Market Closed

नयाँ अर्थमन्त्रीले कस्तो बनाउलान् अर्थतन्त्र ? यस्तो छ अर्थविद, बैंकर र लगानीकर्ताको अपेक्षा

28 Feb,2018
  • finance_minister_youbraj_(1)_2_28_2018_8_44_45.jpg
नेपाली पैसा
काठमाडौं : मुलुकले यतिबेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्रनर भइसकेका व्यक्ति डा.युवराज खतिवडा अर्थमन्त्री पाएको छ । उनको कार्यकालमा देशले आर्थिक विकासमा निकै फड्को मार्ने चर्चासमेत चल्न थालेको छ । यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका व्यक्ति यतिबेला अर्थमन्त्री बनेका छन् । २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका डा. खतिवडाले वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी समग्र अर्थ व्यवस्थाको विज्ञको रुपमा चिनिन्छन् । उनै व्यक्ति अर्थमन्त्री बनेपछि अबको अर्थ व्यवस्था कसरी अघी बढ्ला ? सेयर बजारले कस्तो गति लेला ? लगायत विषयमा सम्बन्धित विषयका विज्ञसँग गरेको कुराको अंशः

दिपेन्द्र बहादुर क्षेत्री (अर्थविद तथा पूर्व गभर्नर)
 
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर भएको व्यक्ति डा. युवराज खतिवडा अर्थमन्त्री हुनु भएको छ । उहाँबाट सबैले धेरै नै अपेक्षा गरेका छन् । उहाँसगको अपेक्षा पुरा हुने सम्भवना निकै छ । उहाँलाई सबैले स्विकार गरेका छन् । तर सेयर बजारले भने अली अस्विकार गरेको हो की जस्तो पनि देखिएको छ । आजको सेयर बजारमा निकै उछाल आउनु पर्ने हो, त्यो हुन सकेन । उहाँले यसअघि पनि देशको अर्थतन्त्रका लागि निकै राम्र्रो काम गर्नु भएको छ । उहाँले आफ्नो कार्यकालमा राम्रो काम गर्न कुनै नेताको भनाईको पछि लाग्नु हुँदैन । अहिले एमाले र माओवादी एक भएको समयमा उहाँले अरुको कुरा सुन्नलाग्नु भयो भने सफल बन्न सक्नुहुन्न । 
 
अहिले मूल्य वृद्धि नियन्त्रण भएपनि अरु केही काम भएको छैन । आवश्यक मात्रामा राजश्व उठन सकेको छैन, विप्रेषण घटेको छ । यो अवस्थामा अरुको कुरा सुन्नु भन्दा उहाँले आफ्नै विवेक प्रयोग गरेर, आफ्नो अर्थशास्त्रीय ज्ञानको प्रयोग गरेर अघि बढ्नुपर्छ । उहाँले राष्ट्रिय निर्देशक सिद्धान्त अनुसार काम गर्ने भन्नु भएको छ । पाँच वटा प्रतिवद्धता पनि जनाउनु भएको छ, त्यो पुरा गर्नुपर्छ । अहिले १६ खर्बको बजेट आउने प्रक्षेपण गरिएको छ । तर बजेट २० खर्बको आउने सम्भावना पनि छ । २० खर्ब बजेट आएपनि खर्च गर्न समस्या हुँदैन । किनभने सबै स्थानीय तहमा भौतिक संरचना निर्माण गरिने भनिएको छ । भौतिक संरचना निर्माण गर्ने र खर्च गर्न सक्ने हो भने कुनै फरक पर्दैन । आगामी दिनमा बजेट खर्चगर्न सक्ने सबैले क्षमता राख्नुपर्छ । त्यो क्षमता उहाँबाट अपेक्षा गरिएको छ ।
 
डा. चन्द्रमणि अधिकारी (अर्थविद)
 
अहिले अर्थमन्त्री डा. युवराज खतिवडालाई धेरै नै चुनौती रहेका छन् । ती चुनौतीका बाबजुत उहाँले गर्नुपर्ने धेरै छ । अहिले मान्छेका आंकक्षा पुरा गर्नेदेखि संघीयता कार्यान्वयनसम्म गर्नुपर्ने बाध्यता रहेको छ । यसका लागि आर्थिक वृद्वि गर्नुपर्छ । त्यसकालागि वित्तीय साधान चाहिन्छ । विकास निर्माणका लागि लागत चाहिन्छ, त्यसका लागि पनि बित्तीय साधन चाहिन्छ । भएका आर्थिक साधनलाई प्रभावकारी ढ्रगले परिचालन गर्न सकिएन भने समस्या सृजना हुनसक्छ । अब तीनै तह मिलेर राजश्व बढाउने तर्फ ध्यान दिनुपर्छ । राजश्वलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्छ । अनुत्पादक क्षेत्रमा कतिपनि खर्चगर्नु हुँदैन । अब जति खर्च गर्ने हो त्यो सबै उत्पादन मुलक क्षेत्रमा हुनुपर्छ । 
 
