Market Closed

बैंकलाई ब्रोकर लाइसेन्स दिन समस्या हुँदैन

11 Oct,2017
  • chandra_10_11_2017_4_32_13.jpg
चन्द्रसिंह साउद
 
काठमाडौं : एसएसली पास गरेर २०४४ सालमा बैतडीबाट राजधानी छिरेका चन्द्रसिंह साउदले सुरुमा अध्यापन पेशा रोजे । ७ वर्ष निजी विद्यालयमा पढाएका उनले नेपाल कर्मश क्याम्पसबाट स्नातकोत्तर पास गरेपछि २०५१ सालमा नेपाल इन्सुरेन्समा छैठौ तहबाट जागिरमा इन्ट्री गरे । त्यसपछि क्रमशः सोही कम्पनीमा  सिनियर म्यानेजरसम्म भए । विराटनगरमा नेपाल इन्सुरेन्समै ब्रान्च म्यानेजरको रुपमा ५ वर्ष काम गरे । फेरि, दशौं तहमा बढुवा भएपछि काठमाडौं फर्किए । जागिरकै दौरानमा नेपाल इन्सुरेन्समै कायम मुकायम महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्मको छलाङ मारे । नेपाल इन्सुरेन्समा रहँदा विवादित भएको विषयलाई उनले नितान्त भ्रम फैलाउने काम मात्र भएको दाबी गरेका छन् । साउद चार्टर्ड क्यापिटल एन्ड इन्भेष्टमेन्टका अध्यक्ष पनि हुन् । यद्यपि, उनको शिक्षण पेशा अहिले पनि नितरन्तर चलिरहेको छ । हालै मात्र ४ वर्षका लागि नेप्सेको सीइओमा नियुक्त भएका उनै साउदसँग पुँजी बजारका समसामयिक विषय अनलाइन ट्रेडिङ, बैंकलाई ब्रोकर लाइसेन्स, एनआरएन लगानी, मार्केट मेकर, डिलरसिपलगायत समग्र बजार विकासका भावी योजना र रणनीतिका बारेमा प्रस्तुत छ नेपाली पैसाका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको प्रमुख अंशः
 
नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएको छ । पत्र पनि बुझ्नुभयो । नियुक्तिको पत्र बुझ्दै गर्दा तपाइले के सोच्नु भयो ?
 
सीइओमा नियुक्त भएको पत्र बुझ्दै गर्दा मैले पत्रसँगै जिम्मेवारी आफ्नो हातमा लिंदैछु भन्ने अनुभव गरें । मेरो बारेमा बिमा क्षेत्रमा फैलाइएका अफवाहहरुलाई पनि सम्झें । म कहिल्यै गलत थिइन भनेर प्रमाणित गर्ने अवसरको रुपमा पनि यसलाई लिएको छु ।
 
नेप्से प्रमुखको जिम्मेवारीसँगै लगानीकर्ताले चाहेको अनलाइन ट्रेडिङ चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउनुपर्ने चुनौती तपाईं सामु छ । यसका लागि कसरी अगाडि बढ्नुहुन्छ ?
 
यसअघि कात्तिक २१ गतेदेखि (मिति नै तोकेर) अनलाइन ट्रेडिङ सञ्चालनमा ल्याउने भन्ने मैले समाचारमा पढेको हुँ । यसर्थ मेरो पनि पहिलो प्राथमिकता पनि यसैमा हुनेछ । अनलाइन प्रणाली जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन पहल हुनेमा लगानीकर्तालाई म आश्वस्त बनाउन चाहन्छु । तर अनलाइन ट्रेडिङको विषयमा मैले पनि अध्ययन गर्नुपर्ने भएकाले यही वा त्यही दिन सञ्चालनमा ल्याउँछु भनेर म अहिले नै मिति तोक्न सक्ने अवस्था छैन । यसमा निकै अध्ययन गर्नैपर्छ । पुँजी बजारमा बढी भन्दा बढी लगानीकर्तालाई आश्वस्त बनाउने काम मेरो हुनेछ ।
 
पुँजी बजारका लगानीकर्तालाई आश्वस्त बनाउने काम हुनेछ भन्नुभयो । त्यस्तो के काम गर्नुहुन्छ जसका कारण लगानीकर्ताको विश्वास तपाइले जित्न सक्नुहुनेछ ?
 
