Market Closed

म्युचुअल फन्डहरु कसको नाफा कति, के छ न्याभको अवस्था ?

03 Oct,2021
  • mutualfund_10_3_2021_7_53_06.jpg
नेपाली पैसा
 
काठमाडौं : धितोपत्र बजारमा सक्रिय २८ म्युचुअल फन्डहरुले भदौ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । पछिल्लो समय सेयर बजार घटेसँगै फन्डहरुमा पनि असर देखिएको छ । म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् । त्यसैले सेयर बजार घट्दा र बढ्दाको प्रत्यक्ष असर तथा प्रभाव फन्डहरुमा देखिन्छ ।
 
न्याभका आधारमा ग्लोबल आइएमई समुन्नत योजना–१ अगाडि
 
भदौ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ ग्लोबल आइएमई समुन्नत योजना–१ को रहेको छ । तथापि, यसको न्याभ ३ रुपैयाँ ११ पैसाले घटेर २२ रुपैयाँ ९ पैसामा आएको छ । अघिल्लो महिना यसको न्याभ २६ रुपैयाँ १ पैसा थियो । एक महिनाको अवधिमा सबै फन्डको न्याभ घटेको छ । मेगा म्युचुअल फन्ड १ यसै महिनादेखि संचालनमा आएकाले अघिल्लो महिनाको न्याभ वित्तीय विवरणमा समावेश छैन । 



ग्लोबल आइएमई समुन्नत योजना–१ को सेयर बजारमा सबैभन्दा धेरै लगानी
 
भदौ महिनासम्म आइपुग्दा सबैभन्दा धेरै सेयरमा लगानी ग्लोबल आइएमई समुन्नत योजना–१ को रहेको छ । यसअवधिमा यसले २ अर्ब ७ करोड १७ लाख ४९ हजार १५२ रुपैयाँ लगानी गरेको छ । तथापि, यसको सूचीकृत सेयरमा लगानी साउन महिनाको तुलनामा ११.३४% ले घटेको छ । यसअवधिमा २८ मध्ये ६ वटा फान्डको मात्रै सूचीकृत कम्पनीको सेयरमा लगानी बढेको छ । 
 
सबैभन्दा धेरै सूचीकृत कम्पनीको सेयरमा लगानी बढाउनेमा सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम रहेको छ । एक महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी २८२.४३% ले बढेर ९५ लाख ३ हजार ३ सय रुपैयाँ पुगेको छ । यसले गत असार महिनामा मात्रै आइपीओ जारी गरेको हो । 



सबैभन्दा धेरै बैंक मौज्दातमा मेगा म्युचुअल फन्ड १ को 
 
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै बैंक मौज्दात मेगा म्युचुअल फन्ड १ को रहेको छ । यसअवधिमा यस फन्डको बैंक मौज्दात १ अर्ब १४ करोड १० लाख ५४ हजार ४५२ रुपैयाँ रहेको छ । यसले भदौ महिनामै आइपीओ जारी गरेको हो ।

यता, एनआइसी एसिया सेलेक्ट ३० को बैंक मौज्दात पनि १ अर्ब माथि रहेको छ । एक महिनाको अवधिमा ९ फन्डको  बैंक मौज्दात बढेको छ भने अरुको घटेको छ । सबैभन्दा धेरै बैंक मौज्दात बढ्नेमा नबिल ब्यालेन्स्ट फन्ड २ रहेको छ । यसको बैंक मौज्दात १०६.२८% ले बढेर ४१ करोड १० लाख ७ हजार रुपैयाँ पुगेको छ । 



 
कुल नाफामा एनआइसी एसिया ग्रोथ फन्ड अगाडि
 
भदौ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै कुल नाफा आर्जन गर्नेमा एनआइसी एसिया ग्रोथ फन्ड अगाडि रहेको छ । यसअवधिमा यसले ४५ करोड ८३ लाख ७७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । तथापि, एक महिनाको अवधिमा यसको कुल नाफा २०.१८% ले घटेको छ ।

यसअवधिमा एनआइसी एसिया डाइनामिक डेबिट फन्ड बाहेक सबैको कुल नाफा घटेको छ । यसको कुल नाफा भने ४३.९३% ले बढेर २ करोड ९६ लाख ३५ हजार ५९३ रुपैयाँ पुगेको छ । १० फन्डको कुल नाफा भने ऋणात्मक छ । 

 
 
 
 
 
 
 

Post Your Comment