Market Closed

आस्वा अहिलेलाई ऐच्छिक, फागुनदेखि ग वर्गका वित्त कम्पनी सहभागी हुन पाउने

11 Jan,2017
  • asba_1_11_2017_5_22_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : धितोपत्र बोर्डले तत्कालका लागि आस्वा ऐच्छिकरूपमा मात्र लागू हुने भएकाले आइपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीले तोकेका जुनसुकै संकलन केन्द्रबाट पनि आवेदन दिन सक्ने बताएको छ । अब आस्वा अनिवार्य नगरेसम्म राष्ट्र बैंकले मान्यता दिएका कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता हुनेले पनि सेयर आवेदन दिन सक्नेछन् । 
 
अझ सजिलोसँग भन्नुपर्दा आस्वा लागू हुनुभन्दा अघिसम्म जुन प्रक्रियाबाट सेयर आवेदन दिन पाइन्छ, त्यही पद्धति कार्यान्वयन हुनेछ । जब धितोपत्र बोर्डले आस्वा अनिवार्य गर्नेछ त्यसपछि चाहिँ आस्वा प्रणालीमा सहभागी भएका बैंकमा अनिवार्य खाता चाहिनेछ र ती बैंकबाटमात्र सेयर आवेदन दिन पाइनेछ ।  
 
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले माघ १ देखि आस्वा ऐच्छिकरूपमा मात्र लागू हुने भएकाले सेयर आवेदन दिंदा हाल प्रचलनमा रहेको विधि पनि यथावत् रहने बताए । ‘आस्वा र अहिले चलेको प्रक्रिया दुवै सँगै अघि बढ्नेछ । निश्चित समयपछि मात्र बोर्डले आस्वा अनिवार्य गर्नेछ,’ उनले भने । 
 
धितोपत्र बोर्डले माघ १ देखि आस्वा लागू गर्दैछ । यसैगरी, धितोपत्र बोर्डले आगामी फागुनदेखि ग वर्गका वित्त कम्पनीलाई पनि आस्वा प्रणालीमा सहभागी हुन दिने भएको छ । नेपाल वित्तीय संस्थाको आग्रहमा फागुनदेखि ग वर्गका कम्पनीलाई पनि यो सेवामा सहभागी हुन दिन लागिएको बोर्डले जनाएको छ । 

Post Your Comment