मेरा केही प्रमुख योजनाहरु छन् । एनआरएन लगानी भित्र्याउने वर्षौ देखिको कुरा हो । यसमा म प्रभावकारी हिसाबले काम गर्नेछु । अनलाइन ट्रेडिङको व्यवस्था हुन सक्यो भने लगानीकर्ताको संख्यामा वृद्धि हुनेछ । यसले बजार बढाउन पनि मद्दत गर्छ । अनलाइन ट्रेडिङ आएपछि घरमै बसेर सेयर किनबेच गर्न सकिन्छ । अनलाइन प्रणाली कार्यान्वयनका लागि लगानीकर्ता संघ, ब्रोकर कम्पनीलगायतका सरोकारवाला निकायसँग पनि हामी छलफल अघि बढाउनेछौं । नेपाल सरकार, धितोपत्र बोर्डसँग समन्वय गरेर काम गर्नेछौं । अहिले मुलुक संघीय संरचनामा गइसकेको छ । सरकारले अब हरेक स्थानीय तहमा बैंकका शाखा पुर्याउने भनेको छ । ती बैंकका शाखसँग समन्वय गरेर हाम्रो पुँजी बजार कम्तीमा पनि हरेक गाउँपालिकामा पुर्याउन सकियोस् भनेर मैले सोचिरहेको छु, त्यही हिसाबले काम गर्छु । तर, यी सबै आजको भोली हुने काम होइन, केही समय भने लाग्छ । अझै पनि धेरैलाई पुँजी बजार के हो भनेर आधारभूत जानकारीसम्म पनि छैन । पुँजीबजारबारे जानकारी दिन जनचेतना फैलाउने काम धितोपत्र बोर्ड र नेप्से मिलेर अघि बढाउनेछौं । 
 
धितोपत्र बोर्डसँग मिलेर पुँजी बजारलाई अगाडि बढाउन पहल गर्ने भन्नु भयो । विगतका दिनमा देखिएको बोर्ड र नेप्सेको आपसी मनमुटावलाई कसरी न्यूनीकरण गर्नु हुन्छ ?
 
हेर्नुस्, धितोपत्र बोर्ड पुँजी बजारको नियमनकारी निकाय हो । बोर्ड हाम्रो अविभावक पनि हो । अविभावकले भनेको नमानेर आफ्नै पाराले अघि बढ्न खोज्यौं भने हामी सफल हुन सक्दैनौं । बोर्डको नीति निर्देशन नेप्सेले मान्छ । विगतमा के थियो मलाई थाहा छैन । अब मेरो पालामा चाहिँ धितोपत्र बोर्डलाई अटेर गर्ने काम हुँदैन । समन्वयकारी भूमिका निर्वाह गर्दै अघि बढ्छौं ।
 
तपाइले हरेक स्थानीय तहमा पुगेका बैंकसँग मिलेर पुँजी बजारलाई देशभर विस्तार गर्ने बताइरहँदा बैंकलाई ब्रोकर लाइसेन्स दिने काम अघि बढाउने भन्न खोज्नु भएको हो ?
 
मैले अहिल्यै ठ्याक्कै त्यसो भन्न त मिलेन । भोलीको दिनमा हरेक गाउँपालिकामा सेयर कारोबार गर्न के गर्दा राम्रो हुन्छ हामी सबैसँग छलफल गर्छौ । स्टक ब्रोकर नै बैंकमार्फत जान्छन की, बैंकलाई नै स्टक ब्रोकरको लाइसेन्स दिने हो कि भनेर म विस्तृत अध्ययन गर्नेछु । डिलर, मार्केट मेकरलगायतका काम अघि बढाउन पनि म होमवर्क गर्छु, विज्ञसँग सरसल्लाह लिएर मात्र मैले भन्न सक्ने अवस्था रहन्छ । हामी ब्रोकरको संख्या र लगानीकर्ताको संख्यालाई घट्न दिँदैनौं । यदि लगानीकर्तालाई राम्रो हुन्छ भने बैंकलाई ब्रोकर लाइसेन्स दिन कुनै पनि आपत्ति हुदैन जस्तो लाग्छ । 
 
तपाइको ४ वर्षे कार्यकालमा पुँजी बजार विकासका लागि थप के गर्ने योजना छ ?
 
पहिलो १ वर्षसम्म अनलाइन ट्रेडिङ, एनआरएनलाई पुँजी बजारमा भित्र्याउने जस्ता पुरानै कार्यक्रमले निरन्तरता पाउनेछ । तर, एनआरएनको लगानी भित्र्याउने सवालमा भने १ वर्षमा हुन पनि सक्छ नहुन पनि सक्छ, किनभने लगानी फिर्ता लैजान कानुनी समस्या छ । यो समस्या कानुनी रुपमै सम्बोधन भएको अवस्थामा मात्र सहज हुन्छ । सहरी क्षेत्रमा मात्र सीमित सेयर कारोबारलाई गाउँगाउँसम्म विस्तार गर्ने काम पनि १ वर्षभित्र गर्ने लक्ष्य लिएको छु । त्यसपछिका वर्षमा मार्केट मेकर, डिलरसिपलगायतका बजार सुधारका काम गर्न अध्ययन गरेर नयाँ निर्णय गर्नेछौं । नेपालमा सूचीकृत कम्पनीको कारोबार पर्याप्त भएको देखिन्छ । सूचीकृत नभएका वा डिलेस्टेड भएका कम्पनीको सेयर कारोबार ओटीसीबाट हुनुपर्ने हो तर यो चाहिँ मैले त्यति धेरै कारोबार भएको देखेको छैन । यसमा पनि म अध्ययन गर्छु । किन भइरहेको छैन अब कारोबार हुने बनाउन के गर्न सकिन्छ त्यसमा काम गर्नेछु । 
 
नेप्सेलाई निजीकरण गर्ने कुरा पनि उठिरहेको छ, नयाँ स्टक एक्सचेन्ज ल्याउने मुद्दा पनि अघि आएको छ । यसमा तपाईको धारणा के छ ?
 
