Market Closed

धितोपत्र बोर्डले पेस गर्यो एक वर्षे उपलब्धिको फेहरिस्त, हुँदैछ बजार सुधारका अनगिन्ती काम

06 Jan,2017
  • sebon_1_6_2017_2_08_36.jpg
नेपाली पैसा 
 
काठमाडौं :  धितोपत्र बोर्डले एक वर्षमा गरेको कामको फेहरिस्त प्रस्तुत गरेको छ । एक वर्ष अवधिमा बोर्डले पुँजी बजारको दीर्घकालीन विकासमा कोशेढुंगा साबित हुने कामहरू गरेको छ । नीतिगत सुधारदेखि बजारको छिद्र चिर्न गरिएका यी कार्यको आगामी दिनमा धमाधम परिणाम देखिन थाल्ने अपेक्षा गरिएको छ । लगानीकर्ता, विश्लेषकसहित पुँजी बजारसम्बन्धी सरोकारवाला सबैलाई उपयोगी हुन सक्ने  विश्वाससहित हामीले बोर्डले उपलब्ध गराएको सामग्रीलाई स्थान दिएका छौं ।
 
आखिर, रेवतबहादुर कार्की र उनको टिमले के–के गर्यो त पुँजी बजार विकासमा ? प्रस्तुत छ २५ बुँदे सुधार कार्यको विवरण धितोपत्र बोर्डकै भाषामा 
 
१. अटोमेसन प्रणाली लागू : धितोपत्र कारोवार प्रणाली यसअघि नै स्वचालित भइसकेकोमा विद्युतीय नामसारी र राफसाफ सेवाको पूर्ण स्वचालित संचालनको लागि २०७२ माघदेखि सम्पूर्ण सूचीकृत कम्पनीको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी नामसारी र राफसाफ समेतको पूर्ण स्वचालित सेवा संचालनको व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन भएसँगै नेपालको धितोपत्र बजार दक्षिण एशियाका अन्य देशको धितोपत्र बजार सरह नै आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ । यसबाट दैनिक औसत कारोबारमा व्यापक वृद्धि भएको छ ।
 
२. ब्रोकर कमिसन ४० प्रतिशतसम्म कटौती : दक्षिण एशियामा नै उच्च रहेको नेपालको धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्क संशोधन गरी ४० प्रतिशतसम्म कटौती गरिएको छ जसबाट लगानीको लागत घटी धितोपत्र बजारमा लगानी प्रोत्साहित भएको छ ।
 
३. विविध व्यवस्था सहितको धितोपत्र दर्ता तथा निष्काशन नियमावली लागू : पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउने क्रममा पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा भित्र्याउन तत्कालीन नियमावलीलाई प्रतिस्थापन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ जारी गरिएको छ । जसले धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी भई विगत २५वर्षदेखि फिक्स प्राइसमा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी अब प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था गरिएको छ । आइएफसी, एडीबीजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ढोका खुलेको छ 
 
४. प्राथमिक बजारमा संरचनात्मक सुधार गर्न आस्वा प्रणाली लागू : धितोपत्र बोर्डले सार्वजनिक निष्काशन प्रकृया थप सरल, व्यवस्थित, पारदर्शी बनाई सार्वजनिक निष्काशनको ७० दिने समयावधिलाई उल्लेख्यरुपमा न्यून गर्ने उद्देश्यले २०७३ माघ १ गतेदेखि “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३”( आस्वा प्रणाली) लागू गरेको छ ।
 
५. बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्न २७ नयाँ कर्मचारीको नियुक्ति : बोर्डमा कर्मचारी संख्या न्यून रहेको पृष्ठभूमिमा लोकसेवा आयोग समेतको सम्लग्नतामा २७ जना नयाँ कर्मचारीको नियुक्ति गरी कर्मचारी संख्या दोब्बर बनाएर बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिएको छ ।
 
६. नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता पाउने क्रममा नेपाल आइओएससीओ र अन्नाकोे सदस्य : धेरै वर्षको प्रयास पश्चात् बोर्डले २०१६ जुलाईमा धितोपत्र बजारको नियमन निकायहरुको अन्र्तराष्ट्रिय संस्थाको रुपमा रहेको इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसनको सदस्यता प्राप्त गरी नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यस्तै बोर्डको समन्वयमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सीज् (अन्ना) को सदस्यता प्राप्त गरेको छ ।
 
७. थप निष्काशन (एफपीओ) को मूल्य निर्धारण विधि लागू : बोर्डले थप निष्काशनको मूल्य निर्धारण कार्यमा एकरुपता ल्याई थप व्यवस्थित र पारदर्शी बनाउनका लागि चार मापदण्ड (पूँजीकृत भएको आम्दानी, प्रतिसेयर खुद सम्पत्तिको मुल्य, १८० दिनको औसत बजार मूल्य, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मुल्य) निर्धारण गरी लागू गरेको छ ।
 
८.प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीको हकप्रद तथा थप निष्काशन सम्बन्धमा नयाँ मापदण्ड लागू :  प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीको हकप्रद तथा थप निष्काशनका लागि वित्तीय योजना तथा रणनीतिहरू साधारण सभाबाट पारित गराएको हुनुपर्ने, हकप्रद निष्कासनको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, निष्कासनको सार्वजनिक सूचना प्रकाशित गर्नुभन्दा कम्तिमा ५ कार्य दिन अगाडि परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुला गरिएको सूचना सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड लागू गरेको छ ।
 
९. बजारको गहिराई हेर्ने व्यवस्था : दास्रो बजार मूल्य पारदर्शी बनाउन सम्पूर्ण लगानीकर्तालाई धितोपत्रको माग तथा आपूर्तिको जानकारी लिन सक्ने गरी बजारको गहिराई (मार्केट डेप्थ) हेर्ने व्यवस्था गरिएको छ ।
 
१०. अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप हुने टेस्टेड सिस्टम भित्र्याउन नेप्सेलाई निर्देशन : विश्व पुँजी बजारमा अत्याधुनिक प्रणाली प्रचलनमा आइसकेको अवस्थामा हालको अन्तर्राष्ट्रियस्तरको प्रणाली जस्तै नयाँ अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप (कम्पेटिबल) हुने प्रणाली भित्र्याउनेतर्फ पहल गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।
 
११. धितोपत्र कारोवारको राफसाफ तथा फस्र्योट कार्यको उपयुक्त व्यवस्था : धितोपत्र कारोवारको राफसाफ तथा फस्र्योट कार्यलाई व्यवस्थित गर्न तथा लगानीकर्ताको धितोपत्र कारोवारमा विश्वसनीयता अभिवृद्घि गर्न कारोवार भुक्तानी सुनिश्चित कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) संचालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डमा पेश गर्न, क्लियरिङ बैंक थप गर्न, धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टी प्स २ भित्र नै पे–इन गर्न लगाउने, टी प्सल ३ भित्रमा खरिदकर्ताको खातामा धितोपत्र तथा बिक्रीकर्ताको खातामा रकम जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको छ । साथै, लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ लिमिटेडले परिपत्र गरी कडाइका साथ पालना गर्न गराउन सिडिएस एन्ड क्लियरिङ लाई निर्देशन दिएकोमा सोही अनुसारको व्यवस्था भएको छ ।
 
१२. विनियमावली स्वीकृति तथा आवश्यकता अनुरुप सुधार गर्न निर्देशन : नेप्सेबाट स्वीकृतिको लागि प्राप्त कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीे स्वीकृत भइसकेको तथा धितोपत्र कारोवार संचालन विनियमावलीे, अक्सन कारोवार कार्यविधि, धितोपत्र व्यापारी (डिलर) को लागि कारोवार कार्यविधि, ट्रेड ग्यारेन्टी फन्ड विनियमावलीमा आवश्यक सुधार गर्न निर्देशन दिइएको र प्राप्त विनियमावलीमध्ये एक सूचीकरण विनियमावलीमात्र बोर्डमा आवश्यक अध्ययन भै सुधारसहित स्वीकृत गर्ने प्रकृयामा रहेको छ ।
 
