Market Closed

शेयर राफसाफ ३ दिनभन्दा कम समयमै गर्न सकिन्छ

31 Jan,2016
  • ee20160131081444_clipboard21_(1)_3_14_2016_8_44_31.jpg

                                                                                          देवप्रकाश गुप्ता
                                                                                   प्रमुख कार्यकारी अधिकृत
                                                                             सीडीएस एण्ड क्लियरिङ लिमिटेड

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको शैक्षिक पृष्ठभूमि इञ्जिनीयरिङ र व्यवस्थापन हो । पूँजीबजारको अध्ययन र यसमा रुचि भएका उनका पूँजीबजार सम्बन्धित लेख अन्तरराष्ट्रिय जर्नलमा समेत प्रकाशित हुने गरेका छन् । उनकै सक्रियताको कारण डिम्याट प्रक्रियाले अहिलेको गति लिएको मान्नेहरू पनि धेरै छन् । यिनै सेरोफेरोमा रहेर अभियानका विजयराज खनाल र मुना कुँवरले उनीसँ ग गरेको कुराकानीको सार :

सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) छिटो सञ्चालनमा आउनुको जस तपाईंले पाइरहनु भएको छ । विगत ४ वर्षदेखिको प्रयासले हो वा साच्चै तपाईंकै पहलले चाँडो भएको हो ?
म एउटाले केही पनि भएको होइन । यसमा नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), दैनिक काम गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लगायत विभिन्न सरोकार पक्षहरूको पनि योगदान छ । साथै, मेरो पृष्ठभूमि इञ्जिनीयरिङ र म्यानेजमेण्ट पनि भएकाले मलाई यहाँको समस्या पहिचान गर्न सहज भएको हो । यहाँ आएपछि मैले सबैभन्दा पहिला समस्या पहिचान गरेँ । यहाँ सीडीएससी कार्यानवयनको विषयमा हाम्रा कर्मचारी, ब्रोकर, डीपी, लगानीकर्ता, रजिष्ट्रार, नेप्से तथा सेबोन सबैमा आत्मविश्वासको कमी पाएँ ।

सबै निकायसँगै गएर छलफल गर्दा दुईओटा कारण भेटेँ । यो नयाँ प्रविधि भएकाले यसलाई कसरी अपनाउने भन्ने विषयमा सबैमा अन्योल रहेछ । त्यस्तै, यसको कार्यान्वयनको पक्षमा समेत सबैमा द्विविधा रहेछ । सरोकारवाला पक्षहरू प्राविधिक रूपमा स्पष्ट नभएकाले यस प्रविधि सञ्चालनमा विश्वस्त हुन नसकेको पाए । हुन पनि केही प्राविधिक समस्या थियो । म यहाँ आएपछि सबैभन्दा पहिला त यहाँको प्रविधिलाई अध्ययन गरेँ, नियाले र बुझेँ । त्यसपछि प्रणालीप्रति म आफू पनि विश्वस्त भए र कर्मचारीलाई पनि विश्वस्त गराएँ । त्यसपछि डिम्याट कारोबार गर्ने निर्देशन दिन नेप्सेलाई अनुरोध गरेँ । अरूले पनि विस्तारै बुझ्न  थाले । तर, केही न केही समस्या भइरहन्थ्यो । सबैभन्दा बढी लगानीकर्ता अलमलमा परेको देखेँ । उनीहरूसँग पनि समस्या बुभ्mन थालेँ । लगानीकर्ताहरूमा पनि समस्या देखेँ । डीपीहरूले संस्थामा आएका शेयरहरू ६ महीनासम्म पनि डिम्याट नगरेको पाएँ । तर, शुरूमा मैले यसलाई नकारात्मक रूपमा लिनुभन्दा पनि प्रक्रियागत समस्या के छ भनेर बुझ्ने प्रयास गरेँ । समस्या समाधान गर्दै जाँदा कामहरू पनि भटाभाट हुन थाल्यो । समग्रमा भन्नुपर्दा मैले समस्या के रहेछ भनेर पहिचान गरेँ र त्यसलाई सामाधान गर्ने काम मात्रै गरेको हुँ ।

