Market Closed

मर्जरपछि पुँजी र रिजर्भ कोष आकर्षक बन्दै, हेरौं अब कसको कति हुनेछ ?

28 Sep,2022
  • reserve_img_9_28_2022_9_03_35.jpeg
निराजन सापकोटा 
 
काठमाडौ : नेप्सेमा सूचीकृत २ दर्जनभन्दा बढी कम्पनीहरु यतिबेला मर्जर प्रकृयामा रहेका छन् । तीमध्ये १० वाणिज्य बैंक, ८ निर्जीवन बिमा, ९ वटा जीवन बिमा र ४ लघुवित्त कम्पनीहरु रहेका छन् । पछिल्लो पटक कुमारी बैंक र एनसीसी बैंकबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ । यी दुई बैंक पनि एक आपसमा गाभिने भएसँगै मर्जर प्रकृयामा रहेका वाणिज्य बैंकहरुको संख्या १० पुगेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने बैंकहरुलाई सहुलियत दिने घोषणा गरेको थियो । 

योसँगै चालु आर्थिक वर्षको करिब ३ महिनायता मात्र ४ वाणिज्य बैंकले एक आपसमा गाभ्ने तथा गाभिने सम्झौता गरिसकेका छन् । यता, बिमा समितिले पनि गत चैतमै बिमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । समितिको सो निर्देशनपश्चात बिमा कम्पनीहरुले पनि धमाधम मर्जर सम्झौता गरेका छन् । सरकारले आर्थिक वर्ष २०७८–७९ भित्र गाभ्ने, गाभिने सम्झौत गर्नेलाई मात्र कर छुटदेखि विभिन्न सहुलियत दिने घोषणा गरेको थियो ।

सोसँगै ६ वटा बैंकले अन्तिम ३ महिनामा मर्जर सम्झौता गरेका थिए । त्यस्तै, बिमा कम्पनीहरुले पनि नियामकको निर्देशनलाई पालना गर्दै मर्जरमा जाने सम्झौता गरेका हुन् । नियामकले पुँजी वृद्धि गर्दा कम्पनीहरु सबल र बलियो बन्ने निष्कर्ष निकालेको छ । यता, मर्जरपछि बन्ने बैंकहरु सबैको पुँजी २० अर्ब भन्दा माथि नै रहने छ । 
 
१० वाणिज्य बैंक मर्जर प्रकृयामा, ग्लोबल आइएमई बैंकको पुँजी ३४ अर्ब पुग्ने


 
मर्जरपश्चात ग्लोबल आइएमई बैंकको पुँजी सबैभन्दा धेरै ३४ अर्ब ४१ करोड रुपैयाँ कायम हुनेछ । यसले बैंक अफ काठ्मान्डूसँग १ः१ स्वाप रेसियोमा मर्ज हुने सम्झौता गरेको छ । दुवै बैंकले एकीकृत कारोबार थालेपछि जगेडा कोषमा १६ अर्ब ५ करोड जम्मा हुनेछ । १ः१ अनुपातमा एक आपसमा गाभिने सम्झौता गरेका कुमारी र एनसीसी बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि बन्ने बैंकको जगेडामा कोषमा ८ अर्ब ४६ करोड रुपैयाँ जम्मा हुनेछ । 
 
त्यस्तै, गत जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १ः०.९० अनुपातमा मर्जरमा जाने सम्झौता गरेका थिए । मर्जरपश्चात यिनीहरुको पुँजी ३२ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ पुग्नेछ । यस्तै, जगेडा कोषमा १९ अर्ब ६८ करोड रुपैयाँ जम्मा हुनेछ । यता, हिमालयन बैंकले सिभिललाई १०० बराबर ८१ को स्वाप रेसियोमा गाभ्ने सम्झौता गरेको छ । हिमालयनले सिभिललाई प्राप्ति गरेपछि बन्ने बैंकको पुँजी २० अर्ब ३२ करोड रुपैयाँ बराबर पुग्नेछ । त्यस्तै, सेन्चुरी बैंकलाई प्रभुले १ः१ अनुपातमा प्राप्ति गर्न लागेको छ । प्राप्तिपश्चात बन्ने बैंकको पुँजी २२ अर्ब २६ करोड रुपैयाँ हुनेछ ।  
 
८ निर्जीवन बिमा कम्पनी मर्जर प्रकृयामा


 
यस अवधिसम्म ८ निर्जीवन बिमा कम्पनीहरु मर्जर प्रकृयामा रहेका छन् । बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी न्यूनतम पनि साढे २ अर्ब कायम गर्न निर्देशन दिएसँगै यी कम्पनीहरुले मर्जर प्रकृया अघि बढाएका हुन । एभरेष्ट र हिमालयन इन्सुरेन्सले भने एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन । सानिमा जनरल र जनरल इन्सुरेन्सले विशेष साधारण सभा सम्पन्न गरेर मर्जर प्रस्ताव पारित गरेसँगै यी कम्पनीहरु अब पनि १ बराबर १ को अनुपातमा मर्ज हुने पक्का भएको छ । मर्जरपछि बन्ने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ कायम रहनेछ भने रिजर्भमा ३६ करोड ९३ लाख रुपैयाँ जम्मा हुनेछ ।  
 
