Market Closed

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर परियोजना नै लिलामी गर्ने तयारी

01 Jan,2020
  • bhairab_kunda_1_1_2020_12_09_51.jpg
नेपाली पैसा
 
काठमाडौं : भैरवकुण्ड हाइड्रोपावर कम्पनीको नाममा ऋण तिर्न ३५ दिने सार्वजनिक सूचना जारी भएको छ । सानिमा बैंकको अगुवाईमा विभिन्न ५ बैंक तथा वित्तीय संस्थाहरुले संयुक्तरुपमा कर्जा चुक्ता गर्नका लागि सार्वजनिक सूचना जारी गरेका हुन् । सानिमा बैंकको अगुवाईमा परियोजना निर्माणका लागि सहवित्तीयकरणमा एनएमबि बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले कर्जा प्रवाह गरेका थिए ।

सोही कर्जाको साँवा र ब्याज भुक्तानी नगरिएपछि बैंकहरुले ३५ दिने सूचना जारी गरेका हुन् । यस अवधिमा पनि कर्जा चुक्ता नगरे परियोजना नै लिलामीमा लगिने सानिमा बैंकले उल्लेख गरेको छ । बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा समेत ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेकाले ३५ दिने सार्वजनिक सूचना जारी गरिएको छ । यसअविधमा पनि ऋण भुक्तानी नगरेमा राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रमा कालो सूचीमा समावेश गरिनेछ ।

साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, तथा अन्य प्रचलित कानुन बमोजिम सहभागी बैंकहरुले परियोजना आफ्नो कब्जामा लिई वा नलिई लिलाम बिक्री गरी सम्पूर्ण रकम असुल उपर गरिने छ, सानिमा बैंकले जारी गरेको सूचनामा भनिएको छ । यस हाइड्रोपावरले सिन्धुपाल्चोकको तातोपानी गाविस, वडा नं ४ मा ३ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरेको छ ।

कम्पनीले यस परियोजना अन्तर्गतका सम्पूर्ण घर, भवन, टहरा तथा यसमा जडान भएका सम्पूर्ण प्लान्ट, मेसिनरी उपकरण, सम्पूर्ण चलअचल सम्पत्ति धितो राखेर ऋण लिएको हो । हाइड्रोपावर परियोजनाहरुमा वित्तीय संकटको यो एउटा उदाहरण हो । यसबाहेक अन्य थुप्रै परियोजनाहरुमा पनि वित्तीय संकट उत्पन्न भइरहेको संस्थापकहरुले नै बताउन थालेका छन् ।

परियोजनाको लागत बढ्दै जानु, समयमा निर्माण सम्पन्न नहुनु, प्रसारण लाइन अभाव तथा पुँजी बजारमा हाइड्रोपावर कम्पनीहरुको सेयर भाउको दयनीय अवस्था लगायतले परियोजनाहरुले कर्जा चुक्ता गर्न नसक्ने अवस्था आएको हो । यसबाहेक कपितय परियोजनाका संस्थापकहरुको गलत नियतका कारण पनि समस्या चुलिएको सम्बद्ध अधिकारीहरु बताउँछन् । यता, भैरव कुण्डले यसअघि नै आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको थियो । यद्दपि, बोर्डले आइपीओ जारी गर्न अनुमति दिएन । 
 
 
 

Post Your Comment