जोशी हाइड्रोपावरको आइपीओमा कति जनाले पाउने भए २० कित्ता

06 Dec,2018
  • ipo_new_12_1_2018_9_13_13.png
नेपाली पैसा 
 
काठमाडौं : जोशी हाइड्रोपावरमा आइपीओ भर्नेको अन्तिम तथ्यांक प्राप्त भएको छ । यस आइपीओमा ५९ करोड १७ लाख ५२ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले ८३ हजार ७७० जना आवेदकले ५९ लाख १७ हजार ५२० कित्ताको लागि आवेदन दिएको अन्तिम तथ्यांक प्राप्त भएको नेपाली पैसा बताए । यो नै ‘फाइनल डाटा’ भएकाले यसैका आधारमा आइपीओ बाँडफाँट हुने उनले बताए । 
 
यही तथ्यांकलाई आधार मान्दा सबै आवेदकले १० कित्ता सेयर पाउनेछन् । तर २० कित्ता भने सबैको भागमा पर्दैन । सर्वसाधारणका लागि १५ लाख ५५ हजार २३३ कित्ता आइपीओ खुला गरिएको हो । यसमा कुल आवेदक संख्या (८३ हजार ७७०) ले भाग गर्दा १८.५६ कित्ता हुन आँउछ ।
 
यसआधारमा कुल ८३ हजार ७७० जना आवेदकलाई पहिलो चरणमा १० कित्ताका दरले ८ लाख ३७ हजार ७७० कित्ता बाँडफाँट गर्ने देखिन्छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको ७ लाख १७ हजार ४६३ कित्ता सेयर भने गोलाप्रथाबाट बाँडफाँट गर्नुपर्नेछ । जसमा पुनः ७१ हजार ७४६ जनाले १० कित्ता सेयर हात पार्नेछन् । वैध तरिकाले आवेदन दिएका सबैले सेयर पाउनेछन् । 
 
यसर्थ समग्रमा हेर्दा, ७१ हजार ७४६ जना आवेदकको भागमा २० कित्ता सेयर पर्नेछ । कुल आवेदक मध्ये १२ हजार २३ जनाको भागमा भने १० कित्ता सेयर मात्र पर्नेछ । जोशी हाइड्रोपावरले मंसिर १६ गते देखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । 
 
कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
 
आयोजनाको विकास तथा आयोजना निर्माण गर्दा लिएको ऋण तिर्न पुँजी संकलन गर्नु नै आइपीओ निष्कासनको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । यस आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
 
यता, कम्पनीले आव २०७६।७७ मा १ करोड ८९ लाख र आव २०७७।७८ मा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७६।७७ मा ५ रुपैयाँ १२ पैसा र आव २०७७।७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ । यसको सेयर पुँजी भने आव २०७७।७८ सम्म आइपीओ बिक्रीपछि कायम हुने ३७ करोड १४ लाख रुपैयाँ नै रहनेछ ।
 

Post Your Comment