अहिले सेबोनमा नयाँ नेतृत्वको नियुक्ति भएको छ । तपाईं आफै पनि भर्खरै नियुक्त हुनुभएको हो । नयाँ नेतृत्वले काम गर्न हतारो गर्दा अहिले बजारमा चलखेल गर्नेलाई सहज भयो भन्ने सुनिन्छ नि ?
हामीले डिम्याट कारोबार सञ्चालनमा ल्याएकै कारणले बजारमा कुनै पनि नकारात्मक गतिविधि बढेको छैन । डिम्याटकै कारणले बजार बढेको पनि होइन । डिम्याट शेयरको आपूर्ति कम हुँदा बजार बढेको भन्ने हल्ला गलत हो । हामीले अहिलेसम्म कुनै पनि कम्पनीको ५ प्रतिशतसम्म साधारण शेयर डिम्याट नभएसम्म कारोबार नै शुरू गर्न दिएका छैनौं । सूचीकृत कम्पनीमध्ये मलाई सबैभन्दा ठूलो डर चिलिमेको थियो । तर, हामीले चिलिमे र नागरिक लगानी कोष (सीआईटी)लाई अनुरोध ग¥यौं । पुसको अन्तिममा आएर हामी सबै मिलेर डिम्याटको काम ग¥यौं । हामीले माघको १ र २ गते बिदाको दिनमा मात्रै कम्पनीको साढे ८ लाख शेयर डिम्याट ग¥यौं । यति धेरै शेयर भएको चिलिमेको काम सीआईटीजस्तो संस्थानले गर्न सक्छ भने अरू निजी कम्पनीले गर्न नसक्ने कुरै भएन । हालै कारोबार रोकिएका लघुवित्तको डिम्याटको कारण सर्टसेल भएर होइन । ती कम्पनीको न्यूनतम आधारविना नै शेयरमूल्य बढेकाले कारोबार रोकिएको हो ।

सूचीकृत कम्पनीको शेयरमध्ये जम्मा ३० प्रतिशत शेयर डिम्याट भएको छ । यो कम भएन र ?
समग्र पूँजीबजारको शेयरलाई प्रतिशतमा हिसाब गरेर हेर्नु भएन । बजारमा दैनिक कति शेयर सक्रिय रूपमा कारोबार हुन्छन् भनेर हेर्नुपर्‍यो । उदाहरणका लागि केही दिनअघि नागबेली लघुवित्तको कारोबार रोकिएको थियो । सो कम्पनीको २४ हजार ५ सय  कित्ता साधारण शेयर डिम्याट भएको छ । त्यसलाई आपूर्ति कम भएको त भन्न मिलेन । सो दिन नागबेलीको ९३ कित्ता विक्रीमा शेयरमूल्य २ प्रतिशत बढेको थियो । यसरी विनाकारण शेयरमूल्य बढेपछि नेप्सेले कारोबार रोकेको हो । हामीले होइन । अहिले हामीले दैनिक रूपमा करीब २२ लाख कित्ता शेयर डिम्याट गरिरहेका छौं । सरदर प्रतिसेकेण्ड ३५ सय कित्ता शेयर डिम्याट गरिरहेका छौं । यो दर बढ्दै जानेछ ।

त्यसो भए अहिले लगानीकर्तामा जानकारी बढेको हो त ?
डिम्याट हुने क्रम बढ्नुमा लगानीकर्तामा जानकारी बढ्नु र अनिवार्य डिम्याट कारोबारको व्यवस्था हुनु, दुवै हो । अहिले लगानीकर्ता सचेत हुँदै गएका छन् । कतिपय लगानीकर्ता मलाई सीधै फोन र मेलबाट सम्पर्क गर्छन् । मैले उत्तर पनि दिने गरेको छु । उहाँहरूले सुनाएका समस्यालाई सकेसम्म छिटो समाधान गर्ने प्रयास गरेको छु । यस कार्यका लागि मैले दिनरात भनेर छुट्ट्याएको छैन । मेरो कार्यालय समयबाहेक अन्य समयमा पनि लगानीकर्तासँग डिल गरिरहेको छु । अझै पनि म लगानीकर्तालाई भन्न चाहन्छु कि, केही समस्या छ भने हामीकहाँ आउनुहोस् । एक दिनभित्र हामी त्यो समस्या समाधान गर्छौं ।

