Market Closed

नेपाल लाइफको एफपीओमा कति गुणा बढी आवेदन ? यस्तो भन्छन् बजारका हस्ती

09 Jan,2017
  • nepal_life_1_9_2017_6_34_33.png
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफको एफपीओ यतिबेला चर्चाको शिखरमा छ । वित्तीय रूपमा निकै सबल यो कम्पनीको एफपीओमा लगानी गर्न सर्वसाधारण आतुर रहेको पनि देखिन्छ । पुस २७ देखि एफपीओ बिक्री खुला हुँदैछ । एक जनाले न्यूनतम १० र अधिकतम ३० हजार ९६० कित्तासम्म आवेदन दिन पाइनेछ । अहिले बजारमा तरलता अभावको हल्ला आइरहेको छ । सेयर बजार घट्दोक्रममा छ । बजार तल झरिरहँदा नेपाल लाइफको पनि भाउ घटेर यतिबेला तीन हजारभन्दा तल कारोबार भइरहेको छ । तर कम्पनीको समग्र अवस्था हेर्दा भने निकै मजुबत अनि आकर्षक देखिन्छ । 
 
प्रिमियममा प्रतिकित्ता १४ सय २५ रूपैयाँ भाउ राखिएको यो एफपीओमा कति गुणा बढीसम्म आवेदन पर्ला भनेर यतिबेला सर्वसाधारण लगानीकर्ता निकै उत्सुक अनि कौतुहल भइरहेका छन् । बजारमा तरलता साँच्चिकै अभाव हो वा होइन भनेर जाँच्नसमेत यो एफपीओले सहयोग गर्ने देखिन्छ । किन भने बजारबाट कति  अर्ब पैसा यसमा लगानी हुन्छ । त्यस आधारमा वास्तविकता अनुमान गर्न धेरै हदसम्म सहयोग मिल्न सक्छ । यही सेरोफेरोमा रहेर हामीले केही लगानीकर्ता तथा बजारलाई नजिकबाट नियालिरहेकाहरूसँग नेपाल लाइफको एफपीओमा कति गुणासम्म बढी आवेदन पर्ला भनेर सोधेका छौं । हेरौं उनीहरूको भनाई ।   

१० देखि १२ गुणासम्म पर्न सक्छ

छोटेलाल रौनियार
लगानीकर्ता एवं विश्लेषक
 
नेपाल लाइफको एफपीओमा १० देखि १२ गुणासम्म बढी आवेदन पर्न सक्ने देखिन्छ । यसआधारमा अब दुई महिनाभन्दा बढी अवधिसम्म ४५ अर्बदेखि ५० अर्ब हाराहारी पैसा फ्रिज हुने अवस्था छ । सेयर पर्नेले भने राम्रो लाभ लिन सक्छन् । कम्पनीको वित्तीय अवस्था निकै सबल भएकाले अहिले बजारमा कायम भाउभन्दा त्यति धेरै तल आउला जस्तो लाग्दैन । तर भोलुम ठूलो छ । बजारमा पैसा पनि अलि अभाव भएजस्तो देखिएको छ । यस कारण १० देखि १२ गुणा हाराहारीमा बढी आवेदन पर्ने अनुमान गर्न सकिन्छ । 

१० गुणा हाराहारीमा आवेदन पर्ने देखिन्छ 
 
अन्जनराज पौड्याल 
पूर्वअध्यक्ष
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल 
 
नेपाल लाइफ एफपीओको भोलुम निकै ठूलो छ । तर पछिल्लो समय एफपीओ र आइपीओमा आकर्षण निकै बढेको छ । समता माइक्रोफाइनान्सले पनि यो फेरि प्रमाणित गरेको छ । यस आधारमा नेपाल लाइफको एफपीओमा १० गुणा हाराहारीमा आवेदन पर्न सक्ने देखिन्छ । अहिले बजारमा तरलता अभाव छ । सेयर बजार पनि घट्दोक्रममा छ । यसले गर्दा कतिपय लगानीकर्ता सशंकित भएको अवस्था छ । यी पक्षहरूका बाबजुत १० गुणा चाहिँ पर्छ नै जस्तो लाग्छ । 

 
१० गुणा बढी पर्छ
 
बच्चुराम रिमाल
महासचिव
नेपाल इन्भेस्टर्स फोरम 
 
अहिलेको समग्र पक्ष विचार गर्दा नेपाल लाइफको एफपीओमा १० गुणाभन्दा बढीको आवेदन पर्छ जस्तो लाग्छ । कम्पनी राम्रो छ । आधारभूत सबै वित्तीय सूचक मजबुत छन् । बजारमा तरलता अभावको हल्ला पिटाइए पनि वास्तविकरूपा त्यस्तो देखिंदैन । जति तरलता अभाव भने पनि प्राय सबै बैंक तथा वित्तीय संस्था यो एफपीओका लागि पैसा दिन तयार देखिएका छन् । रिपो बिक्री नभएकाले बैंकहरूले मिलेमतोमा ब्याजदर बढाएका हुन जस्तो देखिएको छ । यस आधारमा यो एफपीओमा राम्रै पैसा लगानी हुनेछ । 

१० देखि १२ गुणासम्म पर्छ 
 
दिलिप मुनंकर्मी 
लगानीकर्ता एवं विश्लेषक 
 
बजारको समग्र पक्ष अध्ययन गर्दा नेपाल लाइफको एफपीओमा १० देखि १२ गुणा बढीसम्म आवेदन पर्ने देखिन्छ । यसभन्दा बढी चाहिँ पैसा आउला जस्तो लाग्दैन । किन भने विगतमा चार हजारभन्दा माथि पुगेको यो कम्पनीको भाउ अहिले तीन हजार रूपैयाँभन्दा तल झरेको छ । सेयर बजार पनि घट्दोक्रममा छ । थुप्रै कम्पनीको हकप्रद खुलेको छ । हकप्रदमा खर्च नगरी प्रिमियममा एफपीओ किन्ने अवस्था हुँदैन । अर्कोतिर बजारमा तरलता केही अभाव भएको अवस्था छ । पुस मसान्तमा बैंकको साँवाब्याज भुक्तानी अनि कर तिर्नुपर्ने हुन्छ । यी सबै पक्ष मनन् गर्दा नेपाल लाइफको एफपीओमा १० देखि १२ गुणाभित्रमा आवेदन पर्न सक्छ । 

Post Your Comment