Market Closed

जर्ज सोरसको यो लगानीमन्त्र जसले पुर्यायो रेलको भरियाबाट अर्बपतिसम्म

04 Nov,2017
  • george_sorus_11_4_2017_7_36_50.jpg
समिर गौतम
 
काठमाडौं : जर्ज सोरोस जन्मिंदा विश्व दोस्रो युद्धको तयारीमा जुटिरहेको थियो । सोरस सन् १९३० मा हंगेरीको राजधानी बुढापेष्टको एक सामान्य परिवारमा जन्मेका थिए । उनी यहुदी थिए र सामान्य परिवारमा जन्मेका थिए । हिटलर र उसका नाजी सेना यहुदी विरुद्ध आगो बनेर खनिएका थिए । सन् १९४४–४५ मा नाजीहरुले हंगेरीलाई कब्जामा लिँदा ५ लाख यहुदीहरुको हत्या भयो । यस्तो विषम परिस्थितिमा पनि सोरोस र उनको परिवार बाँच्न सफल भए । सोरोसका पिताले यहुदी पहिचानलाई त्यागी अर्कै कागजपत्र बनाएर आफू र आफ्नो परिवारको जीवन रक्षा गरेका थिए ।
सन् १९४७ मा आफ्नो जन्मथलो छोडेर सोरोस लन्डन आए र ‘लन्डन स्कूल अफ इकोनोमिक्स’ मा अध्ययन गर्न थाले । लन्डनमा पढाई खर्च जुटाउन सोरोसले रेल स्टेसनको भरिया देखि नाइट क्लबको वेटरसम्म भएर काम गरे । अध्ययन सकेपछि उनले जागिरका लागि लन्डनमा भएका सबै मर्चेन्ट बैंकका व्यवस्थापन प्रमुखलाई अन्र्तवार्ता दिने हेतुले पत्राचार गरेको तर खासै कतैबाट पनि गतिलो जवाफ पाएनन् । जागिरका लागि अन्र्तवार्ता दिने क्रममा आफू धेरै अपमानित भएको भन्दै सोरोसले त्यसलाई आफ्नो जीवनको अत्यन्तै दुःखदायी क्षण र तल्लोस्तरको अवस्थाका रुपमा लिएका छन् । सोरोस सन् १९५६ मा अमेरिका बसाई सरे र लगानीको संसारमा प्रवेश गरे, अब उनको लगानीराजको सुरुवात भयो । जहाँबाटै उनले आफ्नो नेटवर्थ २५ अर्ब डलर भन्दा धेरै बनाउने जगको थालनी गरेका थिए । अमेरिकामा धेरै वर्ष सेयर विश्लेषक र कारोबारी भएर काम गरेपछि सन् १९७० मा सोरोसले ‘सोरोस फन्ड म्यानेजमेन्ट’ नामको आफ्नै हेज फन्ड खोले । पछि यो हेज फन्ड क्वान्टम फन्डको नामबाट प्रख्यात भयो ।
 
सोरोसको सबैभन्दा प्रख्यात कारोबार सन् १९९२ को सेप्टेम्बरमा गरेको बेलायती पाउन्ड स्टर्रलिङको ‘सर्ट सेलिङ’लाई लिने गरिएको छ । नेपालमा भने प्रचलनमा नरहेको यस्तो सर्ट सेलिङमा सेयरको मूल्य घट्नेवाला छ भनेर अनुमान लगाई कारोबार गर्ने गरिन्छ । फोब्र्सका अनुसार सोरोसले बेलायती पाउन्डमा लगाएको एकै दाउले उनलाई २४ घण्टामा एक अर्ब अमेरिकी डलरको नाफा दिलाएको थियो । त्यसैले उनलाई ‘द म्यान हु ब्रोक द बैंक अफ इङ्ल्यन्ड’ भनेर पनि चिनिन्छ अनि सेप्टेम्बर १६ लाई ‘ब्ल्याक वेडनस्डे ।’ सोरोसको लगानीबाट औसत मुनाफा २६.३% थियो । यस अर्थमा हेर्दा सुरुमा १० हजार डलर लगानी गरिएको थियो भने ४१ वर्षमा त्यो अहिले १४ करोड ३७ लाख डलर पुग्यो । यो वारेन बफेटको लगानी प्रतिफल भन्दा धेरै हो । बफेटको सोही अवधिको लगानी प्रतिफल औसतमा २१.४% मात्र हो ।
 
