Market Closed

१३ प्रतिशतसम्म पुगेपछि ब्याजदरमा लाग्यो ब्रेक, मुद्दति निक्षेपमा बिस्तारै थाल्यो घट्न

28 Jun,2017
  • Interest-Rate_6_28_2017_6_06_39.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : मुद्दति निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदर पुर्याएका वाणिज्य बैंकहरु अब विस्तारै घटाउने रणनीतिमा लागेका छन् । यसअघि तरलता (लगानी योग्य रकम)  अभाव भएको र ऋण दिने पैसा समेत नभएको भन्दै बैंकहरुले धमाधम ब्याजदर बढाएर निक्षेपकर्तालाई लाभ दिए पनि ऋणीको ढाड भने नराम्ररी सेकेका थिए । महिनामै २÷३ पटकसम्म फोन गरेर ऋणीलाई ब्याजदर बढेको बताउने तिनै बैंकहरु अहिले ब्याजदर घटाउने प्रतिस्पर्धामा देखिएका छन् ।  निक्षेपको ब्याजदर बढ्दा स्वतः ऋणको समेत बढ्छ भने निक्षेपको ब्याजदर घट्दा ऋणीले पनि राहत पाउँछन् । पछिल्लो समय ब्याजदर घटाउनेको सूचीमा सिभिल बैंक पनि परेको छ । सिभिलले मुद्दति निक्षेपमा १२.७५ प्रतिशतसम्म ब्याज दिएकोमा बुधबारदेखि लागू हुने गरी घटाएर ११ प्रतिशतमा झारेको छ ।  यता, मेगा बैंकले पनि बचत निक्षेपमा बिहीबारदेखि कार्यान्वयनमा आउने गरी ६.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।  
 
यस्तै, एनएमबि बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरेको जनाएको छ । यसअघि मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज जनता बैंकले दिएको थियो । १३% ब्याज दिएको जनताले अहिले ११ प्रतिशतमा झारिसकेको छ । मेगा बैंक, हिमालयन बैंक, प्राइम कमर्सियललगायत बैंकले मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरिसकेका छन् । यता, राष्ट्र बैंकले पनि पछिल्ला केही दिनयता तरलता सहज हुँदै गएको भनेको छ । अन्य बैंकहरुले पनि धमाधम ब्याजदर घटाउन थालेका छन् । तर निक्षेपमा ब्याजदर कम भए पनि बैंकहरुले कर्जामा भने अहिले पनि उच्च ब्याजदर लिइरहेका छन् । कर्जा लिनेले अहिलेसम्म राहत पाउन सकेका छैनन् । 
 
 

Post Your Comment