तपाईंहरू अहिले जुन गतिमा अघि बढिरहनुभएको छ, यस हिसाबले आगामी कति समयभित्र सबै शेयर डिम्याट होलान् त ?
यही गतिमा जाने हो भने आगामी २/३ महीनामा हामी दैनिक कारोबार हुने सक्रिय सबै शेयर डिम्याट गराउन सक्नेछौं । यसअघि धेरै शेयर थ्रुप्रिएर बसेको थियो । एउटै लगानीकर्ताले धेरै डीपीबाट उही शेयर डिम्याटका लागि आवेदन दिएपछि पनि शेयरहरू थुप्रिन पुगेको थियो । डीपीसँग मिलेर यसको समाधान गरेका छौं । अर्को ठूलो समस्या भनेको हस्ताक्षर प्रमाणीकरण हो । लगानीकर्ताले प्राथमिक शेयर भर्दा जुन हस्ताक्षर गर्नुभएको थियो, त्यो बिर्संदा पनि समस्या आउने गरेको छ । ल्याप्चे लगाउनुभएका लगानीकर्ताले आफै डीपीमा पुगेर आफ्नो प्रमाण पेश गर्न केही समस्या भएको पनि छ । हामीले विभिन्न स्थानमा कार्यक्रम गरेर वा पत्रपत्रिकामामार्फत पनि बारम्बार समाधानका उपाय दिने गरेका छौं । लगानीकर्ताको शेयर समयमा डिम्याट भएको छैन वा खातामा आइपुगेको छैन भने सम्बन्धित डीपीकोमा गएर त्यसबारे जानकारी लिन आग्रह गरेका छौं ।

चिलिमेको शेयर पाएका स्थानीयले ल्याप्चे प्रयोग गरेकाले अहिले प्रमाणीकरणमा समस्या भयो भन्ने खबर आएका छन् । समाधानको बाटो के हुन सक्छ ?
प्रक्रिया कडा नै बनाउनु नै पर्छ । तर, कडा छ भन्दैमा हाम्रो सिष्टमले सक्कली प्रमाणपत्रधारीलाई नै चिन्दैन भन्ने होइन । अर्काको सम्पत्ति आप्mनो नाममा गराउन खोज्नेका लागि यो प्रणाली कडा हो । अन्यथा त्यस्ता लगानीकर्ता आफै नागरिकता लिएर गएको खण्डमा काठमाडौंको कुनै पनि डीपीले प्रमाणीकरण गरिदिन्छ । आखिर ल्याप्चे लगाएका शेयरहरू पनि त डिम्याट भएका छन्, जसले पहिला औंठाछाप लगाएको थियो, उसैले यो मेरो शेयर हो भनेर आएको अवस्थामा त त्यो डिम्याट भएको छ । तर, अर्काको औंठाछाप लगाएर शेयर लिएर आउने व्यक्तिलाई डिम्याटमा समस्या भएको हो ।  मकहाँ प्रमाण लिएर आउँछन् भने म आफै प्रमाणीकरण गरिदिन्छु । ठगी गर्ने प्रक्रिया त रोक्नुपर्‍यो । उपत्यकाबाहिर भने केही समस्या होला । तर, हामी रसुवामा डीपी पठाउँदै छौं । हामी आफै पनि त्यहाँ गएर वास्तविक स्थानीयलाई नै शेयर फिर्ता हुने व्यवस्था गर्छौं ।