जर्ज सोरोसका लगानी मन्त्र
 
सोरोस लन्डन स्कुल अफ इकोनोमिक्समा पढ्दा कार्ल पोपरको ‘ओपन सोसाइटी एन्ड इट्स इनेमिज’ भन्ने पुस्तकबाट धेरै प्रभावित भए । कार्ल पोपरको अवधारणालाई सोरोसले कहिल्यै त्यागेनन् । सोरोसको लगानी सिद्धान्तमा खुला बजार, मानव अधिकार र वैज्ञानिक खोजतलासको समीश्रण पाइन्छ ।
 
1. ब्रोकर : आफ्नो लगानी गर्ने शैलीसँग तालमेल मिलाउने ब्रोकर पहिचान गर्नु धेरै महत्वपूर्ण हुने सोरोसको भनाई छ । त्यस्तो ब्रोकरको पहिचान गरेपछि उसँग व्यक्तिगत तहमा सम्बन्ध स्थापित गर्न सोरोसको सुझाव छ ।
 
2. एउटा अवधारण विकास गर्ने र त्यसमा अरुको राय बुझ्ने : अरुको सुझावबाट आफ्नो दृष्टिकोण फराकिलो हुने हुदाँ त्यस अवधारणलाई व्यवहारमा लागू गर्न सकिने सोरोसको बुझाई छ । यदि, आफूले विकास गरेको अवधारणाले बजारमा काम गर्यो भने त्यसलाई प्रयोग गरीरहने र गरेन भने त्यसलाई हटाएर नयाँ अवधारणा विकास गर्नुपर्ने हुन्छ । यो तरिका सेयर बजारका लागि निकै प्रभावकारी हुने सोरोसको विश्वास छ ।
 
3. सोरोसका अनुसार यदि मार्केटमा लगातार नोक्सान खप्नु परिरहेको छ भने त्यहाँबाट पैसा झिकेर नयाँ सुरुवात गर्नुमै भलाई हुन्छ । यस्तो बेलामा सकारात्मक सोच लिएर काम सुरु गनुपर्ने सोरोस बताउँछन् ।
 
4. लगानीलाई व्यक्तिगत भावनाहरुले प्रभावित बनाउन नहुने भन्दै दीर्घकालमा सफल हुनका लागि तार्किक र अनुशासित भएर लगानीको निर्णय लिनुपर्ने सोरोसको सुझाव छ । त्यसैले उनी भन्ने गर्छन्, राम्रो लगानी पट्यार लाग्दो हुन्छ ।
 
5. आफ्नो गल्तीलाई पहिचान गर्ने र स्वीकार्ने गरियो भने नोक्सानी कम गर्न सकिन्छ । आफ्नो गल्ती पहिचान गर्न सकेका कारण नै आफू धनी भएको उनी बताउँछन् ।
 
6. पुँजी बजारलाई सामान्यतयः वास्तविक र यकिन अनुमान लगाउन गाह्रो हुन्छ भन्ने कुरालाई सफल लगानीकर्ताले मनदेखि नै स्वीकार गर्नुपर्छ । त्यसैले सोरोस अप्रत्याशित ठाउँमा झन् ठूलो अवसर हुने बताउँछन् । भविष्यमा हुन सक्ने वा आउन सक्ने घटनालाई ध्यान दिएर अवसरको सदुपयोग गर्न सँधै तयार हुनुपर्नेमा जोड दिन्छन् ।

 
जर्ज सोरोसको लगानीको सिद्धान्त ‘थेउरी अफ रिफ्लेक्सीभिटी’
 
