Market Closed

पुँजी बजारमा अब कहिले आउला बहार ? यसो भन्छन् बजारका हस्तीहरु

10 Feb,2018
  • chhote_2_10_2018_8_09_52.jpg
काठमाडौं : पछिल्लो केही समय यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १४ सय अंकको आसपासमा घुमिरहेको छ । कारोबार रकम पनि ३०–३२ करोड रुपैयाँको हाराहारीमा सीमित छ । नेप्से सूचकसँगै कारोबार रकममा समेत गिरावट आएपछि लगानीकर्ताको मनोविज्ञान केही नकारात्मक बनेको बुझिंदैछ । कारोबार रकम थोरै हुनाले बजारमा लगानीकर्ताको उपस्थिति न्यून रहेको भनेर विश्लेषण गर्नेहरु पनि देखिन थालेका छन् ।  अर्कोतर्फ यसले बजार अस्थिर भएका कारण नयाँ लागानीकर्ताहरु पनि प्रवेश नगरेको पनि देखाउँछ । यतिबेला प्रायजसो संस्थाहरुले साधारण सभा सकिसकेका छन् ।

धेरै कम्पनीहरुले बोनस, नगद साधारण सभाबाट पारित गराइसकेका छन् । धेरैले हकप्रद पनि ल्याइसकेको अवस्था छ । अब तत्काल कम्पनीहरुबाट लाभाश पाउने अवस्था छैन । यस्तो समयलाई अफ सिजनका रुपमा पनि बुझ्ने गरिन्छ । यो अवस्थामा कतिपय लगानीकर्ताहरु ‘वेट एन्ड सी’ को अवस्थामा रहेकाले बजार सुस्त बनेको जानकारहरुले बताउन थालेका छन् । यही क्रममा हामीले आखिर पुँजी बजार किन भइरहेको छ त सुस्त ? अब बजारलाई गति दिन के गर्नुपर्छ भनेर नेपाल इन्भेष्टर्स फोरमका केही पदाधिकारीहरुसँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ उनीहरुका भनाईको सार संक्षेपः


भ्याट आतंक र अधिक आपूर्तिको मारमा पर्यो बजार 


 
छोटेलाल रौनियार, 
उपाध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम 
 
आइपीओ, एफपीओ तथा हकप्रद सेयर अधिक मात्रामा थपिंदा बजारमा आपूर्ति चुलिएको छ । तर यस अनुसार नयाँ लगानीकर्ता थपिन सकेका छैनन् । यसको असर बजारमा परेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्बबाट बढाएर ८ अर्ब रुपैयाँ पु¥याएको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुको पनि चुक्ता पुँजी बढेको छ । यस्तै, बिमा समितिले जीवन बिमा कम्पनीको २ अर्ब तथा निर्जीजन बिमा कम्पनीको १ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ । एकाएक भारीमात्रामा पुँजी वृद्धि गर्नुपर्दा बैंक र बिमाहरुले भारीमात्रामा हकप्रद र बोनस जारी गरे । जसका कारण बजारमा सेयर संख्या थपियो । अधिक आपूर्तिको अवस्था उत्पन्न भयो । यसको असर दोस्रो बजारमा देखिएको हो । फेरि, यही बेला अधिकमात्रामा आइपीओ आउँदा धेरै लगानीकर्ता त्यतैतर्फ लागे र  दोस्रो बजारमा पैसा जान पाएन ।

सरोकारवाला निकायले समयमा नै ध्यान दिन नसक्दा यस्तो समस्या देखिएको हो । अहिले सरोकारवाला निकायका अधिकारीहरु काम गर्न भन्दा भाषण गर्नमा नै बढी व्यस्त छन् । अनलाइनबाट कारोबार अझै सुरु हुन सकेको छैन । बजारलाई भाग्यको भरमा छोड्नेहरुले गैरआवासीय नेपाली (एनआरएन) लाई पनि लगानी गर्ने वातावरण बनाएन् । अहिले ७७ वटै जिल्लामा बैंक पुगेका छन् । बैंकका सबै शाखालाई कारोबार गर्ने व्यवस्था मिलाउन आग्रह गरे पनि अझै हुन सकेको छैन, अनि कसरी बढ्छ बजार ? व्यवसायीलाई भ्याटको आतंक फैलाइएको छ ।  । लगानीकर्ताको हितमा केही काम भएको छैन । जसका कारण लगानीकर्ताको मनोविज्ञान निकै कमजोर बनेको छ । बजार व्यवस्थित रुपमा चल्नका लागि अनलानइन सिस्टम सुरु हुनुपर्छ । वाणिज्य बैंकलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ र एनआरएनलाई सेयर बजारमा भित्र्याउनु पर्छ ।

