Market Closed

मध्य भोटेकोशीको २७ लाख कित्ता आइपीओ खुला, यी ७ संस्थाका कर्मचारीले पाउँछन् भर्न

05 Dec,2018
  • ipo_10_24_2018_11_11_39.jpg
नेपाली पैसा
 
काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबार (मंसिर १९ गते) देखि फेरि २१ लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई २१ लाख र सञ्चय कोषका कर्मचारीलाई ६ लाख कित्ता गरी कुल २७ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । 
 
संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र भर्न पाउने गरी आइपीओ बिक्री खुला गरिएको हो । चिलिमे हाइड्रोपावर, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर र सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी यसका संस्थापक सेयरधनी संस्थाहरु हुन् ।
 
 यो आइपीओमा २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
 
सेयर भर्न सी–आस्वा अनिवार्य गरिएको छ । सी–आस्वा सेवा दिने सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ । सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ ।
 
यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक तथा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटलले सह–बिक्री प्रबन्धकको रुपमा काम गर्नेछन् । 
 
यसअघि मध्य भोटेकोशीले कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा ३ करोड ६३ लाख ९५ हजार ३९० कित्ताका लागि आवेदन परेको छ । 
 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार यसमा ३ करोड ६३ लाख ९५ हजार ३९० कित्ताका लागि ३ अर्ब ६३ करोड ९५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमा १ लाख ३५ हजार ९८६ जना सञ्चयकर्ताले सेयर भरेका थिए ।
 
यो आवेदक संख्या र रकम अझै बढ्ने बिक्री प्रबन्धकले जनाएको छ । कर्मचारीले भरेपछि फेरि सिन्धुपाल्चोकका स्थानीय बासिन्दाका लागि आइपीओ खुला हुनेछ । स्थानीयको सकिएपछि तेस्रो चरणमा सर्वसाधारण तथा मध्य भोटेकोशीकै कर्मचारीका लागि आइपीओ खुला गरिनेछ । 

Post Your Comment