सोरोसले ‘थेउरी अफ रिफ्लेक्सीभिटी’ नामको आफ्नै सिद्धान्त बनाएका छन् । यो सिद्धान्त उनले आफ्ना गुरु कार्ल पपरको सिद्धान्त र दर्शनशास्त्रबाट प्रभावित भएर बनाएका हुन् । सोरोस यही सिद्धान्तमा आधारित भएर आफ्नो जीवन जीउँछन् र लगानी पनि यही सिद्धान्तमा रहेर गरेका हुन्छन् । यो सिद्धान्तमा रहेर उनले मनग्ये पैसा पनि कमाए । अनि कल्याणकारी काममा पैसा खर्च गर्दा पनि उनले यसै सिद्धान्तमा रहेर गरेका गरे । उनको ‘थेउरी अफ रिफ्लेक्सीभिटी’ पैसासँग आधारित नभएर सोचाई र यथार्थताको सम्बन्धमा आधारित थियो । हामी हाम्रो वातावरणमा हुने विभिन्न घटनाहरु देख्छौं र त्यसमा प्रतिकृया देखाउँछौ । त्यस्ता घटनाहरुमा हाम्रो प्रतिकृयाको कुनै असर पर्दैन तर पुँजी बजारमा भने प्रतिकृयाको सीधा असर हुन्छ, जसले बजारको वातावरण परिवर्तन गर्न सक्छ । सोरोसका गुरु कार्ल पपरको दर्शनले अनुभुतबाट गरिने यो सिद्धान्तले उनलाई पुँजी बजारमा संकट कहिले आउँछ भन्ने अनुमान लगाउन र संकट आएपछि त्यसमा अघि बढ्ने अनि कसरी योजना बनाउने र प्रतिकृया गर्ने भन्नेबारेमा थाहा पाउन निकै ठूलो सहयोग गरेको उनी बताउँछन् । बजार जहिले पनि यथार्थबाट विचलित हुनेहुँदा सेयरको मूल्य सँधै गलत हुने उनको भनाई छ । अर्थात् बजार निकै तल झर्दा होस् वा कम्पनीहरुको भाउ निकै अकासिएर माथि पुग्दा दुवै बेला वास्तविकता भन्दा तलमाथि नै भइरहेको हुन्छ । यो दुवै गलत हुन सक्छ ।

सोरोसका अनुसार बजारले मान्छेको सोचाई एकथरि बनाइदिन्छ भने यथार्थमा अर्कै भइरहेको हुन्छ । उनका गुरु कार्ल पपरको दर्शन र सिद्धान्तले पनि यही पक्षलाई प्रतिबिम्बित गरेको छ । यसर्थ ‘थेउरी अफ रिफ्लेक्सीभिटी’ ले सोरोसको जीवनमा गहिरो प्रभाव पारेको देखिन्छ । संसारका अन्य अर्बपतिले जस्तै जर्ज सोरोसले कुस्त कमाएपछि कल्याणकारी काममा मन लगाए । उनले १० अर्व डलर भन्दा बढी रकम लोककल्याणकारी काममा खर्च गरिसकेका छन् । उनको ‘ओपन सोसाइटी फाउन्डेसन’ले पिछडिएका, सीमान्तकृत र अल्पसंख्यक समुदायका लागि विभिन्न सहयोग गर्दै आएको छ । सोरोसले प्रजातन्त्र र खुला समाजको पनि वकालत गर्दै आइरहेका छन् । उनका लेखहरु विभिन्न जर्नल तथा पत्रपत्रिकामा प्रकाशित भएका छन् भने थुपै्र पुस्तकहरु पनि प्रकाशन भएका छन् । उनलाई अहिलेसम्मकै सफल हेज फन्ड व्यवस्थापकका रुपमा पनि चिनिन्छ । यता, सोरोसलाई विवादास्पद व्यक्तिका रुपमा पनि हेरिन्छ । उनलाई पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध महिलाहरुले गरेको प्रर्दशनमा आर्थिक सहयोग गरेको पनि आरोप लागेको थियो । त्यस्तै, वाल स्ट्रिट जर्नलका अनुसार २०१० मा सोरोसले गाँजालाई वैधानिक बनाउनुपर्छ भन्दै लेख पनि लेखेका थिए । 
 
(एजेन्सीहरुको सहयोगमा) 

Post Your Comment