Market Closed

अर्थ समितिका सभापतिले भने–पुँजी बजार सरकारको प्राथमिकतामा परेन

06 Jan,2017
  • prakash_1_6_2017_9_58_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी बजारलाई उच्च प्राथमिकतामा राखेर अघि नबढेसम्म समग्र अर्थतन्त्रको विकास नहुने बताएका छन् । पुँजी बजारलाई सरकारले पनि प्राथमिकतामा पारेको छैन । नीतिनिर्माण तहमा बस्नेहरूले पनि पुँजी बजारको विस्तृत पक्षका बारेमा बुझेका छैनन् । नीतिनिर्मार्ताले नै नबुझेपछि बजारको अपेक्षा अनुसार विकास हुन नसकेको उनको भनाई छ । 
 
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २२ औं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा शुक्रबार सभापति ज्वालाले पुँजी बजारसँग प्रत्यक्ष सरोकार राख्ने अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र ब्रोकरहरूबीच सर्वपक्षीय छलफल गरेर बजार सुधारका काम तत्काल गर्नुपर्ने बताए । ‘अर्थ समितिको सभापतिको हैसियतले त्यसको संयोजन गर्न म तयार छु, हामी सबै बसेर निचोड निकालौं अनि बजारको विकासका नीतिगत र कानुनी प्रक्रिया अघि बढाऔं,’ उनले भने । 
 
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजी बजारको दिगो विकासका लागि अनगिन्ती काम भइरहेको बताए । पुँजी बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनी भित्र्याउन बाटो खुला भएको छ । ‘नाफा कमाएका आकर्षक कम्पनीहरू अब फ्रि प्राइसमा पुँजी बजारमा आउन पाउने भएका छन्, यो नै पुँजी बजारको २३ वर्षे इतिहासको सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने ।
 
 बजार विकासका लागि आवश्यक ऐनकानुन परिमार्जनको काम भइरहेको छ । पुँजी बजारको दिगो विकासका लागि धितोपत्र बोर्डले वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा अघि सारेको उनले बताए । वित्तीय साक्षरता कार्यक्रम देशव्यापी बनाउनेक्रममा धितोपत्र बोर्डले कर्णाली अञ्चलमा पुगेरसमेत कार्यक्रम गरिसकेको छ । 
 
धितोपत्र बोर्डका पूर्वअध्यक्ष शूरवीर पौड्यालले नेपाल स्टक एक्सचेन्जलाई निजीकरण गर्ने वा रणनीतिक साझेदार भित्र्याएर सक्षम बनाउनुपर्ने बताए । सरकारी स्वामित्वको स्टक एक्सचेन्जले अबको समयमा चल्दैन, यसलाई निजीकरण गर्न वा रणनीतिक साझेदार भित्र्याएर सक्षम बनाउन आवश्यक छ,’ उनले भने । 
 
प्रा.डा. पुष्कर बज्राचार्यले पुँजी बजारका समग्र पक्षका बारेमा कार्यपत्र प्रस्तुत गर्दै नियमन दरो बनाएर बजारका अत्यावश्यक पूर्वाधार विस्तार गरेर अघि बढ्नुपर्ने बताए । पुँजी बजारको आकार बढेको अनि दैनिक कारोबार भोल्यूम पनि निकै माथि लागेको अवस्थामा ब्रोकरको पँुँजी पनि बढाउन आवश्यक भएको बताए । 
 
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले पुँजी बजारको दिगो विकासका लागि संरचनागत र प्राविधिक पक्षमा आमूल सुधार गर्नुपर्ने बताए । पुँजी बजार राज्यको प्राथमिकतामा पर्न सकेको छैन । ब्रोकरलाई तत्काल शाखा खोली काम गर्नु दिनुपर्ने उनको माग थियो । ब्रोकरले मार्जिन कारोबार, लगानी व्यवस्थापनसहितका काम गर्न पाउनुपर्ने उनको माग थियो । २२ औं वार्षिक साधारण सभाले संघको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । 

Post Your Comment