नेपालको पानी अब यसरी गर्न सक्छन् जनताले लगानी

09 Jan,2017
  • Untitled_1_9_2017_5_10_32.jpg
नेपाली पैसा 
 
काठमाडौं :  सरकारले जलविद्युतमा स्वदेशी लगानी आकर्षित गर्ने अवधारणा अघिसारेको छ । यसअन्तर्गत ऊर्जामन्त्री जनार्दन शर्माले सोमबार ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममार्फत प्रतिबद्धतापत्र घोषणा गरेका छन् । नेपालको जलविद्युत् क्षेत्रमा सर्वसाधारण जनताको लगानी परिचालन गरी परियोजना विकास गर्ने उदेश्यले यो प्रतिबद्धता घोसणा गरिएको हो । मन्त्रालयले राष्ट्र सेवक कर्मचारीदेखि सर्वसाधारण जनता र विदेशमा बस्ने नेपालीसमेत प्रत्यक्षरुपमा सहभागी हुन पाउने रणनीति यसमा अघि सारिएको छ । यही योजना अनुसार मन्त्रालयले सर्वसाधारणसँग लगानी प्रतिबद्धता माग गरेको हो । यस योजनामा अनलाइनबाटै लगानीकर्ताले आफ्नो लगानीसम्बन्धी प्रतिबद्धता फारम भर्न सकिनेछ ।  

यसका लागि उर्जा मन्त्रालयको वेबसाइट  http://www.moenonline.moen.gov.np/login मा  गएर आवश्यक विवरण भर्न सकिने छ । यो वेबसाइटमा जोसुकै नेपाली नागरिकले आफूले कति लगानी गर्ने हो त्यसबारेमा प्रतिबद्धता जाहेर गर्न सक्नेछन् । सबै विवरण भरी प्रतिबद्धता जाहेर गरिसकेपछि सरकारले तपाइँलाई आफै फोन गर्नेछ । सर्वसाधारणको लगानीबाट अपर अरुण, दुधकोशी र तमोर, सुनकोशी ३ र लाङटाङ तथा पश्चिमका नलसिङगाड, उत्तरगंगा, नैमुरे र तिला १ जस्ता आयोजना अघि बढाउने मन्त्रालयको योजना छ । उज्यालो नेपाल अभियानअन्तर्गत सरकारले यस्तो अवधारणा अघि सारेको हो ।