पति प्रत्येक दिनजसो बढ्न थाल्यो । लगातारजसो बढेको बजार तिहारपछि भने अलिअस्थिर बनेको छ । पछिल्लो समय समग्रमा बजार घट्दोक्रममा छ । यतिबेला बैंक ब्याजदर क्रमशः बढ्दोक्रममा छ । तरलता अभाव देखिएको छ । भारतमा मोदी सरकारले भारु एक हजार र पाँच सय नोटमा प्रतिबन्ध लगाउँदा त्यसले हाम्रो बजार पनि प्रभावित बनेको आँकलन छ ।

बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन भारीमात्रामा हकप्रद र बोनस सेयर जारी गर्दा आपूर्ति बढ्न गएको छ । बजारमा बढेको आपूर्ति थेग्ने नयाँ लगानीकर्ता आएका छैनन् । बजार निर्माता पनि छैन । सामूहिक लगानी कोष कम्पनीहरू पनि बजारको माग र आपूर्ति अनुसार चल्न सकेको देखिंदैन । यसआधारमा पछिल्लो समय बजार केही तल आएको हो । धितोपत्र बोर्ड र नेप्सेबीचको जुहारीले एक किसिमको आशंका पैदा गरेको छ । यसलाई खबरदारी गर्न सेयर लगानीकर्ता संघ जुर्मुराएको छ । यसमा आमलगानीकर्ताले साथ दिएका छन् । 
 
 
अब २०१७ मा के होला ? 
सन् २०१७ ले पुँजी बजारमा नयाँ चमक ल्याउने आमलगानीकर्ताको अपेक्षा छ । हाल पाइपलाइनमा रहेका बजार सुधारका कार्यक्रम अघि बढ्न सकेमा निश्चय नै नेपाली पुँजी बजार थप चम्किने आशा गर्न सकिन्छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरका शाखा राजधानी बाहिर पुर्याउने काम भएमा बजार अर्को उचाईमा जान सक्छ । यसबाहेक लामो समयदेखि चर्चामा रहेको गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन प्रक्रिया अघि बढ्ने आशा गरिएको छ । अन्तर्राष्ट्रियस्तरको टेस्टेड अनलाइन कारोबार प्रणाली नेप्सेले भित्र्याउन आवश्यक छ । यस्तो प्रणाली ल्याउन सके गैरआवासीय नेपालीले सेयर किनबेच गर्न पाउँछन् ।

विदेशमा रहेका नेपालीले त्यहीँबाट कारोबार गर्न सक्नेछन् । बैंकलाई ब्रोकर लाइसेन्स दिन सके प्रतिस्पर्धा बढ्छ । त्यतिमात्र होइन, नयाँ ब्रोकरलाई पनि लाइेसेन्स खुला गर्न आवश्यक छ । २०१७ मा सरोकारवाला निकायले यसतर्फ पनि ध्यान दिने अपेक्षा गरिएको छ । यही वर्ष एसियाली विकास बैंक, आइएफसी जस्ता अन्तर्राष्ट्रिय संस्थाले स्थानीय मुद्रामा बन्ड जारी गर्ने वातावरण बन्दैछ । माघदेखि आस्वा प्रणाली कार्यान्वयनमा आउँदैछ । यो प्रणाली आएपछि आइपीओ आवेदन दिन घन्टौं लागेर लाइनमा बस्नुपर्दैन । बैंक खातामा पैसा ब्लक हुन्छ । सेयर नपरेको पैसा लिन संकलन केन्द्रसम्म धाउनुपर्दैन । आइपीओ बाँडफाँट र सूचीकरणसम्मको अवधि निकै छोटो हुनेछ । यसले पनि बजारमा निश्चय नै सकारात्मक वातावरण तय गर्नेछ । 
 
यसैगरी, नेप्सेले क्लियरिङ बैंक थप्ने, १० कित्ता भन्दा कम परिमाणका सेयर कारोबार गर्नेलगायतका सुविधा दिंदैछ । यो पनि बजारको दीगो विकासकै पक्षमा हुने अपेक्षा गर्न सकिन्छ । लगानीकर्ता जुर्मुराउन थालेका छन् । बजार सुधारमा सेयर लगानीकर्ता संघले खबरदारी गर्दै धितोपत्र बोर्ड र नेप्से पुगेका छन् । यसबाट बजारमा थप सुधारका कार्यक्रम ल्याउन नियामक निकाय, बजार सञ्चालक र सरकार बाध्य हुने विश्वास गर्न सकिन्छ । यसो भएमा २०१७ लगानी वर्ष साबित हुन सक्छ । 


                                  सन् २०१६ को सेयर बजार एक झलक 
 
                                       २०१६ को उच्चतम विन्दु
                                       २०१६-० ७-२७ मा १८८१.४५
 
 
 
                                           न्यूनतम विन्दु
                                    २०१६-०१-०५ मा ११४६.७७  
   
 
 
 
                              वर्षभरिमा नेप्से २९२ अंकले बढ्यो
                                     कुल वृद्धि २५.३६ प्रतिशत
     २०१५-१२-३१ मा  ११५१.३८ विन्दुमा रहेको नेप्से २०१६- १२ -२९ १४४३.३८ विन्दु मा पुग्यो ।
 

 
 

Post Your Comment