बाफिया भयो पारित, १० वर्ष पूरा भएका बैंकको संस्थापक सेयर साधारणमा परिवर्तन गर्न पाइने

10 Jan,2017
  • bicc_1_10_2017_3_57_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : बहुचर्चित बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७३ (बाफिया) संसदले पारित गरेको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले कानुनको मान्यता पाउनेछ । व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकले बाफिया पारित गरेको हो  ।  अर्थमन्त्री कृष्णबहादुर महराले यो विधेयक पारित गर्ने प्रस्ताव संसदमा  पेस गरेका थिए ।  

विधेयक पारित गर्नुअघि बाफियामा भएका विभिन्न प्रावधानहरूका बारेमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गरी गतिलो बैंकिङ प्रणालीको विकास गर्न बाफियामा महत्वपूर्ण प्रावधानहरू राखिएको जानकारी गराएका थिए ।  बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विधेयकको प्रमुख लक्ष्य रहेको उनले जानकारी दिए । बैंकिङ प्रणालीमा उत्पन्न जोखिम न्यूनीकरण गर्न बाफिया महत्वपूर्ण कदम साबित हुने उनको भनाई छ ।

विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको प्रस्ट व्यवस्था गरिएको छ । यो विधेयक एकपटक अर्थ समितिबाट पारित भएपछि विवादित बनेपछि फेरि यसअघिका अर्थमन्त्रीले समितिमै फिर्ता पठाएका थिए । विवादित विषय संबोधन गरी समितिले फेरि संसदमा पठाएको हो । यसअघि बैंक सञ्चालकसमेत रहेका केही सभासद्ले आफ्नो अनूकुल हुने गरी बाफियामा विभिन्न व्यवस्था गरेको आरोप लागेको थियो । बाफिया कार्यान्वयनमा आएपछि संस्थापक सेयर १० वर्षपछि साधारण सरह बिक्री गर्न पाइनेछ ।