अब विस्तारै बढ्छ अझै तल झर्ने ठाउँ छैन 


 
राजन लम्साल,
महासचिव, नेपाल इन्भेष्टर्स फोरम 
 
यो बजार सुस्त नै हुने समय हो । अहिले प्रायः सबै कम्पनीहरुको साधारण सभा सकिएको छ । अब बोनस, हकप्रद धमाधम सूचीकृत हुन थाल्छन् । माथिल्लो तामाकोशीको ३ करोड भन्दा बढी कित्ता आइपीओ आँउदैछ, सान्जेन, रसुवागढीको आइपीओ पनि आउँदैछ, धेरै पैसा त्यता जान्छ । बुटवल पावर कम्पनीको एफपीओले पनि  केही पैसा लग्यो । त्यस कारण बजारमा प्रयाप्त लगानी आउन नसकेको हो । बजारमा ठूला कम्पनीको आइपीओ, एफपीओ, हकप्रद, बोनस आएका कारण कारोबार रकम घटेपनि फागुनपछि विस्तारै सुधार आँउछ । यहाँ भन्दा तल झर्ने ठाउँ छैन । विस्तारै बजारले भारीमात्रामा आएका बोनस र हकप्रद सेयरलाई खपत गरिसक्नेछ । त्यसपछि बजारमा नयाँ माहोल आउने अपेक्षा गर्न सकिन्छ । बैंक ब्याजदर महँगो हुनु अनि तरलता अभावले पनि बजारलाई प्रभावित पारेको हो । लगानीकर्ताको मनोविज्ञान अर्को पक्ष हो । 
 
अहिलेको प्यानिक अवस्था सुधार्न विदेशी लगानीकर्तालाई खुला गर्नुपर्छ


 
दीपेन्द्र अग्रवाल
सदस्य, नेपाल इन्भेष्टर्स फोरम
 
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चुलिंदै गएको छ । जसका कारण बैंकहरु निक्षेपकर्ता तान्न बचत र मुद्दति निक्षेपमा दुवैमा बढी ब्याज दिएका छन् । तरलता अभावका कारण बैंकहरु माग अनुसार ऋण दिनसक्ने अवस्थामा छैनन् । कर्जामा ब्याजदर बढेका कारण लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्नुभन्दा बैंकमा निक्षेप जम्मा गरेर ब्याज खाने प्रवृत्ति बढ्न थालेको छ । लगानीकर्ता रिक्स मोलेर लगानी गर्न तयार छैनन् । बजारमा विभिन्न हल्लाहरु फैलाइएको छ । कतिपयले बजार ३ डिजिटमा पनि आउँछ भन्ने हल्ला फैलाउन थालेका छन् तर लगानीकर्ताहरु यस्ता हल्लाका पछाडि लाग्नु हुँदैन, यो सम्भव नै छैन । 
 
बजार अस्थिर रहेको समयमा केही ठूला लगानीकर्ताहरुले कम्पनीको प्रोफाइल हेर्ने र प्यानिक अवस्था उत्पन्न गरेर सेयर उठाउने क्रम सुरु भएको छ । कारोबार रकम बढाउने हो, बजारलाई माथि उठाउने हो भने विदेशी लगानीकर्ताहरुलाई सेयर किन्न दिनुपर्छ । विदेशी संस्थागत लगानीकर्ता र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) लाई पनि उचित वातावरण बनाएर लगानी गर्न दिनुपर्छ । नत्र तत्काल बजार बढ्न कठिन हुने देखिएको छ । विदेशी लगानीकर्तालाई हाम्रो बजार खुला गरिएमा ४–५ खर्ब पैसा आउने देखिन्छ । यसबाट बजार उकालो लाग्न निकै ठूलो सहयोग पुग्नेछ । अब बन्ने सरकारले विदेशी लगानीकर्तालाई पुँजी बजार खुला गर्नेतर्फ पहल गर्नुपर्छ । 
 
(नेपाली पैसाका सोभित थपलियाले गरेको कुराकानीमा आधारित)
 

Post Your Comment