नेप्सेको प्राइभेटाइजेसनको टेक्निकल कुरा के हो भनेर मैले भित्रीरुपमा बुझिसकेको छैन । नेप्सेमा नेपाल राष्ट्र बैंक, एनआइडीसीलगायतको लगानी छ । राष्ट्र बैंकले आफ्नो स्वामित्वको सेयर बेच्ने भनेको हो । उसले सेयर बेच्छ भने त्यो उसको अधिकारको विषय हो । निश्चित प्रतिशत प्राइभेट क्षेत्रको सेयर हुँदा संस्था सफल भएको उदाहरण बजारमा प्रशस्त छन् । नेप्से पनि प्राइभेटाइजेसन हुँदा कुनै समस्या रहन्न जस्तो लाग्छ । अर्को कुरा, नयाँ स्टक एक्सचेन्जको जसमा नेपाल सरकार, अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज दिन्छौं भन्यो भने नेप्सेले बोल्नुपर्ने अवस्था केही छ जस्तो लाग्दैन । मेरो काम भनेको नेपाल स्टक एक्सचेन्जलाई कसरी बलियो बनाउने भन्नेमै केन्द्रित रहन्छ । ४–५ स्टक एक्सचेन्ज थपिंदा पनि प्रतिस्पर्धामा अगाडि बढ्न सकिने गरी काम गर्ने जिम्मेवारी मेरो हो । 
 
हाम्रो सेयर बजार अझै परिपक्क भइसकेको छैन । केही समूहले चाहे भने अहिले पनि कृतिमरुपमा बजार घटाउन वा बढाउन सक्छन् भन्ने सुनिन्छ, यसलाई सुधार गरी विश्वसनीय बनाउन तपाइको पहल के हुनेछ ?
 
हो मैले पनि यो सुनेको छु । हल्लाको भरमा बजार बढाउने र घटाउने खेल हुन्छ भन्ने, तर यो कतिको साँचो हो त्यो चाहिँ म अहिले त्यतिकै भन्न सक्ने अवस्थामा छैन । यसका लागि पनि नेप्सेमा गएपछि अध्ययन नै गर्नुपर्छ । यस्ता गतिविधिबाट मुख्यतयः साना लगानीकर्ता नै पीडित हुन्छन् । बजारलाई अस्वभाविकरुपमा घट्न नदिन म्युचुअल फन्डहरुले पनि मार्केट मेकरको रुपमा काम गर्नुपर्छ । किनभने सरकारले म्युचुअल फन्डहरुलाई ट्याक्स फ्रि पनि त गरेको छ । त्यही भएर बजारलाई अप्राकृतिकरुपमा अप एन्ड डाउन हुन नदिन म्युचुअल फन्डले प्रभावकारीरुपमा भूमिका निर्वाह गर्न सक्नुपर्छ । बजारमा आपूर्ति बढी भयो भने म्युचुअल फन्डले किनिदिनुपर्छ होइन भने सरकारले ट्याक्स फ्रि किन गरिदिनुपर्यो त ? अर्को कुरा बजार बढाउन मार्जिन लेन्डिङको सहज उपलब्धता हुनसक्नुपर्ने हो, जुन यहाँ हुन सकेको छैन ।
 
तपाईको कार्यकालमै काठमाडौं बाहिरका विकट गाउँमा रहेका लगानीकर्ताले आफ्नै ठाउँबाट सेयर किनबेच गर्न पाऊलान त ?  
 
यो आजको भोली नै हुने कुरा होइन । यद्दपि, अबको ४ वर्षसम्म गाउँगाउँबाट सेयर खरिद विक्री गर्नसक्ने अवस्था सृजना गर्छु । सेयरसम्बन्धी काम गर्न सहरकेन्द्रित हुनुपर्ने बाध्यताको अन्त्यः गर्ने मेरो योजना छ । म नेपाली पैसा अनलाइन माफर्त लगानीकर्तालाई निकट भविष्यमै आफ्नै गाउँघरमा बसेर ढुक्कसँग सेयर कारोबार गर्न पाइनेमा विश्वस्त हुन आग्रह गर्दछु । तर यसका लागि केही समय भने अवश्य लाग्नेछ । 
 
 
 
 
 

Post Your Comment