खर्च गर्नुपूर्व लगानीका क्षेत्र पहिचान गर्नुपर्छ । आर्थिक संयोजन गर्ने काम अर्थमन्त्रीको हो । त्यसमा तीनै तहले सहयोग गर्नुपर्छ । भएका साधन र स्रोतको उचित उपयोग गर्न सकेको खण्डमा बजेटको चाप पनि घट्छ । नयाँ अर्थमन्त्री आएको २, ४ महिनामा नै सबै काम सम्भव छैन । जे–जे काम गर्ने हो त्यो तोकिएको समयमा नै गर्नुपर्छ । नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा रहेको छ । अब बजेट निर्माण गर्दा पनि रणनीतिक हिसाबले निर्माण गर्नुपर्छ । जसले गर्दा नयाँ अर्थमन्त्रीलाई काम गर्न धेरै सहज हुन्छ । एक रुपैयाँ पनि अनुत्पादक क्षेत्रमा खर्च गर्नुहुँदैन ।
   
अशोक राणा (सीइओ, हिमालयन बैंक)
 
अहिले आउनु भएका अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकको गभर्नर हुँदा निकै राम्रो काम गर्नुभयो । त्यो कसैले पनि भुल्न सकेका छैनन् । अब पनि उहाँले निकै राम्रो काम गर्ने अपेक्षा छ । उहाँलाई मन्त्री बनाउनेले राम्रो मान्छेलाई मन्त्री बनाई भनेर बसेर हुँदैन, काम गर्ने राम्रो व्यवस्था हुुनुपर्छ । उहाँ सँग भएको ज्ञानको सदुपयोग गर्न सकेको खण्डमा देशको अर्थतन्त्रले नयाँ मोड लिन्छ । उहाँ कुशल प्रशासक पनि हो । उहाँको त्यो क्षमताको सदुपयोग गर्ने हो भने काम गर्न कर्मचारीबाट पनि कुनै अवरोध हुँदैन । यस अघि कर्मचारीले काम नै गर्न दिएनन भनेर जति गुनासो आउने गरेको थियो । अब त्यो गुनासो पनि न्यून हुँदै जाने छ । विगत ६ वर्ष हेर्नेहो भने पुँजीगत खर्च ३० प्रतिशत भन्दा बढ्न सकेन, आगामी दिनमा त्यस्तो नहोला । पुँजीगत खर्च बढेको खण्डमा देश विकासमा कुनै समस्या हुँदैन ।

अम्बिका प्रसाद पौडेल (अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम)
 
लामो समयपछि मुलुकले विद्वान अर्थमन्त्री पाएको छ । अहिले आउनु भएका अर्थमन्त्री डा. युवराज खतिवडा यो क्षेत्रमा निकै विज्ञ हुनुहुन्छ । आर्थिक क्षेत्रमा कहाँ कुन समस्या छ ? त्यो समस्या कसरी समाधान गर्ने ? भन्ने उहाँमा हेक्का छ । अहिले देशको अर्थतन्त्र बिरामी परेको छ । बिरामी परेको अर्थतन्त्रलाई कसरी निको पर्ने भन्नेमा उहाँ जानकार हुनुहुन्छ । निको पार्दा कोही कसैलाई तितो हुनसक्छ । केहीलाई तितो होला भनेर रोग पाल्नु हुँदैन भन्नेमा उहाँ प्रतिबद्व हुनुहुन्छ । अर्थतन्त्रको एउटा पाटो सेयर बजार पनि हो । अहिले सेयर बजार नीतिगत अस्पष्टतामा रुमलिएको छ । नीतिगत रुपमा प्रष्ट हुनु आवश्यक छ । सेयर बजार प्रविधि मैत्री बन्नसकेको छैन । नयाँ अर्थमन्त्रीले यी समस्या बुझ्नु भएको छ । उहाँले यो क्षेत्रका लागि लोकप्रीय भन्दा पनि दिर्घकालीन रुपमा अघि बढ्ने नीति नियम ल्याउनेमा हामी आशावादी छौं । यो क्षेत्रले अब दिर्घकालीन महत्व राख्ने ऐनको अपेक्षा गरेका छौं ।
 
(नेपाली पैसाका लागि सोभित थपलियाले गरेको कुराकानीमा आधारित ।)
 

Post Your Comment