यता, प्रभु इन्सुरेन्सले १ः०.७० स्वाप रेसियोमा अजोडसँग सम्झौता गरेको छ । मर्जर पछि बन्ने कम्पनीको पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ भने जगेडा कोषमा ३८ करोड रुपैयाँ जम्मा हुनेछ । त्यस्तै, सगरमाथा र लुम्बिनी जनरल इन्सुरेन्सले पनि एक आपसमा मर्जर सम्झौता गरेका छन् । दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सकिएपछि स्वाप रेसियो तय हुनेछ । दुवै कम्पनीको जगेडा कोष जोडेर ६२ करोड २५ लाख रुपैयाँ जम्मा हुने देखिन्छ । त्यस्तै, प्रिमियर र सिद्धार्थ इन्सुरेन्सले पनि डीडीए सम्पन्न गरेपछि स्वाप रेसियो तय हुने जानकारी दिएका छन् ।
 
जीवन बिमाका ९ कम्पनीहरु पनि मर्जर प्रकृयामा सामेल


 
यस अवधिसम्म ९ जीवन बिमा कम्पनीहरु पनि मर्जर प्रकृयामा रहेका छन् । सबैभन्दा पहिला युनियन, गुँरास र प्राइम लाइफ इन्सुरेन्सले एक आपसमा मर्ज हुने सम्झौता गरेका थिए । मर्जरपछि बन्ने कम्पनीको पुँजी ७ अर्ब रुपैयाँ पुग्नेछ भने जगेडा कोषमा २ अर्ब २० करोड रुपैयाँ जम्मा हुनेछ । ३ कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् । त्यस्तै, सूर्या र ज्योति लाइफ पनि १ बराबर १ अनुपातमा मर्ज हुने लागेका छन् । 
 
मर्ज भएपछि बन्ने कम्पनीको पुँजी ४ अर्ब ९७ करोड पुग्नेछ भने जगेडामा १ अर्ब ४४ करोड रुपैयाँ जम्मा हुनेछ । सानिमा र रिलायन्स लाइफले भने डीडीए सकिएपछि स्वाप रेसियो तय गर्ने गरी मर्जर सम्झौता गरेका छन् । प्रभु लाइफले भने आइपीओ जारी गर्न बाँकी महालक्ष्मी लाइफसँग मर्जरमा जाने निर्णय गरेको छ । यी दुई कम्पनी पनि १ बराबर १ अनुपातमा मर्ज हुन लागेका हुन् ।   
 
यता, सूचीकृत कम्पनी मर्जरमा जाँदा वा गाभिने सम्झौता गर्दा सेयर कारोबार रोक्का राख्ने व्यवस्था रहेको छ । हाल यिनीहरुको सेयर कारोबार पनि रोक्का रहेको छ । यता धितोपत्र बोर्डले केही साताभित्र मर्जरमा सामेल भएका कम्पनीहरुको सेयर कारोबार लामो समयसम्म रोक्का नराख्ने गरी तयारी थालेको बताएको छ ।
 
 सरोकारवाला निकायले दिएको राय सुझावका आधारमा निर्देशिका तयार भइसकेको र बोर्ड सञ्चालक समितिले पारित गरेपछि यो निर्देशिका कार्यान्वयनमा आउने धितोपत्र बोर्डका अध्यक्षले बताएका छन् । अहिले नेप्सेमा सूचीकृत करिव २ दर्जन कम्पनीको सेयर कारोबार रोक्का रहेको अवस्था छ ।
 
निचोडमा
 
विगतमा बैंक तथा बिमा कम्पनीहरुमा अन्धाधुन्ध लाइसेन्स वितरण गरिएको थियो । त्यसरी लाइसेन्स बाँडेर संख्या वृद्धि गर्दा वित्तीय क्षेत्रमा खासै सुधार आउन सकेन । संख्यामात्र वृद्धि हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो । वित्तीय अराजकता देखियो ।  नियामक निकायले प्रभावकारी नियमन गर्न पनि सकेन । बजार सानो र वित्तीय संस्थाको संख्या धेरै भएपछि नियामक निकायहरु अहिले फेरि संख्या घटाउने अभियानमा लगोका हुन् ।

यसबाट लाइसेन्स राजको अवस्था केही समयका लागि अन्त्य भएको देखिन्छ । कम्पनीहरुको संंख्या घटेपछि पुँजी आधार बलियो हुने, नियमन गर्न सजिलो हुने तथा कम्पनीहरुले पुँजी, प्रविधि र इन्नोभेसनमा काम गर्न सक्ने अपेक्षा गरिएको छ । सेयरधनीलाई पनि राम्रो प्रतिफल दिन कम्पनीहरु सफल हुने अनुमान छ । 
 

Post Your Comment