Market Closed

कोरोना रोकथामका लागि नबिल बैंकको ८ करोड सहयोग

19 May,2021
  • _MG_5626_5_19_2021_5_10_15.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । प्लान्ट स्थापनाका सम्बन्धमा मंगलबार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ । अक्सिजन प्लान्टसँगै केही अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई थप प्रकिया अगाडि बढाइएको पनि बैंकले जानकारी गराएको छ । 
 
कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको सुरुवाती समयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको नबिल बैंकले जानकारी गराएको छ । चालु आर्थिक वर्षमा कोभिड १९ को प्रकोप रोकथामका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड रुपैयाँ नगद सहयोग गरेको छ । 
 
अक्सिजन प्लान्टसहित गरेर कोरोना रोकथाम र नियन्त्रणका लागि सहयोग रकम झण्डै ८ करोड रुपैयाँ पुग्ने बैंकको भनाई छ । यसैगरी, सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासँग समेत साझेदारी सुरु गरेको नबिलले जनाएको छ । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालीन पूर्वतयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको बैंकले जानकारी गराएको छ । बैंकका अनुसार चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण दिइएको छ । 

Post Your Comment