Market Closed

धैर्य गर्ने लगानीकर्ताले नै फेरि बाजी मार्नेछन्

08 Oct,2017
  • mundara_10_8_2017_5_54_22.jpg
नन्दकिशोर मुन्दडा
 
 काठमाडौं : दसैंपछि बजार बढ्छ भनेर आशावादी बनेका लगानीकर्तालाई अहिले झट्का लागेको छ । बजार एकाएक तल झरिरहेको छ । बाम एकताका कारण लगानीकर्ता तर्सिएका विश्लेषण गरिंदैछ । सेयर बजार जहिले पनि मनोविज्ञानमा चल्छ । लगानीकर्ताको आत्मबल नै बजारको सबैभन्दा प्रभावशाली हतियार हो । लगानीकर्ताको दिगाममा अब बजार बढ्छ भन्ने लाग्यो भने ह्वात्तै माथि पनि गइहाल्छ अनि घट्छ भन्ने मनोविज्ञान हावी भयो भने भाउ जति घटाएर पनि बिक्री गर्ने प्रवृत्ति हावी हुन्छ । हो, अहिले त्यही भएको छ । बाम एकतापछि अब के हुने हो भन्ने धेरैमा त्रास देखिएको छ । कस्तो आर्थिक र राजनीतिक नीति अख्तियार हुने हो भन्ने त्रास पनि लगानीकर्तामा पैदा भएको देखिन्छ । लगानीकर्तामा नकारात्मक मनोविज्ञान हावी भएको छ । तर मेरो विचारमा लगानीकर्ता तर्सिनुपर्ने कुनै पनि कारण छैन । अहिले एकता भएका सबै बाम घटकहरु पटकपटक परीक्षण भइसकेका छन् । सबै दलले बारम्बार सरकारको नेतृत्व गरिसकेका छन् । अहिलेको तालमेल चुनाव जित्नका लागि हो जस्तो मलाई लाग्छ । त्यही भएर लगानीकर्ताले यस्तो बेला होश पुर्याउन जरुरी छ । आत्तिएर सस्तो भाउमा सेयर बेच्दा घाटा हुन सक्छ । बाम एकताको हाउगुजी देखाएर बजार घटिरहेको छ । लामो समयसम्म बजार तल झर्नुपर्ने कुनै पनि कारण छैन । सेयर बजार तल झर्नुमा अर्को कारण अधिक आपूर्ति हो ।

अत्याधिक मात्रामा आएको हकप्रद र बोनस सेयरका कारण लगानीकर्तासँग सेयर संख्या निकै बढेको छ । तर यसलाई थेग्ने नयाँ लगानीकर्ता आएका छैनन् । अहिले पनि बैंक ब्याजदर घटेको छैन । वाणिज्य बैंकहरुले नै सेयर कर्जामा १२–१३% ब्याजदर लिइरहेका छन् । यो तुलनात्मकरुपमा महँगो हो । बजार तल झर्नुको सबैभन्दा महत्वपूर्ण पक्ष आगामी वर्षहरुका लागि ‘फन्डा’ कम हुँदै गएका छन् । विगत २४ वर्षको इतिहास हेर्ने हो भने हाम्रो बजार हल्लाकै पछि दौडिरहेको छ । फलानो कम्पनीको यति बोनस र हकप्रद आउँछ भनेकै भरमा बजार चलिरहेको छ । लगानीकर्ता त्यसैको पछि दौडिरहेका छन् । विगतमा हकप्रद र बोनस पाइन्छ भनेर लगानीकर्ता हौसिएका थिए । अब के भन्ने ? यसकारण पनि कतिपय लगानीकर्ता बिच्किएका हुन सक्छन् । तर कम्पनीको आधारभूत पक्ष अध्ययन गरेर लगानी गर्नेका लागि केही पनि फरक पर्दैन । कम्पनीको समग्र वित्तीय अवस्था, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपातसहितका सूचक अध्ययन गरेर सस्तो भाउमा सेयर किन्दा कहिल्यै पनि नोक्सान हुँदैन । दिगो लगानीकर्ताले जहिले पनि बजारबाट जितिरहेकै हुन्छन् । क्षमता अनुसार त कम्पनीहरुले प्रत्येक वर्ष बोनस र नगद लाभांश दिइरहेकै हुन्छन् । बजारलाई यतिबेला लिलामी सेयरले पनि असर गरेको छ । हकप्रद नबिकेपछि भारीमात्रामा लिलामी बजारमा आएको छ ।

तुलनात्मकरुपमा सस्तो भाउमा लिलामी किन्न पाइने आशाामा लगानीकर्ता त्यतातिर झुम्मिएको अवस्था छ । अनि, फेरि सस्तोमा लिलामी किनेपछि केही प्रतिशत हिस्सा बिक्री गर्ने प्रवृत्ति हुन्छ । यसले पनि एकहदसम्म आपूर्ति बढाइदिएको देखिन्छ । हामीकहाँ बजारमा संस्थागत संयन्त्रको अभाव खड्कियो । म्युचुअल फन्ड कम्पनीहरुको भूमिका देखिएन । बजार घटेका बेला सेयर किनेर उनीहरुले सहयोग पुर्याउनुपर्ने हो । तर यहाँ त्यस्तो हुन सकेन । म्युचुअल फन्डहरुले बजार बढ्दा अझै माथि पुर्याउने अनि घट्दा थप तल जान सहयोग गर्ने जस्तो देखियो । यसर्थ, संस्थागत लगानीकर्ता भित्र्याउन आवश्यक छ । गैरआवासीय नेपालीलाई सेयर किन्न सक्ने व्यवस्था भएमा बजारमा सकारात्मक प्रभाव पर्न सक्छ । बजारमा घटबढका यस्ता समय आइरहन्छन् । मुख्य पक्ष, लगानीकर्ताको सुझबुझ र धैर्यता नै प्रमुख हुन्छ । बजार घटेका बेला आत्तिएर सेयर बिक्री गर्नु हुँदैन । किन्दा पनि आफूसँग भएको सबै पैसा एकैसाथ लगानी गर्नु हुँदैन । राजनीतिक प्रभाव अल्पकालीनमात्र हो । मुलुकमा दुई प्रमुख घटकमात्र भयो भने झनै राम्रो हुन्छ । राजनीतिक स्थिरता कायम हुने सम्भावना बढ्छ । विकासले गति लिन सक्छ । त्यही भएर दीर्घकालीनरुपमा हाम्रो पुँजी बजारको भविष्य राम्रो छ । अहिलेको बजार घटाई अल्पकालीन हो । बजार धेरै तल जाँदैन । 
 
(स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष मुन्दडासँग नेपाली पैसाले गरेको कुराकानीमा आधारित ।) 
 
 
 

Post Your Comment