१३. धितोपत्र निष्कासनलाई सहजीकरण गर्न र संस्थागत सुशासन कायम गर्न धितोपत्र व्यवसायीलाई निर्देशन : बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई हितग्राही खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता नम्बर राख्ने व्यवस्था प्रणालीमा तत्काल मिलाउन, मर्चेन्ट बैंकरलाई अर्थतन्त्र र जनसंख्यालाई आधार मानि पर्याप्त मात्रामा संकलन केन्द्र राख्न तथा जेष्ठ नागरिक, महिला अपाङलाई ध्यानमा राखी संकलन केन्द्रमा उपयुक्त व्यवस्था मिलाउन, हकप्रद सेयरबापत प्राप्त हुने खण्डित सेयरलाई पूर्ण मानी सो व्यवस्था गर्न, मर्चेन्ट बैंकले नाफाको निश्चित प्रतिशत कर्मचारीको तालिम तथा विकासमा खर्च गर्न साथै सूचिकृत कम्पनीलाई गाभ्ने÷गाभिने कार्य सम्पन्न भई एकीकृत कारोबार सुरु भएसँगै सेयर कारोबार हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।
 
१४. प्राथमिक निष्कासनमा डिम्याट खाता अनिवार्य गरिएको : २०७३ साउन १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्कासनमा दरखास्त दिने दरखास्तवालाले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने तथा सोही खातामा बाँडफाँट भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
 
१५. सुपरिवेक्षणमा सुदृढीकरण गरी कारवाही गरिएको : बोर्डले सुपरिवेक्षण कार्यलाई सक्रिय तथा सुदृढ बनाउने क्रममा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम समयमै विवरण पेश नगर्ने ८ ब्रोकर तथा ४ मर्चेन्ट बैंकरलाई कारवाही गरेको छ । बोर्डको यो कदमबाट संस्थागत सुशासन, पारदर्शिता र अनुशासन पालनामा सुधार ल्याई पुँजी बजारको विकासमा थप टेवा पुग्ने देखिन्छ ।
 
१६. सम्बद्ध पक्षहरुसँग अन्तक्र्रिया तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रम आयोजना : बोर्डले पुँजी बजार विकासका लागि अपनाइने नीति तथा कार्यक्रमको सुझाव संकलन गर्न, आस्वा प्रणाली कार्यान्वयनको लागि आवश्यक सुझाव संकलन, वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न तथा सम्बन्धित क्षेत्रको सुझाव निर्देशिकामा समावेश गर्न वास्तविक क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा कम्पनीहरुसँग पहिलोपटक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै, देशको बिभिन्न क्षेत्रमा धितोपत्र सम्बन्धी तालिम एवं कार्यक्रम संचालन गरी धितोपत्र सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यलाई व्यापक बनाउने काम गरेको छ ।
 
१७. धितोपत्र बजारमा स्थायित्व कायम गर्ने उद्देश्यले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा दोस्रो बजारमा सहभागिता गराउने सन्दर्भमा प्राविधिक पक्षको अध्ययन कार्य सम्पन्न भई अध्ययनको सुझाव अनुसार बोर्डको नियमावलीमा आवश्यक सुधार कार्य अगाडि बढाइएको छ ।
 
१८. बोर्डले गैरआवसीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने सन्दर्भमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ ।
 