अहिले भर्खरै बोर्डले दशओटा ब्रोकर मिलेर एउटा डीपीको काम गर्नुपर्ने नियम ल्याएको छ । कुनै समय डीपी सदस्य आएनन् भनेर तपाईंहरूकै अनुरोधमा धितोपत्र बोर्डले यस्ता कम्पनीले आफ्नो नेटवर्थको ५ गुणासम्म सम्पत्तिको व्यवस्थापन गर्ने सुविधा दिएको होइन र ?
पहिले डीपी नै लिन नमान्नेहरू अहिले किन हानथाप गरिरहेका छन् । कारण के होला ? सीडीएससीलाई असफल बनाउने धेरैको प्रयास थियो र छ । पहिला ५० जनालाई लाइसेन्स दिने भनेका हौं । हामीलाई यो प्रणालीमा ५० भन्दा बढी डीपी थप्नुपर्ने भएमा थप शुल्क लाग्ने भेण्डर कम्पनीले बताएको छ । तर, कति लाग्छ भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन हाम्रो सम्झौतामा । हामीसँग ६१ जनाको आवेदन छ । हामीलाई कति कष्ट आउँछ भनेर हामी भेण्डरसँग प्रष्ट हुन खोजेका छौं । हामीले निःशुल्क गर्न बार्गेनिङ गरिरहेका छौं । ब्रोकरहरूलाई आफ्नो लगानीकर्ता अन्यकोमा जान्छन् भन्ने डर छ । तर, उनीहरूलाई पनि डीपीको कार्य गर्न महँगो पर्ने भएकाले सहकार्यमा गर्दा ठीकै होला । हाम्रो इण्ट्रेष्ट नेपालमा बढी नेटवर्क भएको बैङ्कलाई डीपीको लाइसेन्स दिनु हो । उनीहरूको सञ्जाल धेरै हुने भएकाले यसले बजार पनि विस्तार गर्छ । साथै, उनीहरूको राष्ट्र बैङ्कबाट नियमयन हुने भएकाले अन्य निकायको आवश्यकता पनि पर्दैन ।

राष्ट्र बैङ्कले ट्रेजरी बिल्सका लागि आफैले सेटलमेण्ट प्रणाली बनाउने भन्ने कुरा पनि आएको छ । तपाईंहरू यसका लागि सक्षम हुनुहुन्छ भनिरहनु भएको छ । यसमा संवाद भयो ?  
यस विषयमा म आफै अनभिज्ञ हुन्छ । मैले पनि पत्रपत्रिकाबाट थाहा पाएको हुँ । म पनि छक्क परेँ । यत्रो सिष्टम हुँदाहुँदै राष्ट्र बैङ्क आफैले किन विकास गर्न लागेको हो । यस विषयमा राष्ट्र बैङ्कको कुनै कर्मचारीले मसँग कुरा गर्नुभएको छैन । मैले यसअघि हाम्रो कार्यालयमा यस विषयमा कुनै छलफल भएको थियो कि भनेर पनि सोधेँ । तर, त्यस्तो केही जानकारी नभएको पाएँ । तर म छलफल आफै अगाडि बढाउँछु । हामी एकै दिनमा राफसाफ गर्न सक्षम छौं । नियमित शेयर कारोबार पनि एकै दिनमा राफसाफ हुन सक्ने भइसकेका छौं । अहिलेको नियमले नै ३ दिन भनेकाले यो समय लगाएका हौं । ३ दिनभन्दा कम समय लाग्ने व्यवस्था केही अवधिपछि कार्यावयनमा ल्याउन सकिन्छ ।

अन्य देशमा सीडीएसी सञ्चालनमा आएपछि बजार दोब्बरसम्म बढेको उदाहरण पाइन्छ । तर, नेपालमा किन त्यस्तो हुन सकेन ?  
पहिला शेयर खरीद गरेको १२ दिनपछि मात्रै विक्री गर्न सकिन्थ्यो । अहिले शेयर खरीद गरेको चौथो दिनमा विक्री गर्न सकिन्छ । सेटलमेण्ट गर्ने दिन घटाउँदै लगियो भने नाफा सुरक्षित गर्ने लगानीकर्ताको कारोबार बढ्दै जान्छ । यसले गर्दा समग्र कारोबार पनि बढ्छ । हामीले डिम्याट कारोबार शुरू गर्दा नेप्से परिसूचक र कारोबार पनि बढेको थियो । निश्चय नै डिम्याटकै कारणले मात्रै त्यतिबेला बढेको थिएन । त्यतिबेला राजनीतिक दलहरूबीच सहमति बढ्दै गएको थियो । त्यसैले, डिम्याट कारोबार शुरू भएपछि जसरी भारतमा कारोबार बढेको थियो, त्यसरी नै यहाँ पनि बढ्छ । किनभने, समय छोटिँदै गएपछि कारोबारको दर त स्वतः बढ्छ । अहिले बजार सामान्य हुँदा पनि त २२ देखि ५० करोडसम्म कारोबार हुने गरेको छ । तर, राजनीतिक वातावरण पनि सुधार हुँदै गयो र आर्थिक वातावरण बढ्दै गयो भन्ने अवश्य उच्चदरमा नेप्से बढ्छ ।

Post Your Comment