१९. बोर्डले नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरुको धितोपत्रको खरिदबिक्री ओटिसी बजारमा गर्न सकिने जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयमा दिनुका साथै बोर्डले नेप्सेलाई ओटिसी बजार व्यवस्थित गर्न निर्देशित गरे पश्चात आर्थिक वर्ष २०७२।७३ मा नेप्सेमा ओटिसी बजारमार्फत सेयर कारोबार सुरु भई ओटिसी बजारको कारोबार शुल्कसमेत ९० प्रतिशतसम्म कटौती गरिएको छ ।
 
२०. बोर्डको परिचय सहित पुँजी बजार सम्बन्धी बुकलेट प्रकाशित : बोर्डको कार्य क्षेत्र, संगठनात्मक स्वरुप, धितोपत्रका विभिन्न आयामलगायतका बारेमा संक्षेपमा जानकारी गराउने उद्देश्यले बोर्डले “नेपाल धितोपत्र बोर्ड एक परिचय” नामक पुस्तिका प्रकाशन गरेको छ ।
 
२१. नयाँ क्रेडिट रेटिङ एजेन्जीलाई स्वीकृति प्रदान : हाल एक मात्र क्रेडिट रेटिङ संस्था रहेको पृष्ठभूमिमा क्रेडिट रेटिङ व्यवसायको प्रतिस्पर्धा बढाई रेटिङ कार्यको स्तरोन्नति गर्न, रेटिङ व्यवसायमा व्यवसायिकता बढाउन, रेटिङ शुल्क प्रतिस्पर्धी बनाई समग्र पुँजी बजारलाई लाभान्वित गराउन बोर्डले नयाँ क्रेडिट रेटिङ एजेन्जीलाई स्वीकृति प्रदान गरेको छ ।
 
२२. तेस्रो व्यक्तिको प्रयोगलाई निरुत्साहित गरी वास्तविक लगानीकर्ताले बजारबाट फाइदा लिन सकून भन्ने उद्देश्यले दरखास्तवालाले एकाघर परिवारबाहेक एक भन्दा बढी दरखास्त फाराम समावेश गरी आवेदन दिएको अवस्थामा प्रत्येक दरखास्तावालाले आफ्नै एकाउन्ट पेई चेकमार्फत रकम जम्मा गरेको हुनुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
 
२३. सूचीकृत संगठित संस्थाले आफ्नो मूल्य संवेदनशील सूचनाहरु नेप्सेलाई तत्काल उपलब्ध गराउनुपर्ने र त्यसरी प्रवाह हुने सूचना प्रमाणित गरी एउटै स्टान्डर्ड फरम्याटमा लगानीकर्ताले सहज रुपमा हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । 
 
२४. धितोपत्र व्यवसायीको सेवा सुदृढ गर्न तथा कार्य क्षेत्र विस्तारका लागि बोर्डको समन्वयमा मर्चेन्ट बैंकरलाई मलेसिया र धितोपत्र व्यवसायलाई भारत र बंगलादेशको पुँजी बजारको अध्ययन भ्रमण गराइएको छ ।
 
२५. बजार सुधारका लागि विभिन्न निर्देशन :
 
मुल्य सीमा परिवर्तन नहुने गरी १० कित्तासम्म (अड लट) कारोबार धितोपत्रको नियमित कारोबारमा हुने व्यवस्था मिलाउन ।
 
–नेप्से तथा सीडीएससीलाई सीडीएससीको अटोमेटेड सिस्टमको सिस्टम अडिट सुरु गर्न ।
ड्ड सम्पूर्ण धितोपत्र व्यवसायीलाई उनीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिई बडापत्रको व्यवस्था गर्न ।
 
महिला, अपांङ, केटाकेटीसहितका साना लगानीकर्तालाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ फ्लोरमा थप ट्रेडिङ विन्डो उपलव्ध गराउने व्यवस्था गर्न ।
 
लगानीकर्ताको हित, पुँजी बजारको विकास, धितोपत्र व्यवसायी सेवाको गुणस्तर सुधार गर्न उल्लेखित कार्यहरुसहित अन्य सुधार सम्बन्धी विभिन्न कार्य भइरहेको छ ।

Post Your Comment